Friday, May 8, 2026
Homeसामाचार११ हजारभन्दा बढी सहकारी नियमन प्राधिकरणको दायरामा, तीन हजारले पाए इजाजत

११ हजारभन्दा बढी सहकारी नियमन प्राधिकरणको दायरामा, तीन हजारले पाए इजाजत

काठमाडौं । देशभर बचत तथा ऋणको कारोबार गर्ने ११ हजार ६ सयभन्दा बढी सहकारी संस्था राष्ट्रिय सहकारी नियमन प्राधिकरण मा दर्ता हुने प्रक्रियामा रहेका छन्।

सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र सर्वसाधारणका लागि थप विश्वसनीय बनाउने उद्देश्यसहित प्राधिकरणले ती संस्थाहरूलाई कानुनी तथा नियामकीय दायरामा ल्याउने काम अघि बढाएको हो।

प्राधिकरणका अनुसार अनलाइनमार्फत आवेदन दिएका सहकारीमध्ये हालसम्म करिब तीन हजार संस्थाले सञ्चालन इजाजतपत्र प्राप्त गरिसकेका छन्। बाँकी करिब आठ हजार संस्थाको विवरण रुजु गर्ने तथा आवश्यक कागजात अध्ययन गर्ने काम जारी रहेको जनाएको छ।

सहकारी क्षेत्रमा प्रभावकारी नियमन र सुपरीवेक्षणको अभाव देखिएपछि निक्षेपकर्ताको बचत सुरक्षालाई प्राथमिकतामा राख्दै सरकारले एक वर्षअघि प्राधिकरण गठन गरेको थियो।

प्राधिकरणका अध्यक्ष डा. खगराज शर्मा ले संघ, प्रदेश र स्थानीय तहअन्तर्गत रहेका सबै सहकारी संस्थाको अभिलेखीकरण कार्यलाई तीव्र बनाइएको जानकारी दिए। उनका अनुसार अब बचत तथा ऋणको कारोबार गर्ने कुनै पनि सहकारीले प्राधिकरणबाट अनिवार्य इजाजत लिएपछि मात्र कारोबार सञ्चालन गर्न पाउने व्यवस्था लागू गरिएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक केशवराज भट्टराई का अनुसार इजाजतका लागि आवेदन दिएका ३ हजार ६ सय ४६ सहकारी संस्थाका कागजात अझै अपुग रहेकाले ती संस्थाहरू प्रक्रियामै रहेका छन्।

सहकारी संस्थाको वित्तीय अवस्था र कारोबारको सूक्ष्म परीक्षणलाई प्रभावकारी बनाउन प्राधिकरणले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था सँग रणनीतिक सहकार्य पनि सुरु गरेको छ। यस सहकार्यले सहकारी क्षेत्रमा देखिएका वित्तीय जोखिम न्यूनीकरण गरी समग्र सहकारी अभियानलाई थप व्यवस्थित र मर्यादित बनाउने विश्वास गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका