Friday, June 19, 2026
Home Blog Page 673

स्वर्ण पदक विजेता टोली प्रधानसेनापतिबाट सुशोभित

0

काठमाडौँ: प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्त अधिराज्य बेलायतमा यस वर्ष सञ्चालन भएको अभ्यास क्याम्ब्रियन गस्तीका स्वर्ण पदक विजेता नेपाली सेनाका टोलीलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गर्नुभएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा  आयोजित समारोहमा एक व्यवस्थापकसहित प्रतियोगितामा सहभागी १० सैनिकलाई प्रशंसा पदकबाट सुशोभित गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

अन्तर्राष्ट्रियस्तरको सैनिक प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याई नेपाल र नेपाली सेनाको छवि एवं गौरव बढाउन पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सेनाले उहाँहरुलाई सम्मान गरेको हो । गत असोज १८ देखि २७ गतेसम्म बेलायतको वेल्स, ब्रेकनमा सञ्चालित अभ्यासमा ३७ राष्ट्रका एक सय २१ टोलीको सहभागिता थियो ।

सन् १९६० देखि वार्षिक रूपमा सञ्चालन हुँदै आएको उक्त प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आएको छ । सेनाले यसअघि सन् २०१७ र सन् २०१९ मा पनि स्वर्ण पदक प्राप्त गरेको थियो ।

बाढीले क्षति पुर्‍याएको खिम्ती–लामोसाँघु प्रसारण लाइन इआरएस टावर प्रयोग गरी सञ्चालनमा ल्याइँदै

0

काठमाडौँ: गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण तामाकोशी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु एक सय ३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुनःस्थापना प्रणाली (इआरएस) टावर प्रयोग गरी लाइन सञ्चालनमा ल्याइने भएको छ ।

बाढीले रामेछापको मन्थली नगरपालिका–१३ देवीटारस्थित प्रसारण लाइनको सात नं टावर बगाएको थियो । टावर बगेपछि चारवटा टावरको तार (कन्डक्टर) मा पनि क्षति पुगेको छ । उक्त लाइनबाट १३ असोजदेखि विद्युत् प्रवाह बन्द छ । यसबाट खिम्तीबाट काठमाडौँ उपत्यकाको प्रसारण लाइन ‘लिङ्क’ टुटेको छ । करिब दुई सय मेगावाट विद्युत् प्रवाह क्षमताको उक्त लाइन काठमाडौँ उपत्यकामा विद्युत् आपूर्तिका लागि महत्वपूर्ण मानिन्छ । सोही लाइनबाट आएको विद्युत्लाई लामोसाँघु–भक्तपुर प्रसारण लाइन हुँदै काठमाडौँ उपत्यकामा आपूर्ति गरिन्छ ।

यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी नदी जलाधार क्षेत्रमा निर्माण भएको जलविद्युत् आयोजनाको विद्युत् लामोसाँघु–खिम्ती–ढल्केबर हुँदै भारततर्फ निर्यात हुँदै आएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो, “खिम्ती–लामोसाँघु प्रसारण लाइन बन्द हुँदा विद्युत् प्रणालीको विश्वसनीयतामा असर परेको छ, भारततर्फको विद्युत् निर्यातसमेत प्रभावित भएको छ, त्यसैले इआरएस संरचनाको प्रयोग गरी लाइनलाई जतिसक्दो छिटो सञ्चालनमा ल्याउन लागिएको हो ।” उहाँले हाल इआरएसमार्फत लाइन चलाएर बाढीले बगाएको टावरको सट्टा अर्को स्थायी टावर निर्माण गरिने उल्लेख गर्नुभयो ।
प्रसारण लाइन सञ्चालनमा ल्याउन इआरएस टावर जडान गरिसकिएको छ । यो टावर राख्न लागेपछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै काममा अवरोध गरेका थिए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, रामेछापका प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थितिमा भएको छलफलमा स्थानीयसँग सहमति जुटेपछि २ कात्तिकदेखि इआरएस टावर राख्न सुरु गरिएको थियो । टावर जडान सकेर तार तान्न सुरु गर्न लाग्दा फेरि दोलखाका स्थानीयले अवरोध गरेका थिए । स्थानीय जनप्रतिनिधिको रोहबरमा आजै सहमति जुटेको हो । प्राधिकरण खिम्ती ग्रिड शाखाका प्रमुख मनोज साहले अब करिब चार दिनमा तार तानेर प्रसारण लाइन सञ्चालनमा ल्याइने जानकारी दिनुभयो ।

३ लाख ५६ हजारसहित जुवा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

0

भक्तपुर: सूर्यबिनायक नगरपालिका-८ स्थित गणेश मन्दिर नजिकै जुवा (प्याचा) खेलिरहेको अवस्थामा मध्यपुरठिमी नगरपालिका-५ बस्ने ४० वर्षीय शिवराम श्रेष्ठ समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ५६ हजार ५ सय रूपैयाँ सहित पक्राउ गरेको
हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पोखरामा प्रदर्शनकारीले निषेधाज्ञा तोड्न खोज्दा तनाव

0

गण्डकी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले निषेधाज्ञा तोडेर विरोध प्रदर्शन गर्न थालेपछि पोखराको सहिदचोकमा तनावको अवस्था सिर्जना भएको छ ।

जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखरा शहिदचोक र ग्रैहापाटन आसपासका क्षेत्रमा आज बिहानदेखि निषेधाज्ञा जारी गरेको थियो । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ पर्नुभएका रास्वपाका सभापति लामिछानेलाई अदालत उपस्थित गराउने क्रममा कार्यकर्ताले निषेधित क्षेत्र तोडेर प्रर्दशन गर्न थालेपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रहार गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले सहिदचोकको पूर्वपट्टि वाईचोक, पश्चिमतर्फ फिस्टेल गेट, उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ मुस्ताङचोकस र ग्रैहापाटनको पालिखेचोकदेखि नविन माध्यमिक विद्यालयसम्मको सडक क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन, सभा आदि विरोधका कार्यक्रम गर्न निषेध गरेको थियो । अर्को आदेश जारी नभएसम्म निषेधज्ञा जारी रहने प्रमुख जिल्ला अधिकारी भरतमणि पौडेलद्वारा जारी आदेशमा उल्लेख छ ।

सहकारीको बचत रकम अपचलनको मुद्दामा पक्राउ पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्ष र विपक्षमा प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा सभापति लामिछानेलाई काठमाडौँबाट पक्राउ गरी शनिबार बिहान पोखरा ल्याइएको थियो । उहाँलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जिवी राई) सँग मिलेर सभापति लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको विषयमा उहाँविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ

0

काठमाडौं: पर्सा, वीरगंज महानगरपालिका-१७ अलौ चेक प्वाईन्टबाट अवैध लागूऔषध गाँजा २ किलो ५ सय ग्राम सहित पर्सागढी नगरपालिका-६ हरपुर बस्ने ३५ वर्षीय वैद्यनाथ प्रसाद यादवलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरीले खजुरियाबाट भारततर्फ साइकलमा जाँदै गरेका उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

बर्दिया, बढैयाताल गाउँपालिका-६ रानीपुरस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय मिलिग्राम सहित बाँसगढी नगरपालिका-६ दमौली बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-२ स्थित बालाराम बाजुरा होटलबाट अवैध लागूऔषध चरेश २२ ग्राम ८ सय ४० मिलिग्राम सहित बैतडी पाटन नगरपालिका-१ बस्ने २५ वर्षीया अस्मिता बोहरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त चरेश सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, भजनी नगरपालिका-१ गोदाम टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय शुसील साउद र २७ वर्षीय बिरेन्द्र बिष्ट रहेका छन् । इलाका प्रहरी कार्यालय सूर्यपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सर्लाही, ब्रहम्पुरी गाउँपालिका-५ सखुअवा बस्ने २१ वर्षीय पंकज साहलाई अवैध लागूऔषध गाँजा १० किलोग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पर्साबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

सुनसरी, गढी गाउँपालिका-३ चक्रघट्टी टोलस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १९ किलोग्राम सहित हाल वतन नखुलेका अखतर अन्सारीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुहवी समेतबाट खटिएको संयुक्त टोलीले को.१४ प ३२५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक अन्सारीलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार मोटरसाइकलमा सवार १ जनाको खोजी गरिरहेको छ ।

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१७ शान्ति टोल बस्ने २९ वर्षीया सोफिया तामाङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी रेल्वबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ धरान उपमहानगरपालिका-१४ बस्ने ४२ वर्षीय कमल कार्कीको रहेको खुल्न आएपछि उनलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सुनसरी, इनरूवा नगरपालिका-६ हलेशी चोकस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १२ हजार २ सय ट्याब्लेट सहित हरिनगरा गाउँपालिका-२ बस्ने २३ वर्षीय दिनेश रामलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा को.१ च ५३८३ नम्बरको भ्यानलाई हाल नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकलमा सवार रामले बोकेको झोला भूइमा झरेको र मोटरसाइकल चालक फरार भएपश्चात प्रहरीले झोला तलासी गर्दा उक्त लागूऔषध फेला पारी रामलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गरिरहेको छ ।

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-८ भोटेपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय विनोद राई, ५६ वर्षीय राजेश क्षेत्री र २६ वर्षीय रोहित विश्वकर्मा रहेका छन् । विनोदको घरमा लागूऔषध बिक्री वितरण तथा सेवन भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले विनोदको घर तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।

बाँके, कोहलपुर नगरपालिका-८ सिक्टा नहरस्थित पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित सोही नगरपालिका-८ पिपिरी बस्ने २४ वर्षीय शंखर यादवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण व्यूरो शाखा नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सप्तरी, सप्तकोशी नगरपालिका-१० गंगाजली पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६२ मिलिग्राम सहित कन्चनरूप नगरपालिका-५ धरमपुर बस्ने २२ बर्षीय प्रदिप यादवलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम सहित काभ्रेपलान्चोक साबिक भिमखोरी गाविस-८ बस्ने २६ वर्षीय होम कुमार मैनालीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आजको मौसम :देशका अधिकांश भागमा मौसम सफा रहने

0

काठमाडौँ: हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जनाएको छ ।

कोशी, मधेश, बागमती र कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने छ । कोशी, मधेश, बागमती प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागका अनुसार आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीलगायत बाँकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

सिँचाइमन्त्री खड्काबाट बाढीबाट क्षतिग्रस्त माथिल्लो तामाकोशी आयोजनाको अनुगमन

0

दोलखा : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीबाट क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको स्थलगत अनुगमन गर्नुभएको छ ।

अनुगमन गर्दै मन्त्री खड्काले बाढीबाट क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मर्मतसम्भार यथाशीघ्र थालेर बिजुली उत्पादन गरिने बताउनुभयो । हेलिकप्टरबाट आयोजनास्थल पुग्नुभएका जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित आयोजनाको क्षतिग्रस्त संरचनाको निरीक्षणपछि मन्त्री खड्काले क्षतिका कारण राज्यले अकल्पनीय घाटा व्यहोर्नुपरेकाले यथाशक्य चाँडो मर्मतसम्भार गरी विद्युत् उत्पादन गरिने प्रतिबद्धता गर्नुभयो ।

मन्त्री खड्काले आयोजनाबाट चाँडोभन्दा चाँडो विद्युत् उत्पादन गर्न सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता जनाउनुभयो । आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले आगामी तीन साताभित्रमा विद्युत् उत्पादन थाल्नेगरी काम भइरहेको बताउनुभयो ।

यू–१९ राष्ट्रिय क्रिकेटः खेलाडी बन्द प्रशिक्षणमा

0

बैतडी: नरेश श्रेष्ठ स्मृति यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमका २४ खेलाडी छनोट भएका छन् ।डडेल्धुराको परशुराममा सम्पन्न प्रदेशस्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी प्रशिक्षणका निम्ति चयन भएका सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका प्रमुख दीपेन्द्र भण्डारीले बताउनुभयो ।

प्रतियोगिता कात्तिक १० गतेदेखि विराटनगरमा हुँदैछ । कात्तिक १२ गते सुदूरपश्चिम र लुम्बिनी प्रदेशबीच पहिलो खेल हुनेछ ।

प्रतियोगितामा सातवटै प्रदेशका टोली सहभागी हुने नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले
बताउनुभयो । प्रतियोगिताको अन्तिम खेल कात्तिक २१ गते हुनेछ ।

तिहार र छठपर्वलाई माटोका भाँडा बनाउन भ्याइनभ्याई

0

इनरुवा (सुनसरी): इनरुवा नगरपालिका–२ का २५ वर्षीय विनोद पण्डित बिहानै माटो मुछ्न थाल्नुहुन्छ । उहाँ दिनभर भाँडा बनाउने काममा व्यस्त रहनुहुन्छ । तिहार र छठपर्वलाई लक्षित गरेर पण्डितले माटोका भाँडा बनाउन थाल्नुभएको हो ।

पण्डितको उद्देश्य चाडपर्वका बेला सबैलाई माटोका भाँडा सहज रूपमा पुर्याउने रहेको छ । सदरमुकाम इनरुवा, लौकही, हरिपुरलगायत स्थानमा रहेका कुम्भकार चाडपर्वलाई लक्षित गरेर माटोको भाँडा बनाउने काममा व्यस्त बनेका छन् । स्थानीय दरपी पण्डितका अनुसार कुम्भकार समुदाय तिहार र छठपर्वलाई लक्षित गरी माटोको घैला, दियो, धुपदानी, कलशलगायतका भाँडाकँुडा बनाउने काममा व्यस्त छ ।

भाँडा बनाउन काँचो कुमाले माटोको प्रयोग हुने गरेकाले दुई हप्ता अगाडिदेखि नै उनीहरुले माटोको जाहो गर्ने गरेका छन् । एक महिना अगाडिसम्म विभिन्न सस्याका कारण माटो ल्याउन नसक्दा भाँडा बनाउन ढिला भएकाले अहिलेदेखि नै भाँडा बनाउने काममा लागेको स्थानीय बचिया पण्डितले बताउनुभयो ।

“नजिक माटो पाइँदैन, टाढाबाट प्रतिट्रयाक्टर रु १० हजारदेखि रु २० हजारसम्ममा माटो खरिद गरी ल्याउनुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो ।

तिहार र छठपर्वमा दियो, चौमुखे दियो, कलशलगायत सामग्रीको अत्यधिक माग हुने भएकाले त्यसलाई लक्षित गरेर माटोका भाँडा बनाउने काममा लागेको पण्डितको भनाइ छ । चाडपर्वका बेलामा एउटा परिवारले रु एक लाखदेखि रु पाँच लाखसम्म माटोको दियो बनाएर बिक्री गर्ने गरेका छन् । चाडपर्वका बेलामा एउटा परिवारले माटोको भाँडाबाट रु ५० हजारदेखि रु दुई लाखसम्म आम्दनी गर्ने गरेको बेचनीदेवी पण्डितले बताउनुभयो । आफूहरूले बनाउने माटोको भाँडा बिक्री गर्न सुनसरी सदरमुकाम इनरुवासहित इटहरी, धरान, धनकुटा, झापालगायत ठाउँसम्म जाने गरेको बेचनीले बताउनुभयो । कुम्भकार समुदायका अधिकांश व्यक्तिको रोजीरोटी माटोका भाँडाकुँडा बनाउने रहेको छ ।

ट रु ५० हजारदेखि रु दुई लाखसम्म आम्दनी गर्ने गरेको बेचनीदेवी पण्डितले बताउनुभयो । आफूहरूले बनाउने माटोको भाँडा बिक्री गर्न सुनसरी सदरमुकाम इनरुवासहित इटहरी, धरान, धनकुटा, झापालगायत ठाउँसम्म जाने गरेको बेचनीले बताउनुभयो । कुम्भकार समुदायका अधिकांश व्यक्तिको रोजीरोटी माटोका भाँडाकुँडा बनाउने रहेको छ ।

महाशिलामा सात करोडका पर्यटकीय पूर्वाधार निर्माण

0

पर्वत: पर्वतको महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीमा अवस्थित एसियाकै ठूलो महाशिला (ढु्ङ्गा)मा रु सात करोडको लगानीमा पर्यटकीय पूर्वाधार निर्माणसँगै पर्यटकको आकर्षण बढ्न थालेको छ ।

सडकमार्गको पहुँचसँगै महाशिला वरिपरि आकर्षक संरचना निर्माण गरिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय र स्थानीय गाउँपालिकाको लगानीमा विभिन्न संरचना निर्माण गरिएका हुन् । सदरमुकाम कुश्माबजारबाट करिब ४० किलोमिटरको दूरीमा पर्ने महाशिलामा रहेको यो ठूलो ढुङ्गा स्थानीयस्तरमा मेहलढुङ्गाको नामले परिचित छ । यसको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको महाशिला धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष पुष्पराज पौडेलले बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत रु चार करोड १२ लाखको लागतमा पर्यटकका लागि सुविधासम्पन्न आश्रम भवन, स्वामिनारायण गुफा, मन्दिर तथा शौचालय निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा महाशिला परिसरमा रु एक करोडको लागतमा एक सय आठ गौमुखी धारा, महाशिला परिक्रमा गर्ने पदमार्ग, मुख्य गुफा तथा पुरानो संरचना संरक्षणलगायत पूर्वाधार तयार गरिएको छ ।

नेपाल पर्यटन बोर्डमार्फत रु ११ लाखको लागतमा ट्रष्ट भवन बनाइएको छ भने गाउँपालिकाले पनि विभिन्न संरचना तथा सडक पूर्वाधारमा लगानी गरेको छ । चालु आर्थिक वर्षमा समेत सङ्घीय मन्त्रालयमार्फत रु एक करोड ५० लाख विनियोजन भएको संस्थाका अध्यक्ष पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त बजेट महाशिला परिसरमा पर्खाल निर्माण तथा आश्रम भवनमा आवश्यक सामग्री खरिदलगायतमा खर्चिने भएको छ । केही वषअघिसम्म आवश्यक प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको महाशिलामा अहिले धार्मिक, आन्तरिकसँगै बाह्य पर्यटकसमेत आउन थालेको अध्यक्ष पौडेलको भनाइ छ ।

लुुङ्खुदेउरालीमा पक्की मोटरबाटोको सुविधा पुगेकाले पनि पोखरा, स्याङजा, गुल्मी, बुटवल, पाल्पालगायत जिल्लाबाट सिधैँ पर्यटक आउने गरेको स्थानीय सरस्वती अधिकारीले बताउनुभयो । महाशिला एक पटक हिँडेर परिक्रमा गर्दा एक माना चामलको भात पाक्ने किंवदन्ती छ । एकपटक घुम्दा १० मिनेटभन्दा बढी समय लाग्छ । यहाँ हरेक एकादशी, बालाचतुर्दशी, शिवरात्रि, रामनवमी, अक्षयतृतीयालगायत चाडपर्वमा मेला लाग्छ ।

महाशिला गाउँपालिकाको नामकरण यही शिलाको नामबाट गरिएको हो । एक सय ३० मिटर अग्लो शिला झण्डै १० रोपनी क्षेत्रफलमा फैलिएको छ । शिला परिसरमा विभिन्न संरचना निर्माणका लागि स्थानीयवासीले निःशुल्क जग्गासमेत दान गरेका छन् । अहिले शिलाको स्वामित्वमा झण्डै २० रोपनी क्षेत्रफल रहेको अध्यक्ष पुष्पराज पौडेलले बताउनुभयो ।

महाशिला गाउँपालिकाले यसको विकासका लागि रु ७० करोडको गुरुयोजनासमेत बनाएको छ । गुरुयोजनाअनुसार काम अघि बढाउँदै लगिएको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताउनुभयो । सङ्घीय र प्रदेश सरकारसँगको पहलमा गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना छ ।