तेहरान । होर्मुज जलमार्ग क्षेत्रमा समुद्री आवागमन नियन्त्रण गर्न इरान ले नयाँ नियम लागू गरेको छ। अब उक्त जलमार्ग हुँदै आवतजावत गर्ने सबै जहाजहरूले पूर्वस्वीकृति (ट्रान्जिट परमिट) लिन अनिवार्य गरिएको छ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार पर्शियन गल्फ एन्ड स्ट्रेट्स अथोरिटी मार्फत जहाज सञ्चालक कम्पनीहरूलाई नयाँ नियम र मार्गदर्शनसहितको विद्युतीय सूचना पठाइनेछ। नियम पालना नगरी जलमार्ग प्रवेश गर्न नपाइने स्पष्ट गरिएको छ।
इरानले यस निर्णयलाई आफ्नो सार्वभौम अधिकारअन्तर्गतको कदम भएको जनाएको छ। संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफ ले जलमार्ग सुरक्षामा संयुक्त राज्य अमेरिका सहित उसका सहयोगी राष्ट्रहरूको गतिविधिले असर पारेको आरोप लगाउँदै नयाँ नीति आवश्यक भएको बताएका छन्।
यसैबीच इस्लामिक रिभोलुसनरी गार्ड कोर को नौसैनिक शाखाले जलमार्ग क्षेत्रमा निगरानी थप कडा बनाएको छ। उसले तोकिएको समुद्री मार्ग मात्र प्रयोग गर्न जहाजहरूलाई चेतावनी दिँदै नियम उल्लंघन गरे सैन्य कारबाही हुन सक्ने जनाएको छ।
अमेरिकी रक्षा मन्त्रालयले भने व्यापारिक जहाजहरूको सुरक्षाका लागि आफ्ना गतिविधि निरन्तर रहने जनाएको छ। पछिल्ला महिनाहरूमा बढ्दो तनावबीच गरिएको यस्तो कडाइले विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारमा थप अनिश्चितता सिर्जना गरेको विश्लेषण गरिएको छ।


