Wednesday, June 17, 2026
Home Blog Page 674

म्याग्दीका छ वडामा एकैपटक स्वास्थ्यचौकी भवन निर्माण

0

गलेश्वर (म्याग्दी): पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका छवटा वडामा स्वास्थ्यचौकी भवन निर्माण भएका छन् । सात वडा रहेको गाउँपालिकाको वडा नं १ मा पर्ने निस्कोटबाहेक अरु सबै वडामा भवन निर्माण भएका
हुन् ।

मालिका गाउँपालिका भौतिक तथा पूर्वाधार शाखाका सबइन्जिनियर दीपक सापकोटाका अनुसार सङ्घीय सरकारको विशेष अनुदानमा मालिका गाउँपालिकाले रु १८ करोड लागतमा छवटा वडामा स्वास्थ्यचौकीको भवन निर्माण गरेको हो । अघिल्ला दुई आर्थिक वर्षमा फरकफरक ठेक्कामार्फत भवन निर्माण गरिएको हो । केही समयअघि मात्र वडा नं ३ को डाँडागाउँमा स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न भएको थियो ।

स्वास्थ्यचौकी भवन निर्माण गर्न आर्थिक वर्ष २०८१/८२ मा रु एक करोड ४५ लाखको विशेष अनुदान प्राप्त भएको थियो । आव २०८०/८१ मा रु ८६ लाख ४३ हजार दुई सय ३८ मा ठेक्का सम्झौता गरेको ओमेन ओस्कार निर्माण सेवाले रु ८५ लाख ७३ हजार तीन सय ३५ भुक्तानी पाएको थियो ।

सात वटा वडा रहेको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा आधारभूत अस्पताल र अन्य वडामा स्वास्थ्यचौकी छन् । गाउँपालिकाको वडा नं १ मा पर्ने निस्कोटमा सहरी विकास मन्त्रालयमार्फत स्वास्थ्यचौकी भवन निर्माणको तयारी भएको मालिका गाउँपालिकाका सूचना अधिकारी सोमबहादुर केसीले जानकारी दिनुभयो ।

सिङ्गो गाउँ तरकारी खेतीमाः वार्षिक आम्दानी ८० लाख

0

ढोरपाटन (बागलुङ): बागलुङको ढोरपाटन नगरपालिका–५ का दुई सय २० घर दूरीका किसान व्यावसायिक तरकारीखेतीबाट जीविकोपार्जन गर्दै आएका छन् । विसं २०७५ देखि तरकारीखेतीमा लागेका किसानले अहिले गाउँका बाँझो जग्गाको सदुपयोग गरी तरकारी लगाउन थालेका हुन् । यहाँको नाथुरी, बाउनगाउँ, अधिकारीचौर, प्याङखोलाका प्रत्येक परिवारले प्लास्टिकका टनेलमा मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आएका छन् ।

सुरुमा गाउँका अगुवा किसान कृष्णलाल कँडेलले थालेको तरकारीखेतीमा अहिले गाउँभरि बिस्तार भएको छ । कँडेलले विसं २०६९ देखि नै फाटफुट तरकारीखेती गर्न थाल्नुभएको थियो । छ वर्षपछि सरकारी कृषि ज्ञान केन्द्रसहित विभिन्न सरकारी निकायले अनुदान दिन थालेपछि स्थानीय व्यावसायिक तरकारी खेती गर्न थालेका थिए । बुर्तिबाङ–ढोरपाटन सडक छेउमै पर्ने गाउँमा फलेका तरकारी बजार पु¥याउन त्यति समस्या छैन । नजिकै बुर्तिबाङ बजार हुँदा बिक्रीका लागि टाढा धाउनु पर्दैन ।

गाउँमा तरकारीखेती गर्न थालेपछि न्यून आय भएका परिवारको पनि आर्थिक अवस्था सुधार हुँदै गएको स्थानीय अगुवा किसान कृष्णलाल कँडेलले बताउनुभयो । १२ वर्षअगाडि आफूले गाउँमा टनेलभित्र तरकारीखेतीको सुरुआत गरेपछि अहिले सिङ्गो गाउँ नै यसमा लागेको उहाँको भनाइ छ । तरकारीखेतीमा आबद्ध किसानले वार्षिक न्यूनतम रु दुई लाखदेखि सात लाखसम्म आम्दानी गर्दै आएका कँडेल बताउनुहुन्छ । यस वर्ष ढोरपाटन–५ मा मात्रै तरकारी बेचेर रु ८० लाख भित्रिएको उहाँले जानकारी दिनुभयो ।

“गरे के नहुने रैछ र ?, मैले तरकारीखेती सुरु गर्दा गाउँलेले तरकारी पनि बिक्री हुन्छ भन्दै गिज्याउँथे, अहिले गाउँमा टनेलमा तरकारीखेती नगर्ने कोही छैन, तरकारीबाट आम्दानी राम्रो हुन थालेपछि पहिले हुँदा खानेहरु अहिले हुने खाने भए”, उहाँले भन्नुभयो, “पोहोर परार साल वार्षिक ५० लाखको तरकारी बिक्री हुन्थ्यो, यस वर्ष थप ३० लाख बढीको खायन आलुसमेत बिक्री गर्यौं ।”

बारीमा काम गर्न थालेपछि धेरै युवा विदेश जानबाट रोकिएका छन् । जिल्लाको अन्य गाउँमा युवा विदेश पलायन हुँदा ढोरपाटनमा भने गाउँ जनशक्तिको अभाव छैन । व्यवसायिक तरकारीखेतीले गाउँलेको जीवनशैली नै बदलिएको स्थानीय किसान विष्णुकुमारी घर्तीले बताउनुभयो । बजारमा तरकारीको भाउमा एक रुपता नहुँदा कहिलेकाहीँ मूल्य नपाउने उहाँको भनाइ छ । तरकारीखेतीबाटै घर खर्च चलाउने र छोराछोरी पढाउने गरेको घर्ती बताउनुहुन्छ । उहाँले भन्नुभयो, “तरकारीखेतीबाट आत्मसन्तुष्टि मिलेको छ, पहिले एक मुरी धान फल्ने खेतमा अहिले लाखौँको तरकारी फल्छ, मैले मात्रै होइन गाउँका धेरैले यो पेसा अङ्गालेका छन्, तरकारीमा रोग लागेन भने वर्षमा दुई/चार लाख रुपैयाँ कमाउन समस्या छैन ।”

तरकारीखेतीतर्फ किसानलाई आर्षित गर्न कृषि ज्ञान केन्द्र बागलुङले पनि सहयोग गर्दै आएको छ । यस क्षेत्रमा तरकारीखेती र खायन आलु उत्पादनका लागि करिब ८० लाख लगानी गरेको केन्द्रका सूचना अधिकारी कुमार पुनले जानकारी दिनुभयो । किसानलाई आवश्यक अनुदानसहित प्राविधिक सहयोग र उपकरणसमेत उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो ।

मौसम अनुकूल भएपछि छ सय ९० पर्यटक लुक्ला ओर्लिए

0

सोलुखुम्बु: लुक्ला विमानस्थलमा मौसम अनुकूल भएसँगै काठमाडौँ र रामेछापको मन्थली विमानस्थलमा रोकिएका छ सय ९० पर्यटक ओर्लिएका छन् । मौसम प्रतिकूलताका कारण दुई दिनदेखि पर्यटक मन्थली र काठमाडौँमा रोकिएका थिए ।

नेपाल नागरिक उड्डययन प्राधिकरण लुक्लाका ‘एटिसी अफिसर’ विवश दाहालका अनुसार आज मन्थलीमा रोकिएका छ सय र काठमाडौँमा रोकिएका ९० पर्यटक लुक्ला आइपुगेका हुन् । हेलिकप्टरमार्फत ७० उडान गर्दा तीन सय ५० र २२ उडान जहाजमार्फत तीन सय ४० पर्यटक लुक्ला ओर्लिएको उहाँले जानकारी दिनुभयो ।

नेपाल नागरिक उड्डययन प्राधिकरणले खुम्बु क्षेत्र आएका विदेशी पर्यटकलाई रामेछापको मन्थली विमानस्थलबाट जहाजमार्फत लुक्ला उडानको व्यवस्था गरेको छ । गत आइतबार ९० उडानमार्फत आठ सय पर्यटक लुक्ला आएको प्राधिकरणको तथ्याङ्क छ । खुम्बुक्षेत्र भ्रमणमा आउने पर्यटकहरु लुक्लाबाटै पदयात्रा सुरु गर्छन् । लुक्लासम्म सडक नपुगेकाले सर्वसाधारण र पर्यटकका लागि हवाइसेवा प्रमुख माध्यम हो ।

लुक्ला विमानस्थल सन् १९७१ देखि सञ्चालनमा आएको हो । यो विमानस्थल समुन्द्र सतहदेखि दुई हजार आठ सय मिटरको उचाइमा छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार यसको लम्बाइ पाँच सय २७ मिटर र चौडाइ २० मिटर छ, जुन अन्य विमानस्थलभन्दा छोटो हो । छोटो धावनमार्ग भएकाले त्यहाँ ‘ओभरसुट’ सम्भव हुँदैन ।

मन्त्री यादवद्वारा मन्त्रालय र विभागमा छड्के जाँच

0

काठमाडौँ: खानेपानीमन्त्री प्रदीप यादवले हिजो मन्त्रालय एवं खानेपानी तथा ढल निकास व्यवस्थापन विभागमा छड्के जाँच गर्नु भएको छ ।

दसैँ बिदा सकिएसँगै सरकारी कार्यालय खुलेको दुई दिन बित्दासमेत कार्यालयमा कर्मचारी उपस्थित नभएको गुनासो आउन थालेपछि मन्त्री यादवले आज मन्त्रालय एवं विभागका सम्पूर्ण शाखाहरुमा छड्के जाँच गर्नुभएको हो ।

उक्त जाँचका क्रममा खानेपानी मन्त्रालयमा ११ र खानेपानी तथा ढल निकास व्यवस्थापन विभागमा दुईगरी १३ जनाबिना जानकारी अनुपस्थित भएको पाइएको मन्त्रालयका सहसचिव रामबाबु पुरीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मन्त्रीले आज आकस्मिक छड्के जाँच गर्नुभएको थियो, सो क्रममा मन्त्रालय र विभागमा १३ जना अनुपस्थित भएको देखिएको छ । अनुपस्थित हुनुका कारण बुझनुपर्ने हुन्छ ।”

उक्त छड्के जाँचका क्रममा मन्त्री यादवले काम गर्दा वा अन्य कुनै समयमा समस्या भएमा तत्काल आफूलाई जानकारी गराउन कर्मचारीहरुलाई आग्रह गर्नुभएको थियो ।

आजदेखि साफ महिला च्याम्पियनसिप, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै

0

काठमाडौँ: सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ ।

प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ ।

एन्फाका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन्भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स परेका छन् । प्रतियोगिताको उद्घाटन खेल आजै भारत र पाकिस्तानबीच हुनेछ । भोलि शुक्रबार नेपाल भुटानसँग भिड्नेछ ।

माटोका भाँडा बेचेर मासिक ८० हजारसम्म आम्दानी

0

धरान (सुनसरी): इटहरी उपमहमनगरपालिका–६ का सुरज पण्डितले माटोका भाँडाकुँडाबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।

गाउँघरदेखि सहरबजारतिर माटोको भाँडाकुँडा प्रयोगमा कम आए पनि आफूले पुख्र्यौली पेसा छोड्न नसकेको र यसबाट निराश हुने अवस्था नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सबै परिवार माटोको भाँडा बनाउँछौँ, हाम्रा बाजेहरूले पहिलेदेखि बनाउँदै यही काम गर्दै आउनुभएको हो । पुख्र्यौली पेसा हो अहिले पनि यही भाडाँकुडा बनाएरै घरखर्च पुगेको छ, आम्दानीको स्रोत नै यही हो ।”

उहाँको इनरुवामा माटोको भाँडा बनाउने आरन छ, त्यहाँ बनाका भाडाँकुडा इटहरी लिएर बच्ने गरिएको छ । धेरै व्यापारीले आरनमै आएर खरिद गरी लिने गरेको पनि उहाँले सुनाउनुभयो । यसरी बनाउने भाँडाका लागि आवश्यक माटो भने विराटनगरको बर्जुताल क्षेत्रबाट ल्याउने गरेको पण्डितले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जस्तो पायो त्यस्तो माटोले भाडाँ बन्दैन, नजिकै राम्रो माटो पाउन गाह्रो छ । एक ट्रयाक्टर माटोको रु १२ हजारदेखि १८ हजारसम्ममा ल्याउने गरेका छौँ, एक गाडी माटोले रु १ लाख ५० हजार मूल्य बराबर माटोका सामान बनाउन सकिन्छ । घरमा सबै खर्च कटाएर पनि रु ८० हजारभन्दा बढी मासिक आम्दानी हुने गरेको छ ।”

पण्डितले माटोको सामान उत्पादन गर्न सकेमा बिक्रीका लागि बजारको समस्या खासै नरहेको बताउनुभयो । “धेरैजसो व्यापारीले कारखानामै आएर सामान लिन्छन्, पसलबाट पनि उति नै बिक्री हुन्छ । धेरैजसो मागका सामान बनाउने भएकाले इटहरी बाहिरका ग्राहकले पनि माग गर्छन्”, उहाँले भन्नुभयो, “पूर्वको झापा, मोरङ, पाँचथर, इलाम, खादबारी, फिदिम, धनकुटादेखि भोजपुरसम्म मागअनुसार गाडीमार्फत उठाउने गरेका छौँ ।”

पण्डितका अनुसार बजार र ग्राहकको मागअनुसारका सामग्री बनाउन सके भाँडा व्यवसायबाट राम्रो कमाइ हुन्छ । आफूले रक्सी बनाउने पैनि, गमला, गाग्रो, पाला, कलश, दियो, फूलदानी, दही जमाउने भाँडा, फिल्टर, खुतु्रके, गिलासलगायत सामान बनाउने गरेकाले सामान बिक्री हुँदैन कि भनेर कहिल्यै चिन्ता गर्नु नपरेको उहाँको भनाइ छ । “एक÷दुईवटा सामान बोकेर गाउँ डुल्नुपर्ने अवस्था छैन, घर खर्चका लागि कमाउन त्यति धेरै गाह्रो हुन्न”, पण्डितले भन्नुभयो ।

हाल एउटा पैनि रु छ सयदेखि दुई हजारसम्ममा बिक्री हुने गरेको छभने गमला रु ३० रुपैयाँदेखि रु आठ सयसम्म बिक्री हुने गरेको छ । साना–साना सामान दर्जनका हिसाबले बिक्री हुन्छ । जसमा रु २० रुपैयाँदेखि लिएर रु एक हजारसम्ममा बिक्री हुने गरेको उहाँले बताउनुभयो । “अन्यत्र मजदुरी गरेर दुःखले कमाउनुभन्दा पुख्र्यौली पेसाबाटै कमाइ राम्रो छ । तीन दशकदेखि भाँडा बनाउँदै आएका छौँ”, पण्डितले भन्नुभयो ।

इटहरी उपमहानगरपालिका–६ का व्यापारी युवराज काफ्ले पछिल्लो समय माटोका भाँडा थोरै स्थानमा मात्रे बनाउने गरिएकाले यसको संरक्षण र प्रवर्द्धनका लागि सरकारले पनि सहयोग गर्नुपर्ने बताउनुहुन्छ । उहाँले विगत दुई वर्षदेखि माटोको भाँडाकँुडा व्यापार सुरु गरेको र सिजनअनुसार आम्दानी राम्रै हुने बताउनुभयो । “माटोका भाँडा भनेको जन्मदेखि मृत्युसम्म नै आवश्यक पर्छ । सिजनअनुसार सबै माटोको सामग्री बिक्री हुन्छ, अहिले दियो, कलश धेरै बिक्री हुने गरेको छ”, काफ्लेले भन्नुभयो,“ इनरुवा, विराटनगर, भारतलगायत ठाउँबाट सामान खरिद गरी बिक्री गर्ने गरेको छु । मासिक रु ३० हजारसम्म भाँडा बिक्रीबाट आम्दानी हुन्छ ।”

विपी राजमार्गमा सवारी चाप बढ्यो, जोखिमपूर्ण यात्रा

0

काठमाडाैं: बडादशैंको समापनसँगै उपत्यका फकर्ने यात्रुहरुको संख्या बढेपिछ बिपी राजमार्गमा सवारी चाप बढेको छ। बाढीपहिरोका कारण ठाँउक्षतिग्रस्त रहेको राजमार्गमा सवारी चाप बढेका कारण यात्रा कष्टकर बनेको छ।

बाढीपहिरोले सडक नै बगाएपछि खोलाको किनारमा डाइभर्सन बनाएर सवारी आवागमन सूचारु गराइएको छ। तर डाइभर्सन गरि बनाइएको सडकको अवस्था राम्रो नभएको र केही स्थानमा एकतर्फी भएका कारण सवारी साधान लामो जाममा पर्ने गरेका छन्।

दशैंको अगाडि सडक बगाएपछि सडक डिभिजनले यात्रुहरुको सहजताका लागि छिटो छिटो डाइभर्सन निर्माण गरेको थियो।

बाढीले क्षतिग्रस्त बनाएको काभ्रेको चौकीडाँडामा डाइभर्सन लामो भएका कारण समस्या भएकाले सम्भव भएसम्मको सडक सुधारको काम गरेको सडक डिभिजन भक्तपुरले जनाएको छ। सडक सुधारका लागि उक्त सडकखण्ड साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म बन्द गरिएको छ।

केही दिनमा सवारी चाप क्रमश घट्दै जाने भएकाले त्यसपछि सडकको सुधार र मर्मतको कामलाई थप तीव्रता दिने सडक डिभिजनको भनाइ छ। बाढीपहिरोका कारण बिपी राजमार्गको चौकीडाँडादेखि बर्खेखोलासम्मको मुख्य सडक पूर्ण रुपमा क्षति भएको छ।

यस्ता छन् धेरै नून खानुको बेफाइदा

0

काठमाडौँ: हामी नूनबिनाको जीवन कल्पना पनि गर्न सक्दैनौं। हेर्दा मुखै रसाउने खाउँ-खाउँ लाग्दो खाना अलिनो भए हामी खान सक्दैनौं। खानामा नूनको अत्यन्त महत्व छ।

विज्ञहरूका अनुसार नूनमा पाइने सोडियमले शरीरमा पानीको उचित मात्रा कायम राख्न मद्दत गरेको हुन्छ । ‘नून हाम्रो सबै न्युरोन्स, मस्तिष्क, मेरुदण्ड र सबै मांसपेशीहरू सहित सक्रिय कोशिकाहरूको लागि समेत अत्यावश्यक वस्तु हो । तर यही नून हामीले सन्तुलन मिलाएर सेवन नगरेको अवस्थामा अर्थात् आवश्यकभन्दा बढी मात्रामा यसको सेवन गरेको अवस्थामा भने हाम्रो स्वास्थ्यमा निकै प्रतिकूल असर समेत गर्न सक्छ ।

नून कम भयो भने हाइपोनेट्रेमिया निम्त्याउन सक्छ, जसले भ्रम, बान्ता, दौरा, चिडचिडापन र कोमा जस्ता गम्भीर अवस्थाहरू निम्त्याउन सक्छ।

जसकारण खानामा ५ ग्राम नून नियमित खानुपर्ने विश्व स्वास्थ्य संगठनले भनेको छ ।

तर अहिले मानिसहरूले हरेक दिन खानामा ११ ग्राम नून खाइरहेका छन् । जसले हृदय रोग, ग्यास्ट्रिक, क्यान्सर, ओस्टियोपोरोसिस, मोटोपन र मृगौला रोगहरूको जोखिम बढाइरहेको छ । विश्व स्वास्थ्य संगठनको अनुमान छ कि अत्यधिक नून सेवनका कारण विश्वभर हरेक वर्ष करिब १८.९ लाख मानिसको मृत्यु हुन्छ ।

विश्वभर एक अर्बभन्दा बढी मानिस उच्च रक्तचापबाट पीडित छन् । चिकित्सकहरूका अनुसार नून कम खाँदा यसलाई रोक्न र उपचार गर्न मद्दत गर्न सक्छ।

कोशी प्रदेशमा ३४ करोड मूल्य बराबरको अन्नबालीमा क्षति

0

बेलबारी (मोरङ): अन्नको भण्डार मानिने कोशी प्रदेशमा असोजमा आएको अविरल वर्षाका कारण कोशी प्रदेशमा रु ३४ करोडभन्दा बढीको धान बालीमा क्षति पुगेको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार रु ३४ करोड ४५ लाख ८५ हजार मूल्य बराबरको अन्न बालीमा क्षति पुगेको हो ।

वर्षाका कारण सबैभन्दा बढी धान बालीमा क्षति पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा यस वर्ष दुई लाख ७५ हजार दुई सय ६७ दशमलव ९८ हेक्टर जमिनमा धान रोपाइ भएकोे थियो, जसमध्ये पाँच हजार सात सय २२ दशमलव ७८ हेक्टर जमिनमा रु १७ करोड ६१ लाख ७५ हजार मूल्य बराबरको क्षति पुगेको खाद्य सुरक्षा तथा अनुगमन महाशाखा कोशी प्रदेशकी प्रमुख डा दीपा दियालीले बताउनुभयो । प्रदेशमा सबैभन्दा धेरै खोटाङमा तीन हजार सात सय ३९ दशमलव तीन हेक्टर धान बालीमा क्षति पुगेको उहाँले जानकारी दिनुभयो ।

यसैगरी सुनसरीमा आठ सय २४ हेक्टर, उदयपुरमा तीन सय ९८ दशमलव ७८ हेक्टर, झपामा दुई सय ८७ हेक्टर, मोरङमा दुई सय ४४ हेक्टर, भोजपुरमा एक सय १३ हेक्टर, तेह्रथुममा ३४ दशमलव ७५ हेक्टर र सोलुखुम्बुमा ११ दशमलव दुई हेक्टर जमिनमा क्षति पुगेको उद्योग कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशले जनाएको छ ।

तरकारीतर्फ चार सय १४ दशमलव ८० हेक्टर जमिनमा रु ११ करोड १८ लाख ७८ हजार मूल्य बराबरको क्षति भएको छ । आठ सय ७९ दशमलव ७५ हेक्टर जमिनमा लगाइएको रु एक करोड ६२ लाख चार हजार, दुई हजार तीन सय ५७ दशमलव ५० हेक्टर जमिनमा लगाइएको कोदो रु तीन करोड ७१ लाख मूल्य बराबरको क्षति भएको छ । यसैगरी १० दशमलव ५० हेक्टर जमिनमा रु २७ लाख ७३ हजार मूल्य बराबरको फलफूल र ५८ दशमलव ६० हेक्टर जमिनमा रु ४८ लाख १२ हजार मूल्य बराबरको दलहन बालीमा क्षति भएको मन्त्रालयले जनाएको छ ।

हरिनगरमा मात्रै २४ करोड २७ लाखको क्षति

यस्तै सुनसरीको हरिनगर गाउँपालिकामा मात्रै रु २४ करोड २७ लाख बराबरको धनमाल क्षति भएको छ ।

बाढीले हरिनगर गाउँपालिकाका विभिन्न क्षेत्रमा गरेर सो परिमाणमा क्षति भएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कले जनाएको छ । गाउँपालिका क्षेत्रमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषिलगायत गरेर रु २४ करोड २७ लाख बराबरको क्षति भएको हो । हरिनगरमा बाढीले सातवटा विद्यालयमा आंशिक क्षति हँुदा रु एक करोड ५० लाख बराबरको क्षति भएको छ ।

यसैगरी छवटा पुल तथा सडक आंशिक रूपमा क्षति हुँदा रु दुई करोड ५० लाख बराबरको क्षति भएको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले जानकारी दिनुभयो । यसैगरी नौ सय बिघा अन्न बाली पूर्ण रूपले र एक हजार छ बिघामा लगाइएको अन्नबाली आंशिक रूपले क्षति हुँदा रु १० करोड बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसैगरी ४० बिघा जमिन पूर्ण रूपले र ५५ बिघा जमिन आंशिक रूपले क्षति हँुदा रु १० करोड बराबरको क्षति भएको छ । यसैगरी तीनवटा हेल्थ पोष्टमा रु २० लाखभन्दा बढीको क्षति भएको छ ।

बाढीका कारण क्षति भएका भौतिक संरचनाको मर्मतसम्भार कार्य प्रारम्भ भएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

0

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ १० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ७० पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४६ रुपैयाँ ४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ७० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ३१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ १८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९० रुपैयाँ ४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ २८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ४१ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ९८ पैसा र बिक्रीदर नौ रुपैयाँ दुई पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ चार पैसा र बिक्रीदर चार रुपैयाँ छ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ८६ पैसा र बिक्रीदर नौ रुपैयाँ ९० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८७ पैसा र बिक्रीदर १२ रुपैयाँ ९३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५७ पैसा र बिक्रीदर १९ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २६ पैसा र बिक्रीदर १७ रुपैयाँ ३३ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ३८ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ३३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ६९ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ २८ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।