Wednesday, June 17, 2026
Home Blog Page 672

न्यायालयप्रति विश्वास छ, सघाउँछौं : डिपी अर्याल

0

कास्की: राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डिपी अर्यालले पार्टी सभापति रवि लामिछाने निर्दोष रहेकामा आफूहरु विश्वस्त रहेको बताएका छन्।

सो पार्टीले आज पोखरामा आयोजना गरेको ऐक्यबद्धता कार्यक्रममा उनले निष्पक्ष अनुसन्धानका लागि न्यायालयलाई आफ्नो पार्टीले सहयोग गर्ने बताए।
पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले रास्वपा सहकारी पीडितका पक्षमा रहेको र दोषीलाई दिन नहुनेमा जोड दिए।

यहाँस्थित सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन तथा संगठित अपराधसम्बन्धी अभियोगमा अनुसन्धान गर्न निजलाई शुक्रबार पक्राउ गरी यहाँ ल्याएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ।

असोजमा ५३ हजार नेपाली कामका लागि विदेशिए

0

काठमाडौं। चाडपर्वका बेला पनि वैदेशिक रोजगारीमा जानेहरूको संख्या निरन्तर बढिरहेको छ।

वैदेशिक रोजगार विभागका अनुसार गत असोजमा श्रम स्वीकृति लिएर ५३ हजार पाँच सय २५ जना विदेशिएका छन्।

असोजमा १७ हजार सात सय २४ जना नेपाली संयुक्त अरब इमिरेट्स, १० हजार चार सय ६८ जना साउदी, नौ हजार सात सय ९८ जना कतारमा, तीन हजार आठ सय सात जना कुबेत र एक हजार तीन सय १४ जना मलेसिया गएका छन्।

यसैगरी, असोजमा युरोपेली मुलुक रोमानिया क्रोएशिया, साइप्रस, माल्टा र पोर्चुगल जानेको संख्यामा पनि वृद्धि भएको छ। गत भदौमा ५७ हजार चार सय ९३ जना नेपाली रोजगारीका लागि विदेसिएका थिए।

अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको भीड

0

गलेश्वर (म्याग्दी): यहाँको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

दसैँको टीकापछिका पाँच दिनमा आठ सय बढी आन्तरिक पर्यटक त्यस क्षेत्रमा पुगेका मौरिस हर्जोग पदमार्गका अभियन्ता तेजबहादुर गुरुङले जानकारी दिनुभयो । अन्नपूर्ण–३ नारच्याङको हुमखोलाबाट उक्त पदमार्ग हुँदै दुई दिनको पैदलयात्रा पछि अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ ।

बिदा मनाउन निस्केका आन्तरिक पर्यटकले अन्नपूर्ण प्रथम हिमालको मुख्य आधार शिविर र आरोहण मार्गमा पर्यटकको भीड बढेको आधार शिविर पुगेर फर्किनुभएका आन्तरिक पर्यटक सुशान्त पौडेलले बताउनुभयो ।

केही वर्षअगाडिसम्म आधार क्षेत्र सुनसान थियो । यहाँ पदमार्गका लागि विभिन्न पर्यटकीय पूर्वाधार निर्माण, आधार शिविर तथा पञ्चकुण्ड तालसहित पदमार्गमा रहेको फुतफुते ताल, गुफा, झरनासहितका सुन्दर दृश्यका कारण चहलपहल बढेको हो ।

गत वर्षको भन्दा यस वर्ष अन्नपूर्ण आधार शिविरको भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा छ गुणाले वृद्धि भएको बताइएको छ । भारतीय, चिनियाँ, ताइवानी र इटालियन पर्यटकको सङ्ख्या पनि गत वर्षभन्दा वृद्धि भएकामा स्थानीय होटल व्यवसायी उत्साहित छन् ।

पर्यटकको सङ्ख्या वृद्धि भएसँगै आधार शिविरमा फोहर बढेको छभने शौचालयसहितका अन्य संरचनामा सम्बन्धित निकायको ध्यान नपुगेको पर्यटकले गुनासो गरेका छन् । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार शिविर क्षेत्र पुग्न सकिन्छ ।

सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन

0

वीरगञ्ज (पर्सा): वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा रु १२ अर्ब ७५ करोड ७८ लाख २१ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको असोज मसान्तसम्मको अवधिमा कुल वार्षिक लक्ष्यको २१ दशमलव २५ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

सुख्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा राजस्व सङ्कलन रु २५ करोड ८४ लाख ११ हजार ले कमी भएको बताउनुभयो ।

“गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा सवारीसाधन र मदिराजन्य पदार्थको आयातमा गिरावट आएसँगै राजस्वमा प्रत्यक्ष असर पारेको देखिन्छ”, उहाँले भन्नुभयो, “चालु आवको दसैँमा पनि अपेक्षाकृत आयात बढ्न सकेन । जसले गर्दा राजस्वको लक्ष्य भेट्टाउन सकेन ।”

कार्यालयले चालु आवको पहिलो महिना साउनमा मासिक लक्ष्यको ७९ दशमलव २८ प्रतिशत अर्थात रु तीन अर्ब ७५ करोड २२ लाख ११ हजार राजस्व सङ्कलन गर्यो । त्यस्तै चालु आवको दोस्रो महिना भदौमा मासिक लक्ष्यको ८८ दशमलव ५० प्रतिशत अर्थात चार अर्ब ६४ करोड १९ लाख एक हजार राजस्व सङ्कलन गर्यो ।
त्यस्तै चालु आवको तेस्रो महिना अर्थात असोजमा भने मासिक लक्ष्यको ९० दशमलव ३१ प्रतिशत अर्थात चार अर्ब ३६ करोड ३७ लाख नौ हजार राजस्व सङ्कलन गर्यो ।

सुक्खाबन्दरगाह भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा रु १३ अर्ब ११ करोड ६२ लाख ३२ हजार राजस्व सङ्कलन भएको थियो ।

तिहार लक्षित सयपत्री ढकमक्क फुल्न थाले

0

देउखुरी (दाङ): वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पंगेनी र दशरथ साउदले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूलखेती गर्नुभएको छ । उहाँको फूलखेतीमा पुग्ने जो कसैको मन आनन्दित हुन्छ । कतिपयले आइपुग्ने बित्तिकै सेल्फी खिच्ने गर्छन् । तिहार लक्षित सयपत्रीले फूलबारी पहेँलै भएका छन् ।

भास्करसँगै प्राविधिक सहायक दशरथ साउद पनि फूलखेतीमा लाग्नुभएको छ । कृषि प्राविधिक पढेर कृषिमा लाग्नु भएका साउदले फूलखेतीमा लाग्ने रोगकिरा र अन्य प्राविधिक पक्ष हेर्नुहुन्छ । कपिलवस्तुमा छ वर्ष पहिलेदेखि फूल खेतीमा लाग्नुभएका पंगेनी र साउदले तीन वर्ष अघिदेखि दाङमा व्यावसायिक फूलखेती विस्तार गर्नुभएको हो ।

घोराही–१५ भरतपुरमा १७ कट्ठा जमिन मासिक रु दुई हजार भाडामा लिएर उहाँहरुले फूलखेती गरिरहनुभएको
छ । गत वर्ष तिहारमा मात्रै रु १३ लाखको फूल बिक्री गरेको साउदले बताउनुभयो । तिहार पछाडि सयपत्री फूलेपछि सोही स्थानमा ‘टिकटक स्पट’ बनाएर रु पाँच लाख आम्दानी गरेको उहाँले बताउनुभयो । यसपालि एकै सिजनमा १५ देखि २० लाख आम्दानी गर्ने लक्ष्य उहाँहरुको छ ।

उहाँहरुले दुई वर्ष अगाडि कर्मा–५५५ जातको सयपत्री फूलबाट खेती सुरु गर्नुभएको थियो । यसपाली कर्मा ५५५, कर्मा–९९९ यल्लो गरी दुई जातका सयपत्रीका बिरुवा रोप्नुभएको छ । दाङमा रु ८० हजारको बीउ किनेर बेर्ना राखेको दशरथ साउदले बताउनुभयो ।

“यी सबै फूलको बीउ थाइल्यान्डबाट ल्याएर उमारेका हौँ”, उहाँले भन्नुभयो, “यसपालि रु दुई लाखको बेर्ना बिक्री भइसक्यो । बिरुवाको जात हेरेर प्रतिगोटा रु दुई देखि ५० सम्ममा बिक्री हुने गरेको छ ।”

स्वदेशमै कृषिबाट आम्दानी गर्न सकिने अर्का व्यवसायी भास्कर पंगेनी बताउनुहुन्छ । उहाँले बेरोजगार युवालाई कृषिमा जोड्ने उद्देश्यले एक सय आठ अवधारणा बनाई कृषि फार्मको नाम नै एक सय आठ राख्नुभएको छ । फूल उत्पादनका लागि दाङको माटो उपयुक्त रहेको उहाँको भनाइ छ । यहाँ उत्पादित फूल भण्डारण गर्ने चिस्यान केन्द्र नहँुदा लामो समयसम्म राख्न समस्या भएको उहाँले बताउनुभयो ।

राम्रो चिस्यान केन्द्र भएमा स्वदेशमा उत्पादित सयपत्री विदेश निर्यात गर्न सकिने उहाँले बताउनुभयो । फूलमा नेपाललाई आत्मनिर्भर बनाउने उद्धेश्यले जिल्लाहरुमा क्षेत्र विस्तारको योजना बनाएको पंगेनीको भनाइ छ ।

प्रेम सम्बन्धमा परेर सानै उमेरमा घर छाडेर भारत जाने क्रम बढ्दै

0

राँझा (बाँके): गत असोज २७ गते सुर्खेतको भेरी गङ्गा नगरपालिका छिन्चुबाट भागेका दुई बालबालिका ३० गते नेपालगन्जस्थित सीमानाका जमुनाहमा फेला परे । भारत जाँदै गरेका उनीहरुलाई नेपाल प्रहरीले नियन्त्रणमा
लियो ।

जोखिमपूर्ण यात्रामा रहेका उनीहरुलाई अभिभावकको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । “दुई बालबालिकालाई हामीले नाकाबाट फिर्ता गरायौं, दुई जनाको खोजतलास गर्दा गाउँमै लुकेर बसेको भेटियो”, प्रहरी निरीक्षक बुढाथोकीले भन्नुभयो, “प्रेम सम्बन्धमा परेर सानै उमेरमा बालबालिकाले घर छाडेर भारत जाने क्रम बढेको छ ।”

अधिकांश भारत जान लागेको महिला तथा बालबालिका प्रेमजालमा परेको बताउने प्रहरी निरीक्षक बुढाथोकीले बताउनुभयो । उहाँले दसैँमा सुर्खेत, सल्यानलगायत जिल्लाबाट उमेरै नपुगेका बालबालिका घरबाट भागेर भारत जाने क्रममा नियन्त्रण लिई अभिभावकको जिम्मा लगाएको बताउनुभयो ।

मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यरत संस्था माइती नेपाल नेपालगन्ज कार्यालयमा दसैँ अवधिमा महिला तथा बालबालिका हराएको भनी ४९ जनाको खोजतलासको निवेदन दर्ता भएको छ । हराउने ४९ मध्ये ३२ जना १८ वर्षमाथिका महिला, १२ जना १८ वर्षमुनिका बालिका र पाँचजना बालक रहेको माइती नेपाल नेपालगञ्ज कार्यालयका संयोजक केशव कोइरालाले जानकारी दिनुभयो । हराएकामध्ये आठजना फेला पारेको समेत माइती नेपालले जनाएको छ ।

सामाजिक सञ्जाल फेसबुक र टिकटकबाट चिनाजानी भएकै आधारमा विश्वास मानी भारत जाने महिला तथा बालिका मानव बेचबिखनको उच्च जोखिममा रहेको अधिकारकर्मी बताउँछन् ।

माइती नेपालले बाँकेको नेपालगन्जस्थित नेपाल–भारत सीमा जमुनाह नाकाबाट दसैँ अवधिमा ४५ महिला तथा बालबालिकाको उद्धार गरेको छ । गत असोज १ देखि ३० गतेसम्म जमुनाह नाका हुँदै भारत जाने क्रममा जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई माइती नेपाल नेपालगन्जले सीमा नाकाबाट उद्धार गरेको हो । तीन बालक १८ वर्षमुनिका, १७ र १८ वर्षमाथिका २५ महिला तथा बालबालिकालाई जमुनाह नाकाबाट उद्धार गरिएको माइती नेपाल नेपालगन्जका संयोजक कोइरालाले बताउनुभयो ।

बेनी–मालढुङ्गा सडकः ठेक्का अवधि सकिँदा दुई तिहाइ मात्र प्रगति

0

म्याग्दी: म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि सञ्चालित आयोजनाको ठेक्का अवधि सकिए पनि करिब दुुई तिहाई मात्र भौतिक प्रगति भएको छ ।

गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित यस आयोजनाको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत छ ।

तेह्र किलोमिटर दुरीको बेनी–मालढुङ्गा सडकलाई ११ मिटर फराकिलो बनाएर डिबिएसडी प्रबिधिको कालोपत्र र ढलान गर्न बेनी–जोमसोम–कोरला सडक आयोजना र एपेक्स–खड्का–कृष्ण जेभीबीच विस २०७७ चैतमा रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

आयोजना प्रमुख ध्रुबकुुमार झाले सार्वजनिक खरिद ऐनको १३औँ संशोधन अनुुसार अन्तिम पटक थपिएको ठेक्काको म्याद २०८१ असोज ३० गते सकिएको बताउनुभयो । “विसं २०८० असोजमा म्याद सकिएको यो सडक योजनाको २०८१ असोज महिनासम्मका लागि ठेक्काको पछिल्लो पटक थपिएको म्याद पनि गत असोजमा सकिएको छ”, उहाँले भन्नुभयो, “ठेक्का अवधि सकिदा भौतिक प्रगति भने ६२ प्रतिशत मात्र छ ।”

सडक निर्माणमा ढिलाई हुँदा यातायातका साधन सञ्चालन र यात्रुहरुलाई आवतजावतमा समस्या भएको छ । यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । साँघुरो सडकको खाल्डाखुल्डी, धुलो, हिलोका कारण यात्रा गर्न सास्ती भएको बेनीका प्रकाश पौडेलले बताउनुभयो ।

“बेनी–मालढुङ्गा सडकको दुरावस्थाका कारण म्याग्दी र मुस्ताङ आवतजावत गर्ने यातायातका साधनले सात किलोमिटर बढी घुमाउरो मालढुङ्गा–बागलुङ–बेनी सडक प्रयोग गर्न बाध्य भएका छन”, उहाँले भन्नुभयो, “समयमा सडक स्तरोन्नति नहुँदा महँगो ढुवानी र यातायात भाडादरको मारमा सर्वसाधारण परेका छन् ।” पौडेलको अगुवाइमा सडक निर्माणलाई गति दिन समुदाय स्तरमा दबाब अभियान सञ्चालन गरेका छन् ।

सडक फराकिलो, नाली र पर्खाल निर्माण अन्तिम चरणमा पुगेको मालढुङ्गादेखि फर्सेसम्मको पाँच किलोमिटर दूरिमा कालोपत्रका लागि सब बेस बिछ्याएको छ । विभिन्न ठाउँमा करिब एक किलोमिटर ढलान र खोल्साहरुमा कल्भर्ट पुल निर्माण गरिएको छ । फर्सेदेखि लामाखेत खण्डमा फराकिलो बनाउने, नाली र पर्खाल निर्माण सुस्त रहेको जलजला गाउँपालिका–८ का वडा अध्यक्ष हरिविकास जिसीले बताउनुभयो ।

एपेक्स–खड्का–कृष्णको सहायक ठेकेदार ओमकारेश्वर कन्स्ट्रक्सनले ढुङ्गा, गिट्टी, बालुवा र रोडा अभावको कारण देखाएर विंस २०७९ कात्तिक देखि सडक निर्माणलाई सुस्त बनाएका थियो ।

ठेक्का सम्झौताअनुसार सडक निर्माणका लागि आवश्यक नदीजन्य कच्चा पदार्थको स्रोत कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन गर्न विंस २०७८ असारमा सर्वोच्च अदालतले रोक लगाएको थियो । सडकमा रहेका विद्युतको पोल स्थानान्तरण नभएको, सडकको क्षेत्राधिकारको घरटहराको क्षतिपूर्ति वितरण र भत्काउन ढिलाइ भएको तथा नदीजन्य निर्माण सामग्रीको अभावलाई निर्माण व्यवसायीले कारण देखाएका छन् ।

म्याद सकिएपछि कार्यक्षेत्रमा आएका निर्माण कम्पनीका प्रतिनिधीले शुुक्रबार जिल्ला प्रशासन कार्यालय म्याग्दीमा भएको छलफलमा निर्माणलाई गति दिने प्रतिबद्धता जनाएका प्रजिअ गुरुदत्त ढकालले बताउनुभयो । विद्युतका पोल सार्ने र घरटहराको क्षतिपुर्ति वितरणको काम अन्तिम चरणमा पुुगेको आयोजनाले जनाएको छ ।

बेनी नगरपालिकाका प्रमुख सुुरत केसीले कालीगण्डकीको नदीजन्य पदार्थ प्रयोग गर्न नपाए म्याग्दी नदीबाट लगेर भएपनि काम गर्न आग्रह गर्नुभएको छ । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा–बेनी सडक बेनी सडक २०६८ सालमा कालोपत्र गरिएको थियो । मुस्ताङको कोरला नाकादेखि दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत यो सडकलाई ११ मिटर चौडा र कालोपत्रे गर्न लागिएको हो ।

रवि लामिछानेलाई बिहान३ बजे पोखरा पुर्याइयो, स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण

0

काठमाडौँ: सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरा पुर्र्याइएको छ ।

जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै हिजो राति शुक्रबार काठमाडौँबाट पक्राउ गरी लामिछानेलाई सडकमार्ग हुँर्द आज बिहान ३ बजे पोखरा पुर्याइएको हो।

लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको प्रहरीले जनाएको छ । लामिछानेलेलाई आज सार्वजनिक बिदा परेका कारण भोलि मात्रै अदालतमा उपस्थित गराइने जनाइएको छ ।

चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना आंशिकरुपमा सञ्चालनमा ल्याउने तयारी

0

दोलखा: दोलखामा रहेको चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना आंशिकरुपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

गत असोज ११ र १२ गते अविरल वर्षाका कारण बाढी र पहिरोले बाँध क्षेत्रका संरचना हेडवर्क्समा क्षति पुर्याएपछि बन्द भएको उक्त आयोजना मर्मत सम्भार गरेर आंशिकरुपमा सञ्चालनको तयारी भइरहेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले जानकारी दिनुभयो । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध नजिकैको भवन पहिरोले पुरिँदा चार जनाको मृत्युसमेत भएको थियो । पहिरो हटाउने काम थालिएको उहाँले बताउनुभयो ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत गौतमका अनुसार प्रवेशमार्ग काभ्रेभीर सडकमा क्षति पुगेका कारण बाँधस्थलमा उपकरण लैजान कठिनाइ भएको छ । यसबाट मर्मत गर्न समय लागेको उहाँको भनाइ छ । बाँधमा थुप्रिएको ढुङ्गा, बालुवा, गिट्टीलगायत सामग्री सफा गर्ने काम सकिएपछि बाँध मर्मत कार्य अघि बढाइने छ ।

“तिहार लगत्तै विद्युुत् उत्पादन थाल्छौँ”, उहाँले भन्नुभयो । बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा थिग्ग्रयाउने पोखरी, नहरलगायत संरचनामा क्षति पुगेको छ । पहिरोले विभिन्न संरचनामा अत्यधिक क्षति पुर्याएपछि विद्युत् पुरै उत्पादनमा समय लाग्ने आयोजनाले जनाएको छ ।

विद्युत्गृह रहेको स्थान गोंगरबाट बाँधसम्मको प्रवेश मार्गमा पर्ने खोलामा बाढी आएका कारण आवतजावत गर्न समस्या भएको आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत गौतमले बताउनुभयो । पहिरोका कारण जलाशय क्षेत्रमा ठूलो परिमाणमा ढुङ्गा र लेदो थुप्रिएको छ । बाढी पहिरोबाट रु दुई अर्बको क्षति भएको बताइएको छ । विद्युत् उत्पादन बन्द हुँदा दैनिक रु चार करोड आम्दानी गुमाउनु परेको आयोजनाले जनाएको छ । आयोजनाको सम्पूर्ण मर्मत कार्य सम्पन्न गर्न कम्तीमा ६ महिना लाग्ने अनुमाान गरिएको छ ।

सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० डलरभन्दा माथि

0

हङकङ। व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिको स्रोतको रूपमा सुनलाई लिएपछि एसियाली बजारमा शुक्रबार सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० अमेरिकी डलरभन्दा माथि पुगेको छ।

इजरायलले हमासका प्रमुख याह्या सिनवारको हत्या गरेको बताएपछि मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भूराजनीतिक अनिश्चितताका बीच ब्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिको रूपमा कारोबार गर्दा यसको मागमा आएको वृद्धिले सुनको भाउ ह्वात्तै बढेको हो।

एसियाली बजारमा शुक्रबार सुनको प्रारम्भिक मूल्य दुई हजार ७०४.८९ अमेरिकी डलरको सर्वकालिक उच्च बिन्दुमा पुगेको थियो। बिहीबार सुनको मूल्य प्रति आउन्स दुई हजार ६८८.८३ डलर कायम भएको थियो।

इजरायलले गाजामा हमास र हालै दक्षिणी लेबनानमा हिजबुल्लाहसँग लडिरहेको बेला मध्यपूर्वको संकटलाई लिएर सुन बजार प्रभावित भएको हो।

केन्द्रीय बैङ्कहरूले ब्याजदर घटाउने उपाय अपनाउँदा यस वर्षको सुरुदेखि नै सुनको मूल्यमा ३० प्रतिशतको हाराहारीमा वृद्धि हुनपुगेको थियो। मूल्यमा देखिएको निरन्तरको वृद्धिले गर्दा सुन लगानीकर्ताका लागि थप आकर्षक सम्पत्ति बनेको छ।

युक्रेनमा लामो समयदेखि चलिरहेको युद्धका बारेमा चिन्ताले व्यापारीहरूमा सुरक्षित लगानीको चाहना बढ्नुलाई स्वभाविक मानिएको छ।