सिरहा, ४ असार: धनगढीमाई नगरपालिका–१३ अन्तर्गत डावर र नैनपुरटोलमा निर्माण गरिएको खानेपानी आयोजना सम्पन्न भएको छ। सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरमार्फत रु १० करोड ९४ लाखको लागतमा पाँच वर्षमा सम्पन्न उक्त आयोजनाबाट वडा नं ११, १२ र १३ का एक हजारभन्दा बढी परिवार लाभान्वित भएका छन्।
हाल परीक्षणका रूपमा उपभोक्तालाई पानी वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष सर्वण ठकुरीले जानकारी दिनुभयो। खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले यही असार ५ गते आयोजना औपचारिक रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको र सोही तयारीमा आफूहरू जुटिरहेको उहाँले बताउनुभयो।


