Friday, May 8, 2026
Home Blog Page 70

समानुपातिक मतगणना अन्तिम चरणमा, रास्वपा ५१ लाखभन्दा बढी मतसहित अग्रस्थानमा

0

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। हालसम्मको नतिजाअनुसार प्रत्यक्षतर्फ १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फ पनि स्पष्ट अग्रस्थानमा देखिएको छ।

पछिल्लो मतपरिणामअनुसार रास्वपाले ५१ लाख ३५ हजार ६२१ मत प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ४७ हजार ७३७ मत पाएको छ भने तेस्रो स्थानमा रहेको नेकपा (एमाले) ले १४ लाख ४ हजार ३१ मत प्राप्त गरेको छ।

चौथो स्थानमा रहेको नेकपाले १० लाख ३ हजार ६२७ मत प्राप्त गरेको छ। पाँचौं स्थानमा रहेको संस्कृति पार्टीले ३ लाख ७ हजार ५७ मत पाएको छ भने छैटौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २९ हजार ४५७ मत ल्याउँदै थ्रेसहोल्ड कटाएको छ।

समानुपातिकतर्फ हालसम्म कुल १ करोड ७ लाख ३० हजार ५५१ मत गणना भइसकेको छ। प्रत्यक्षतर्फको नतिजा भने सोमबार नै सार्वजनिक भइसकेको थियो।

यसअघि राष्ट्रिय दलको मान्यता पाएका मधेशवादी दलहरू भने यसपटक निकै पछि परेका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपालले १ लाख ७४ हजार ३०६ मत प्राप्त गर्दा जनमत पार्टीले ७ हजार ९४९ मत मात्रै पाएको छ। जनमत पार्टीभन्दा अघि रहेको राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ७१ हजार ४९७ मत प्राप्त गरेको छ।

कांग्रेसमा एकता र रूपान्तरण आवश्यक : गगन थापालाई गोपालमान श्रेष्ठको समर्थन

0

काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले गगन थापालाई सम्बोधन गर्दै पार्टीभित्र एकता र रूपान्तरणको आवश्यकता रहेको बताएका छन्।

हालै सम्पन्न संघीय संसदको निर्वाचन परिणाम अपेक्षाअनुसार नआए पनि लोकतन्त्रको रक्षा, विधिको शासन सुदृढीकरण र राजनीतिक स्थायित्वलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने उनले बताए।

श्रेष्ठका अनुसार देश अहिले पुनः लयमा फर्कने प्रक्रियामा रहेको छ र गगन थापाको नेतृत्वले पार्टीभित्र आशा र स्पष्ट दिशानिर्देश दिएको छ। उनले निर्वाचन परिणामले कांग्रेसलाई समयसापेक्ष बन्न, युवाहरूको आकांक्षा आत्मसात गर्न र संगठनात्मक रूपान्तरण गर्नुपर्ने स्पष्ट सन्देश दिएको उल्लेख गरे।

उनले यस परिणामलाई केवल नेतृत्वको असफलताका रूपमा मात्र नलिई जनताको परिवर्तनको चाहनाअनुसार पार्टीलाई पूर्ण रूपमा रूपान्तरण गर्न नसकिएको चेतावनीका रूपमा बुझ्नुपर्ने बताए।

श्रेष्ठले अब वडा तहदेखि गाउँ, नगर, क्षेत्र, जिल्ला हुँदै केन्द्रसम्म संगठन सुदृढीकरण गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

गगन थापाले देखाएको साहस, दृष्टि र युवाहरूलाई प्रेरित गर्ने क्षमताले पार्टीका कार्यकर्तालाई अझ दृढ बनाएको उल्लेख गर्दै श्रेष्ठले यस्तो कठिन अवस्थामा पार्टीभित्र निराशा वा विचलन ल्याउनु देश र पार्टी दुवैका लागि हितकर नहुने बताए। उनले सबै कांग्रेसीजन एकढिक्का भएर पार्टीलाई सुदृढ बनाउन लाग्नुपर्ने धारणा व्यक्त गरेका छन्।

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ खुला, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता

0

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ।

कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत बराबरको ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ मूल्य बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको हो।

उक्त शेयरमध्ये १२ लाख कित्ता साधारण शेयर भोजपुर जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। यस्तै सर्वसाधारणतर्फ छुट्याइएको शेयरमध्ये ३ लाख ३ हजार ६७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, १ लाख ५१ हजार ५३३ कित्ता सामूहिक लगानी कोषका लागि र ६० हजार ६१३ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको कम्पनीले जनाएको छ।

यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित स्थानीयका लागि आवेदन छिटोमा चैत ११ गतेदेखि र ढिलोमा चैत २६ गतेसम्म दिन सकिनेछ। त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन छिटोमा चैत १ गतेदेखि र ढिलोमा चैत ११ गतेसम्म खुला रहनेछ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

कर्णालीमा १३८ उम्मेदवारमध्ये ९० जनाको धरौटी जफत, ४८ जनाले मात्र जोगाए

0

सुर्खेत । प्रतिनिधिसभा निर्वाचनमा कर्णाली प्रदेशका अधिकांश उम्मेदवारले धरौटी जोगाउन सकेनन्। कर्णालीका १२ वटा निर्वाचन क्षेत्रमा विभिन्न दल तथा स्वतन्त्र गरी कुल १३८ जना उम्मेदवार चुनावी मैदानमा रहेकामा ४८ जनाले मात्र धरौटी फिर्ता गर्न सफल भएका छन् भने ९० जनाको धरौटी जफत भएको छ।

सबैभन्दा धेरै मतदाता रहेको सुर्खेतका दुई निर्वाचन क्षेत्रमा ३० जना उम्मेदवार प्रतिस्पर्धामा थिए। तीमध्ये २४ जनाको धरौटी जफत भएको र ६ जनाले मात्र धरौटी जोगाएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रमुख लालबहादुर गुरुङले जानकारी दिए।

दैलेखका दुई निर्वाचन क्षेत्रमा कुल २१ जना उम्मेदवार रहेका थिए। दैलेख क्षेत्र नम्बर १ मा एक स्वतन्त्रसहित १० जना र क्षेत्र नम्बर २ मा दुई स्वतन्त्रसहित ११ जना उम्मेदवार थिए। दुवै क्षेत्रमा ४–४ जनाले मात्र धरौटी जोगाएका छन्।

जुम्लामा एक स्वतन्त्रसहित १० जना उम्मेदवारमध्ये ४ जनाले धरौटी जोगाएका छन् भने ११ जना उम्मेदवार रहेको जाजरकोटमा ३ जना मात्रै सफल भएका छन्।

त्यस्तै १६ जना उम्मेदवार रहेको सल्यानमा ६ जना, १२ जना उम्मेदवार रहेको रुकुम पश्चिममा ३ जना र ८ जना उम्मेदवार रहेको हुम्लामा ४ जनाले मात्र धरौटी जोगाएका छन्।

यसैगरी कालिकोटमा ४ जना र डोल्पामा ३ जनाले धरौटी जोगाएको निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचन कार्यालयका अनुसार कर्णाली प्रदेशका ३६ जना उम्मेदवारले १०० मतसमेत कटाउन नसकेको तथ्य पनि सार्वजनिक भएको छ।

आज देशका विभिन्न स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना

0

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बादल लागेको छ भने तराई र उपत्यकाका केही स्थानमा तुवाँलो लागेको अवस्था छ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै अन्य पहाडी भूभागमा सामान्यतया बादल लाग्नेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। तराई तथा उपत्यकाका केही स्थानमा तुवाँलो पनि रहनेछ।

कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ। त्यस्तै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

आज राति भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामान्यतया बादल लाग्नेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहनेछ।

मौसमविद्का अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।

लेबनान द्वन्द्वको मार: एक सातामै ८३ बालबालिकाको मृत्यु

0

काठमाडौं । लेबनानमा बढ्दो सैन्य गतिविधि र हिंसात्मक घटनाका कारण पछिल्लो एक सातामै कम्तीमा ८३ बालबालिकाको ज्यान गएको छ। बालबालिकाको मृत्यु र घाइते हुने घटना तीव्र रूपमा बढेको भन्दै संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ)ले गम्भीर चिन्ता व्यक्त गरेको छ।

युनिसेफका मध्यपूर्व तथा उत्तर अफ्रिका क्षेत्रीय निर्देशक एडुआर्ड बेइगबेन्डरले सोमबार जारी गरेको वक्तव्यमा लेबनानमा बढ्दो द्वन्द्वका कारण बालबालिकामाथि परेको प्रभाव अत्यन्तै चिन्ताजनक भएको बताएका छन्।

उनका अनुसार मार्च २ यता लेबनानमा कम्तीमा ८३ जना बालबालिकाको मृत्यु भएको छ भने २५४ जना घाइते भएका छन्। पछिल्लो एक सातामा दैनिक औसतमा १० भन्दा बढी बालबालिकाको ज्यान गएको र करिब ३६ जना घाइते भएको तथ्यांकले देखाएको छ।

युनिसेफका अनुसार पछिल्ला २८ महिनामा लेबनानमा द्वन्द्वका कारण ३२९ बालबालिकाको मृत्यु भइसकेको छ भने १ हजार ६३२ जना घाइते भएका छन्। पछिल्ला ६ दिनमै बालबालिकाको मृत्यु संख्या २५ प्रतिशतले बढेको भन्दै संस्थाले अवस्थालाई अत्यन्तै भयावह बताएको छ।

“देशभर भइरहेका सैन्य आक्रमणका कारण बालबालिका उच्च दरमा मारिने र घाइते हुने क्रम जारी छ,” बेइगबेन्डरले भने, “परिवारहरू डरका कारण घर छोडेर भाग्न बाध्य भएका छन् र हजारौं बालबालिका चिसो तथा भीडभाडयुक्त आश्रयस्थलमा बस्न बाध्य भएका छन्।”

द्वन्द्वका कारण लेबनानमा करिब ७ लाख मानिस विस्थापित भएका छन्, जसमा करिब २ लाख बालबालिका रहेका छन्। युनिसेफले सबै पक्षलाई नागरिक तथा नागरिक संरचनाको सुरक्षा गर्न आग्रह गर्दै विद्यालय, आश्रयस्थल तथा अन्य नागरिक संरचनालाई सुरक्षित राख्न अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्न आह्वान गरेको छ।

पश्चिम एशियामा इरान, अमेरिका र इजरायलबीच बढ्दो सैन्य तनावका कारण क्षेत्रीय द्वन्द्व चर्किँदै गएको छ। गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले संयुक्त रूपमा गरेको सैन्य आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएपछि स्थिति थप तनावपूर्ण बनेको बताइएको छ।

त्यसपछि इरानले प्रतिउत्तरस्वरूप विभिन्न अरब देशमा रहेका अमेरिकी सैन्य अड्डा र इजरायली लक्ष्यमा आक्रमण गरेको थियो। इजरायलले पनि इरानमाथि आक्रमण जारी राख्दै द्वन्द्वलाई लेबनानसम्म विस्तार गरेको र हिज्बुल्लाह तथा इरान समर्थित समूहलाई लक्षित गरी सैन्य कारबाही गरिरहेको बताइएको छ।

मध्यपूर्व द्वन्द्वको असर: भारतमा होटल–रेस्टुरेन्ट क्षेत्रमा ग्यास अभाव

0

काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्वव्यापी प्राकृतिक ग्यास आपूर्ति शृंखलामा अवरोध आएपछि भारतका होटल तथा रेस्टुरेन्ट व्यवसाय प्रभावित हुन थालेका छन्। आपूर्ति घटेपछि होटल तथा रेस्टुरेन्ट व्यवसायीहरूले उद्योगका लागि निरन्तर ग्यास आपूर्ति सुनिश्चित गर्न केन्द्र सरकारसँग माग गरेका छन्।

कर्नाटकका होटल व्यवसायीहरूले ग्यास अभावका कारण दैनिक सञ्चालनमै समस्या भइरहेको बताएका छन्। होटल ओनर्स एसोसिएसनका निर्देशक सन्तोष माल्नाडका अनुसार सरकारले व्यावसायिक ग्यास सिलिन्डरको आपूर्ति सीमित गर्दा होटल उद्योग संकटमा परेको छ।

उनका अनुसार सरकारले स्वास्थ्य, कृषि र शिक्षाजस्ता क्षेत्रलाई प्राथमिकता दिँदै तेल कम्पनीहरूलाई व्यावसायिक सिलिन्डर उपलब्ध गराउन निर्देशन दिएको छ। तर होटल उद्योगका लागि ग्यास सिलिन्डर बिना सञ्चालन सम्भव नहुने भएकाले व्यवसायीहरू समस्यामा परेका छन्।

माल्नाडले होटल उद्योगलाई पनि आवश्यक वस्तु ऐनअन्तर्गत राखेर नियमित रूपमा व्यावसायिक ग्यास सिलिन्डर उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। साथै, यसअघि १९ केजीको व्यावसायिक सिलिन्डरमा दिइँदै आएको १५० रुपैयाँ छुट हटाइएको र थप १४५ रुपैयाँ मूल्य वृद्धि गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्।

उता तमिलनाडु ट्रेडर्स युनियन फेडेरेसनले पनि राज्यभर होटल तथा साना खाद्य व्यवसायमा एलपीजी अभाव देखिएको भन्दै चिन्ता व्यक्त गरेको छ। संघका नेता विक्रमराजा राजाका अनुसार साना व्यापारी र साना होटलहरू यस संकटबाट सबैभन्दा बढी प्रभावित हुनेछन्।

सीमित आपूर्तिका कारण चेन्नईसहित तमिलनाडुका विभिन्न स्थानमा केही होटलहरूले मेनुमा रहेका परिकारहरू घटाउन थालेका छन् र उपलब्ध ग्यासको आधारमा मात्र सेवा सञ्चालन गरिरहेका छन्।

यद्यपि घरेलु उपभोक्ताका लागि एलपीजी सिलिन्डरको आपूर्ति भने प्रभावित नभएको सम्बन्धित निकायले जनाएको छ। एलपीजी एसोसिएसनका राष्ट्रिय उपाध्यक्ष आरके गुप्ताका अनुसार घरेलु ग्यास आपूर्तिमा कुनै कमी छैन। तर व्यावसायिक सिलिन्डरको वितरण भने अस्थायी रूपमा प्रभावित भएको छ, अस्पताल र शैक्षिक संस्थालाई भने प्राथमिकता दिइएको छ।

यसैबीच भारत सरकारले प्राकृतिक ग्यास आपूर्ति व्यवस्थापनका लागि नयाँ नियम घोषणा गरेको छ। पश्चिम एशियामा जारी द्वन्द्वका कारण विश्व आपूर्ति शृंखला प्रभावित भएपछि सरकारले प्राथमिकता क्षेत्रलाई ध्यानमा राख्दै ग्यास वितरण, उपयोग र आपूर्ति व्यवस्थापन गर्ने निर्णय गरेको हो।

सरकारी सूचनाअनुसार मध्यपूर्वको युद्धका कारण हर्मुज जलमार्ग हुँदै हुने तरल प्राकृतिक ग्यास ढुवानी प्रभावित भएको छ। यसका कारण केही आपूर्तिकर्ताले ‘फोर्स मेज्योर’ लागू गर्दै ग्यासलाई प्राथमिकता क्षेत्रतर्फ मोड्न थालेका छन्।

विश्लेषकहरूका अनुसार मध्यपूर्वमा जारी द्वन्द्व लामो समयसम्म जारी रहेमा ऊर्जा आपूर्तिमा थप दबाब पर्न सक्ने र यसको प्रभाव दक्षिण एसियाली अर्थतन्त्रमा समेत देखिन सक्नेछ।

स्पष्ट बहुमत आएपछि बालेनलाई विश्वासको मत लिनु नपर्ने

0

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा स्पष्ट बहुमत प्राप्त गर्ने निश्चित भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री नियुक्त भएपछि विश्वासको मत लिनु नपर्ने भएको छ।

निर्वाचनअघि नै रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै मत मागेकाले पार्टीले उनलाई नै प्रधानमन्त्रीका रूपमा अघि सार्ने विश्वास गरिएको छ।

संविधानको धारा ७६ को उपधारा (१) अनुसार कुनै पनि दलले प्रतिनिधिसभामा स्पष्ट बहुमत प्राप्त गरेमा सो दलको संसदीय दलको नेता प्रधानमन्त्री नियुक्त हुने व्यवस्था छ। यस्तो अवस्थामा प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने प्रावधान छैन।

तर दुई वा दुईभन्दा बढी दलको गठबन्धनबाट सरकार बनेको अवस्थामा वा कुनै दलले एकल बहुमत नल्याई ठूलो दलको हैसियतमा सरकार गठन गरेको अवस्थामा भने प्रधानमन्त्रीले संसदबाट अनिवार्य रूपमा विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ।

मोदीसँगको संवादपछि बालेन: नेपाल–भारत सम्बन्ध अझ सुदृढ हुन्छ

0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आगामी दिनमा नेपाल–भारत सम्बन्ध अझ सुदृढ र परिणाममुखी हुने विश्वास व्यक्त गरेका छन्।

सोमबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बालेन र रास्वपाका सभापति रवि लामिछानेसँग टेलिफोन संवाद गरी निर्वाचन सफलताका लागि बधाई दिएका थिए। मोदीले सामाजिक सञ्जालमार्फत दुवै नेतालाई बधाई दिँदै नयाँ बन्ने सरकारका लागि शुभकामना व्यक्त गरेका थिए। साथै, साझा प्रगति, समृद्धि र जनकल्याणका लागि भारत सरकार सहकार्य गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका थिए।

मोदीको उक्त सन्देशमा प्रतिक्रिया दिँदै बालेनले धन्यवाद व्यक्त गर्दै नेपाल–भारतबीचको ऐतिहासिक, घनिष्ठ र बहुआयामिक सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्।

बालेनले लेखेका छन्, “शुभकामनाका लागि धन्यवाद, सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यू। नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ र परिणाममुखी बनाउन हामी सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु।”

उनले भारतले लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार र भारतीय जनतालाई बधाईसमेत दिएका छन्।

रास्वपाले बालेनलाई नेपालको प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको छ। प्रतिनिधिसभा निर्वाचनमा उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गर्दै झापा–५ बाट विजयी भएका थिए।

कर्णालीमा समानुपातिकतर्फ पनि कांग्रेस पहिलो, ९० उम्मेदवारको जमानत जफत

0

सुर्खेत । प्रत्यक्षतर्फ पाँच सिट जित्दै कर्णाली प्रदेशमा पहिलो बनेको नेपाली कांग्रेसले समानुपातिकतर्फ पनि पहिलो स्थान कायम राखेको छ।

प्रदेश निर्वाचन कार्यालय कर्णालीले सार्वजनिक गरेको समानुपातिकतर्फको अन्तिम परिणामअनुसार नेपाली कांग्रेसले एक लाख ४१ हजार २३३ मत प्राप्त गरेको छ। कर्णालीभर प्रत्यक्षतर्फ एक सिट मात्रै जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ एक लाख ३३ हजार ७४९ मत ल्याउँदै दोस्रो स्थान हासिल गरेको छ।

त्यसैगरी नेकपा (एमाले)ले एक लाख २० हजार ८६३ मत प्राप्त गरेको छ भने नेकपा (माओवादी केन्द्र)ले एक लाख सात हजार १०१ मत ल्याएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले १५ हजार ७५५ मत प्राप्त गर्दा प्रगतिशील लोकतान्त्रिक पार्टीले आठ हजार ५३७ मत ल्याएको छ। नेपाल मजदुर किसान पार्टीले पाँच हजार १३० मत प्राप्त गरेको छ भने श्रम संस्कृति पार्टीले चार हजार ६७५ मत प्राप्त गरेको छ।

प्रदेश निर्वाचन कार्यालय कर्णालीका अनुसार प्रतिनिधिसभा निर्वाचनमा विभिन्न दल र स्वतन्त्रबाट उम्मेदवारी दिएका १३८ जनामध्ये ९० जनाको जमानत जफत भएको छ। कार्यालयका प्रमुख लालबहादुर गुरुङका अनुसार आवश्यक मत प्राप्त गर्न नसक्दा उनीहरूको जमानत जफत भएको हो।

जिल्लागत रूपमा हेर्दा सुर्खेत क्षेत्र नम्बर १ मा १३ उम्मेदवारमध्ये १० जनाको जमानत जफत भएको छ भने क्षेत्र नम्बर २ मा १७ उम्मेदवारमध्ये १४ जनाको जमानत जफत भएको छ। दैलेख क्षेत्र नम्बर १ मा ६ जना र क्षेत्र नम्बर २ मा ७ जनाको जमानत जफत भएको छ।

त्यसैगरी जाजरकोटमा ८, सल्यानमा १०, रुकुम पश्चिममा ९, कालीकोटमा ६, जुम्लामा ६, मुगुमा ४, डोल्पामा ६ र हुम्लामा ४ जना उम्मेदवारको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचनमा ३६ जना उम्मेदवारले १०० मतसमेत प्राप्त गर्न सकेनन्। कर्णाली प्रदेशका १० जिल्लामा प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा गरी बदर मतको संख्या ४३ हजार ५०० पुगेको छ।