Friday, June 19, 2026
Home Blog Page 645

आजको लागि विदेशी मुद्राको विनिमय दर

0

काठमाडौँ: नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ८५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७२ रुपैयाँ ८६ र बिक्रीदर एक सय ७३ रुपैयाँ ६३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ५८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ १९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७५ पैसा र बिक्रीदर आठ रुपैयाँ ७९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८ रुपैयाँ ७१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ तीन पैसा, कतार रियाल एकको खरिद दर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर तीन रुपैयाँ ८७ पैसा र बिक्रीदर तीन रुपैयाँ ८९ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रीदर ३० रुपैयाँ ६० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५८ पैसा र बिक्रीदर नौ रुपैयाँ ६३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १२ रुपैयाँ ४५ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रुपैयाँ २० पैसा र बिक्रीदर १९ रुपैयाँ २९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७ रुपैयाँ ४० पैसा, कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ३५ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ४६ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ पाँच पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

जलनपीडितले भेटे स्वास्थ्यमन्त्री पौडेललाई

0

काठमाडौँ: जलनपीडितहरुले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेललाई भेटेका छन् । सांसद विन्द्यवासिनी कंशाकार, जलन उपचार अभियन्ता उज्वलविक्रम थापालगायतको टोलीले स्वास्थ्यमन्त्री पौडेललाई भेटेर जलनपीडितको उपचारका लागि बेग्लै वार्ड तथा नसक्नेका लागि निःशुल्क उपचारको व्यवस्था हुनु सकारात्मक रहेको बताएका हुन् ।

आफै जलनपीडित समेत रहनुभएकी सांसद कंशाकारले अहिले जलनपीडितलाई उपचारमा सहज भएको बताउनुभयो । “उपचार सहज बनाउन विगतमा मैले पटक–पटक कुरा उठाएँ । संसदमा प्रस्ताव पनि दर्ता गराएँ । तर सुनुवाइ भएको थिएन । तर, अहिले हामीले लामो समयदेखि उठाएको जलनपीडितका समस्या सम्बोधन भएका छन्”, उहाँले भन्नुभयो ।

जलनपीडितको उपचारका पक्षमा आवाज उठाउँदै आउनुभएका अभियन्ता थापाले समस्या धेरै भए पनि अहिले नसक्नेका लागि निःशुल्क उपचार र जलन वार्ड विस्तार महत्वपूर्ण निर्णय भएको बताउनुभयो । अब जलनका घटना नहुन् भनेर सजगता अपनाउन पनि उहाँले ध्यानाकर्षण गराउनुभयो । थापाले रसायन प्रयोग गर्ने सुनचाँदी लगायतका प्रतिष्ठानका कर्मचारीको बिमा गराउन सकिए एसिड दुर्घटना हुँदा राहत पुग्ने बताउनुभयो ।

तनहुँका श्याममणि आचार्यले जलनपीडितका लागि निःशुल्क उपचारको निर्णय उदाहरणीय भएको बताउनुभयो । झापाकी जलनपीडित ज्योति हरिजनले भोग्नेलाई मात्र पीडा थाहा हुने भन्दै अब महङ्गो कस्मेटिकलगायतका उपचारको शुल्क घटाउन पहल हुने आशा व्यक्त गर्नुभयो ।

स्वास्थ्यमन्त्री पौडेलले कसैले पनि आर्थिक अभावका कारण उपचार नपाएर ज्यान गुमाउनु वा अङ्गभङ्ग हुन नपरोस् भनेर निःशुल्क उपचार तथा जलन वार्ड विस्तारका लागि पहल भएको बताउनुभयो ।

“मैले उपचार अभाव तथा ढिलाइ भएका धेरैको पीडा आफूले नभोगे पनि देखेको छु”, उहाँले भन्नुभयोे, “यी समस्या समाधान गर्न बजेटमा नपरे पनि पनि आन्तरिक स्रोतबाट व्यवस्थापन गरेर उपचार सातै प्रदेशमा अनि नसक्नेलाई निःशुल्क बनाएका हौँ ।”

मन्त्री पौडेलले अब विद्युत्का कारण हुने जलनमा विद्युत् प्राधिकरणबाट उपचार वा बिमाका सम्बन्धमा के गर्न सकिन्छ भनेर लागिरहेको बताउनुभयो । कस्मेटिक उपचारमा महङ्गो शुल्क भन्ने गुनासो समाधान गर्नसमेत अनुगमन र नियमन गरिने उहाँको भनाइ थियो ।

चिसो बढेपछि गोठाला बेँसी झरे ,सुनसान ‘बुकीपाटन’

0

ढोरपाटन (बागलुङ): चिसोका कारण गोठाला बेँसी झरेपछि ढोरपाटन बुकीपाटन सुनसान बनेका छन् । असारदेखि कात्तिक पहिलो सातासम्म गोठाला र आन्तरिक तथा बाह्य पर्यटकका कारण चहलपहल बढे पनि यतिबेला भने बुकीपाटनमा सुनसान छ ।

नेपालको एक मात्र सिकार आरक्ष क्षेत्रमा पर्ने बुकीपाटन पछिल्लो समय आन्तरिक र विदेशी पर्यटकको रोजाईमा पर्दै गएको छ । गत असारदेखि असोजसम्म करिब तीन हजार पर्यटक बुकीपाटन पुगेको ढोरपाटन नगरपालिका–९ का गङ्गा पुनले बताउनुभयो ।

बर्खामा चारै तिर हरियाली छाउने, उत्तरतिर हिमाल र पाटनभरी छरिएर रहेका भेडाका बथान हेर्नका लागि पर्यटक पुग्ने गरेका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष तीन गुणाभन्दा बढी पर्यटक बुकीपाटन पुगेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “लामो समय ओझेलमा रहेको बुकीपाटन सञ्चारमाध्यममा प्रचारप्रसार हुन थालेपछि त्यहाँ पुग्ने पर्यटक बढेका छन् । बुकीपाटनमा विदेशी पर्यटक ल्याउन सके यस क्षेत्रका नागरिकको जीवनस्तर परिवर्तन हुने थियो, ढोरपाटन उपत्यकादेखि बुकीपाटन पुग्ने पदमार्गलगायतका पूर्वाधार निर्माण गर्न सके धेरै बुकीमा पर्यटकको सङ्ख्या बढाउन सकिन्थ्यो ।”

समुन्द्री सतहदेखि दुई हजार नौ सयदेखि चार हजार पाँच सय मिटरको उचाइमा रहेको बुकी क्षेत्र गोठालाको बास स्थान हो । बर्खामा यहाँ सयौँको सङ्ख्यामा गोठालाहरु हजारौँको सङ्ख्यामा भेडाबाख्रा र गाईभैँसीका साथ अस्थायी गोठ बनाएर बस्छन् ।

ढोरपाटन उपत्यकाका होटल व्यवसायी धीरेन्द्र घर्तीमगरले बुकीपाटन जाने अधिकांश पर्यटकले नजिकबाट गोठालाको जनजीवन देख्न र अनुभूति गर्न पाउने बताउनुभयो । “बुकीपाटन घुम्नका लागि उपयुक्त समय बर्खा यामनै हो, उक्त समयमा बुकी पुग्ने पर्यटकहरु धेरै दिन उतै बिताउने गर्छन्, त्यो ठाउँ जति हेर्यो, उति हेरौँ, हेरौँ लाग्ने खालको छ”, उहाँले भन्नुभयो । बुकीमा गर्पाछेडा, दहखर्क, टीकाधारा, राजवन, स्याचुन, फुर्से देउराली, फागुने देउरालीलगायत रमणीय ठाउँ छन् ।

मधुमेहपीडितमा डायबेटिक रेटिनोपेथीको जोखिम

0

काठमाडौँ: अस्वस्थ्य जीवनशैलीका कारण मधुमेहपीडितको सङ्ख्या बढिरहेको छ । नसर्ने रोगमध्येको एक मधुमेहपीडितमा ‘डायबेटिक रेटिनोपेथी’को जोखिम पनि उत्तिकै हुने गरेको चिकित्सकले बताएका छन् ।

डायबेटिक रेटिनोपेथी आँखाको दृष्टि पर्दा (रेटिना) मा आउने समस्या हो । तिलगङ्गा आँखा प्रतिष्ठानकी रेटिना विशेषज्ञ डा रबा थापाका अनुसार मधुमेहका कारण आँखाको पर्दामा हुने असर नै डायवेटिक रेटिनोप्याथी हो ।

उहाँ भन्नुहुन्छ, “रगतमा सुगरको मात्रा धेरै हुँदा आँखाका पर्दाको रक्त नशाहरुमा यसले असर गर्दै जान्छ त्यसो हुँदा रक्तश्राव हुने, पर्दामा चिल्लो निस्किने, रगत जम्ने, पछि रक्त सञ्चालनमा कमी हुनुका साथै उपचार समयमा नभए पर्दा खुम्चिएर दृष्टि संधैका लागि गुम्ने खतरा पनि हुक्छ ।” लामो अवधिसम्म रगतमा चिनीको मात्रासँगै चिल्लोपन बढ्दै जाँदा रेटिनाको स-साना रक्तनलीमा असर पुर्याउने गर्दछ । उक्त रक्तनलीबाट बोसो, रगत र तरल पदार्थ चुहावट हुँदा रेटिना सुन्निएर दृष्टि धमिलो हुने र रेटिना खुम्चिएर दृष्टि गुम्न सक्ने उहाँको भनाइ छ ।

अन्तर्राष्ट्रिय मधुमेह सङ्घका अनुसार विश्वभरका २० देखि ७९ वर्ष उमेर समूहका १० दशमलव पाँच प्रतिशत वयस्क जनसङ्ख्यामा मधुमेह हुने र त्यसमध्य आधा जनसङ्ख्या मात्र यसबारे जानकार छन् ।

चिकित्सकका अनुसार यो समस्याले आँखाको अगाडि कालो थोपा (भुसुना) जस्तो देखिने, छायाँ जस्तो देखिने, दृष्टि क्षमता कम हुँदै गएको आभास हुने, धमिलो देखिनेलगायतका लक्षणहरु देखाउन सक्छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार स्वस्थ्यकर भोजन, नियमित शारीरिक व्यायाम, सुर्तीजन्य पदार्थको सेवन नगरेमा मधुमेहबाट बच्न सकिन्छ र पूर्वरोकथाम पनि गर्न सकिन्छ । मधुमेह रोग विशेषज्ञ डा दीपक मल्लले मधुमेह भएका सबै बिरामीले आँखाको जाँच गराउनै पर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “डायबेटिक रेटिनोपेथीको समस्या आइसकेको छ भने त छ महिनाको अन्तरालमा जाँच गराउनुपर्छ । मधुमेह भएकाले भने वर्षमा एकपटक जाँच गराएकै हुनुपर्छ ।”

तौल घट्नु, प्यास लागिराख्नु, भोक लागिराख्नु, धमिलो देख्नु, पिसाब लागि राख्नुलगायतका समस्या मधुमेहका लक्षणहरु हुन् । डा मल्लका अनुसार यस्ता खालका लक्षण देखिएको छ भने सुगरको जाँच गराउनुपर्छ ।

“ओपिडीमा आउने केही बिरामीहरु आँखा, मिर्गौला तथा खुट्टासम्बन्धी समस्या लिएर आउने
हुन्छन् । यो भनेको ढिलो भएको अवस्था हो । त्यसैले नियमित सुगरको जाँच, सुगर नियन्त्रणमा राख्ने र चिकित्सक सल्लाअनुसार समयमा फलोअप गरेमा यी समस्याबाट जोगिन सकिन्छ”, डा मल्ल भन्नुहुन्छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा ‘जनसङ्ख्यामा आधारित छनोटमा परेका नसर्ने रोगका भार’ का विषयमा गरेको देशव्यापी अध्ययनले मधुमेहको समस्या आठ दशमलव पाँच प्रतिशतमा रहेको देखाएको छ । करिब १० लाखलाई मधुमेह छ भन्ने यो अध्ययनले आँकलन गरेको छ ।

डा थापाका अनुसार मधुमेह भएका करिब एक तिहाइ बिरामीलाई डायबेटिक रेटनोपेथी देखिन्छ जसमा एक तिहाइ बिरामीलाई तुरुन्त उपचार गर्नुपर्छ । उहाँ कुनै व्यक्तिलाई मधुमेह भएको २० वर्षको अवधिमा पहिलो प्रकारको मधुमेह हुने करिब ९९ प्रतिशतलाई नै डायबेटिक रेटिनोपेथी भएको देखिने बताउनुहुन्छ । साथै दोस्रो प्रकारको मधुमेहमा दुई तिहाइ बिरामीमा डायबेटिक रेटिनोपेथी भइसकेको हुन्छ ।

डा थापा भन्नुहुन्छ, “उच्च रक्तचाप, अनियन्त्रित सुगर, रगतमा चिल्लोको मात्रा बढी छ भने मधुमेह भएको २० वर्ष अगाडि डायबेटिक रेटिनोपेथी देखिन सक्छ । धुमपान गर्ने, रक्तअल्पता भएका, गर्भावस्थामा पनि रेटिनोपेथी छिटो देखिन्छ ।”

मधुमेह रोग लागेपछि आँखाको जाँच पनि गराउनुपर्छ भन्ने धेरैलाई जानकारी नभएकाले धेरैजसो ढिलो अस्पताल आइपुग्छन् । तिलगङ्गा आँखा प्रतिष्ठानमा दैनिक एक सय जना ओपिडीमा आउनेमध्ये औसतमा ५० जनामा यस प्रकारका लक्षण देखिने गरेको छ ।

“खास गरेर वैदेशिक रोजगारीमा जाने युवा उमेरका व्यक्तिहरुमा डायबेटिक रेटिनोपेथी अलि ढिलो भइसकेको अवस्थामा आइरहेका छन् । मधुमेह जँचाउने तर आँखा राम्ररी नजँचाउने भएकाले जटिलता निम्तिएको देखिन्छ”, डा थापाले भन्नुभयो ।

यससम्बन्धी जनचेतना जगाउनका निमित्त तिलगङ्गा आँखा प्रतिष्ठानले विगत वर्षझैँ यस वर्ष पनि ‘डायवेटिक रेटिनोपेथी दिवस’ मनाउँदै छ । अस्पतालले यही कात्तिक २३ गतेदेखि २९ गतेसम्म मधुमेह भएका बिरामीलाई निःशुल्क दर्ता सेवा उपलब्ध गराएको छ भने विपन्न बिरामीलाई उपचार खर्चमा छुटको व्यवस्था गरेको जनाएको छ ।

कोप–२९: राष्ट्रपति पौडेलद्वारा उच्चस्तरीय सत्र सञ्चालन हुने

0

बाकु (अजरबैजान): संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–२९)मा सहभागी हुने क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले आज नेपालको प्रतिनिधित्व गर्दै एक उच्चस्तरीय सत्रको सञ्चालन गर्दै हुनुहुन्छ।

‘पर्वतीय क्षेत्रमा जलवायुजन्य क्षतिको सम्बोधन’ विषयमा केन्द्रित उक्त सत्रमा नेपालले आफ्नो एजेण्डा प्रस्तुत गर्दै विश्व समुदायको ध्यानाकर्षण गराउने योजना बनाएको छ। यसअघि मङ्गलबार नेपालका तर्फबाट राष्ट्रिय मन्तव्य व्यक्त गर्दै राष्ट्रपति पौडेलले हिमालयको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने सन्देश विश्वभर फैलाउन आह्वान गर्नुभएको थियो।

राष्ट्रपति पौडेलले भन्नुभयो, “हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरामा हामीले ध्यान दिनुपर्छ। सेता हिमाल काला पहाडमा परिणत हुँदै जानुले पर्वतीय क्षेत्र मात्र होइन, तल्लो तटीय मुलुकहरू समेत जोखिममा परिरहेका छन् भन्ने सत्यलाई विश्वले बिर्सनु हुँदैन।”

यसै क्रममा मङ्गलबार माल्दिभ्सका राष्ट्रपति डा मोहम्मद मैज्जुसँगको भेटवार्तामा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावमा परेका नेपाल र माल्दिभ्स जस्ता देशहरूले जलवायु वार्ताहरूमा सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको थियो।

राष्ट्रपति पौडेलको नेतृत्वमा यस पटक नेपालले ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’मा सहभागिता जनाएको छ।

अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा राष्ट्रपति पौडेल सोमबार बाकु पुग्नुभएको हो। सम्मेलनमा ४० देशका राष्ट्रप्रमुख वा उपराष्ट्रपति र ३५ देशका प्रधानमन्त्रीसहित विश्वभरका जलवायु परिवर्तन क्षेत्रमा कार्यरत प्रभावशाली नेताहरू छलफल र सहयोगका लागि सहभागी भएका छन्।

मेची-महाकाली राष्ट्रिय उद्धार अभियान भक्तपुरमा, २३१ जनाको उद्धार

0

भक्तपुर: विसं २०८२ भित्र नेपाललाई सडक मानवमुक्त घोषणा गर्ने लक्ष्यका साथ मानव सेवा आश्रमले गत असोज २६ गतेबाट सुरु गरेको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अभियान–२०८१’ मङ्गलबार भक्तपुर आइपुगेको छ ।

यसवर्षको चाडपर्वमा कसैले बस्न नपरोस् सडकमा भन्ने नाराका साथ सुरु भएको अभियानको टोलीलाई भक्तपुरमा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको नेतृत्वको टोलीले स्वागत गरेको छ ।

मानव सेवा आश्रम र आनी छोयिङ डोल्मा फाउण्डेशनको संयुक्त आयोजना सुरु अभियानमा आजसम्म देशभरबाट एक सय ७३ जना पुरुष, ४९ जना महिला र नौ बालबालिकासहित कूल २३१ जनाको उद्धार गरिएको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताउनुभयो ।

संस्था स्थापना भएको १२ वर्षमा पुरुष छ हजार छ सय ३७, महिला चार हजार ८२ गरी १० हजार सात सय २२ जनाको उद्धार गरिएको छ । साथै दुई हजार तीन सय ३६ पुरुष र एक हजार आठ सय ६५ महिला गरी कूल चार हजार दुई सय एक जनाको पारिवारिक पुनःमिलन गराएको उल्लेख गर्दै अध्यक्ष रामजी अधिकारीले आश्रममा हाल एक हजार एक सय २१ पुरुष र सात सय ६९ महिला गरी कूल एक हजार आठ सय ९० जना आश्रित रहेको बताउनुभयो । आश्रमले २७ जना भारतीय नागरिकलाई उद्धार गरी भारतमै पारिवारिक पुनःमिलन गराउन सफल भएको छ ।

अभियानमा सात प्रदेशमध्येबाट कोशीबाट ४४ जना, मधेसबाट ४० जना, बागमतीबाट ५२ जना, गण्डकीबाट ३५, लुम्बिनीबाट ४९ जना, कर्णालीबाट तीन जना र सुदूरपश्चिमबाट आठ जनाको उद्धार गरिएको भन्दै उहाँले भक्तपर र ललितपुरमा अझै उद्धार जारी रहेको उहाँको भनाइ छ ।

अभियानलाई आगामी मङ्सिर २ सम्पन्न गरी ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट अभियानको समापन गरिने बताउँदै उहाँले देशलाई सडक मानवमुक्त बनाउन जिल्ला र प्रदेश प्रदेशले घोषणा गर्न स्थानीय तह र प्रदेश सरकारले भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

अध्यक्ष अधिकारीले भन्नुभयो, “विसं २०८२ भित्र नेपाललाई सडक मानवमुक्त घोषणा गर्ने लक्ष्य लिएका छौँ, काठमाडौँ महानगरपालिकामै समस्या र चुनौती छ, काठमाडौँ महानगरबाट मात्रै तीन दिनमा ४० जनाको उद्धार गरेका छौँ, भक्तपरका चार वटै पालिका, प्रहरी र प्रशासन एवं सरोकाराला निकायले चासो दिँदै सहयोग गरेर सडक मानवमुक्त घोषणा गर्न आग्रह गर्दछौँ ।”

उद्धार अभियानका सहयोगकर्ता एवं गायिका आनिछोइङ डोल्माले अभियानमा रहेका टोलीले सडकमा बेसहारा, अशक्त, असहाय, अभिभावकविहीन, मानसिक तथा सामाजिक रूपमा कमजोर सडक आश्रित मानवलाई उद्धार गर्दै आएको छ । उहाँले भन्नुभयो, “हामी मानव भएर जन्मिएपछि हर मानवमा करुणा भाव हुन आवश्यक छ, । हामीले गर्ने व्यवहार र बोल्ने बोली सधँै सकारात्मक हुनुपर्छ । सम्भव छ ।”
उहाँले राज्यका तीन वटै सरकारले सहकार्य गर्ने, जिल्ला जिल्लामा हातेमालो गर्ने, सडकमा सडक मानव देखिने वित्तिकै अश्रमलाई खबर गरेर उद्धार गर्ने र सबै निकायबाट सकारात्मक सहयोग प्राप्त हँदा ०८२ मा नेपाललाई सडक मानवमुक्त बनाउन सकिने बताउनुभयो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी अर्यालले राज्यका सबै निकायले अभिभावकत्व ग्रहण गर्नुपर्ने बताउँदै भक्तपुरलाई सडक मानवमुक्त बनाउन आफ्नो तर्फबाट सम्पूर्ण सहयोग गर्ने धारणा राख्नुभयो । अभियन्ता नवराज काफ्लेले आगामी पुसभित्र भक्तपुरलाई सडक मानवमुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय सरकारहरु जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

जिल्ला समन्वय समिति भक्तपुरका उपप्रमुख सुजाता बाडे, सूर्यविनायक नगरपालिकाका प्रशासकीय प्रमुख तारानाथ लुइँटेललगायतले सरकारले चाल्नुपर्ने अभियान संस्थाले चालेको भन्दै यसलाई सफल पार्न स्थानीय सरकारले सहयोग गर्ने बताउनुभयो ।

साउदी अरबमा इस्लामिक राष्ट्रहरूका नेताहरूको भेला

0

काठमाडौं: अरब र मुस्लिम देशका नेता सोमबार साउदी अरेबियाको राजधानी रियाद पुगेका छन् । यो सम्मेलन गाजा र लेबनानमा इजरायलसँग चलिरहेको युद्धमा केन्द्रित छ।

साउदी अरेबियाको सरकारी मिडिया एजेन्सी वाफाका अनुसार ” प्यालेस्टाइन र लेबनानी क्षेत्रहरूमा क्रूर इजरायली आक्रमणहरू सहित बढ्दो हिंसाले अरब र इस्लामिक नेताहरूलाई तत्काल कदम चाल्न बाध्य बनाएको छ।”

यस सम्मेलनको मुख्य प्राथमिकता प्यालेस्टाइन र लेबनानी क्षेत्रमा इजरायली आक्रमण रोक्न, आम जनताको सुरक्षा र क्षेत्रमा शान्ति र स्थायित्व स्थापना गर्न अन्तर्राष्ट्रिय समुदायलाई दबाब दिनु रहेको छ।

रियादमा हुन लागेको सम्मेलनमा सहभागी हुन पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ पनि साउदी अरब पुगेका छन् ।

“म रियाद पुगेको छु, जहाँ म गाजामा द्रुत रूपमा बिग्रँदै गएको अवस्थाबारे छलफल गर्न र प्यालेस्टिनीहरूको अधिकारको लागि बोल्न संयुक्त अरब इस्लामिक शिखर सम्मेलनमा सहभागी हुनेछु,” उनले ट्वीटरमा लेखेका छन् ।

उक्त कार्यक्रममा पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक दार पनि सहभागी हुँदैछन् ।

सन् २०२४ अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बन्ने

0

काठमाडौं: संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) ले सन् २०२४ विश्वकै सबैभन्दा तातो वर्ष हुने बताएको छ ।

डब्ल्यूएमओका अनुसार जनवरी र सेप्टेम्बर बीचको विश्वव्यापी औसत तापक्रम १९ औं शताब्दीको अन्त्यतिरको तापक्रमभन्दा करिब १.५४ डिग्री सेल्सियस बढी रहेको छ।

२०१५ मा पेरिसमा, लगभग २०० देशहरूले जलवायु परिवर्तनको सबैभन्दा खराब प्रभावलाई कम गर्ने आशामा बढ्दो तापक्रमलाई सीमित गर्ने प्रयास गर्ने वाचा गरे।

तर संयुक्त राष्ट्र संघ भन्छ कि १.५ डिग्री सेल्सियस लक्ष्य अझै तोडिएको छैन किनभने यसले दीर्घकालीन औसत प्रतिबिम्बित गर्दछ।

आफ्ना कडा आलोचक मार्को रुबियोलाई ट्रम्पले आफ्नो सरकारमा उच्च पद दिने सम्भावना

0

काठमाडौं: अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका कडा आलोचक मार्को रुबियोले ट्रम्पको प्रशासनमा महत्वपूर्ण पद पाउन सक्नेछन् । यो यसअघि कसैले नसोचेको निर्णय हुन सक्नेछ।

मार्को रुबियो सन् २०१६ देखि आफ्नो राजनीतिक करियरमा निरन्तर प्रगति गर्दै आएका छन् । उनी सन् २०१० देखि अमेरिकी सिनेटको सदस्य छन्। उनी २०१६ मा रिपब्लिकन पार्टीको राष्ट्रपति पदको उम्मेदवारीको लागि चुनाबी मैदानमा उत्रिएदेखि नै ट्रम्पको प्रमुख आलोचक बनेका थिए।

ट्रम्पले सार्वजनिक रूपमा उनलाई “लिटिल मार्को” भन्ने गरेका थिए, जबकि मार्कोले ट्रम्पलाई “स्मल ह्याण्ड्स” भन्थे। पछि, मार्को र ट्रम्पबीचको सम्बन्धमा सुधार भयो र मार्कोले पनि ट्रम्पसँग चुनावी प्रचार गरे।

रिपोर्टका अनुसार ५३ वर्षीय मार्को रुबियोलाई ट्रम्प प्रशासनमा विदेशमन्त्री बनाउन सकिन्छ । विदेशमन्त्री अमेरिकी सरकारको शीर्ष पदमा पर्छ।

मन्त्रिपरिषद् पुनर्गठनको तयारी, गृहमन्त्रीको लागि पहिलो रोजाइमा गगन थापा

0

काठमाडौं: सत्ता साझेदार दलका शीर्ष नेताहरूले केही मन्त्रीहरूसँग असन्तुष्टि जनाउँदै र केही नेतालाई मन्त्री बनाउने दबाब बढेपछि मन्त्रिपरिषद्मा व्यापक हेरफेरको तयारी सुरु भएको छ।

मन्त्री फेरबदलको पहिलो प्राथमिकतामा गृह मन्त्रालय परेको छ। कतिपय मन्त्रीले सरकार गठनको उद्देश्यअनुसार काम नगरेको र पार्टीभित्रको सन्तुलन कायम गर्नुपर्ने आवश्यकताले मन्त्रिपरिषद् हेरफेरको छलफल अघि बढाइएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कोटाबाट मन्त्री बनेका केही सदस्यहरूले अपेक्षाअनुरूप काम नगरेको भन्दै उनीहरूको विकल्प खोज्ने तयारी गरेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले पनि पार्टीभित्र सन्तुलन मिलाउन केही मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने तयारीमा रहेको स्रोतले जनाएको छ।

सभापति देउवाले गृहमन्त्री रमेश लेखक र पर्यटन मन्त्री बद्री पाण्डेलाई फिर्ता बोलाएर उनीहरूको स्थानमा नयाँ मन्त्री पठाउने विषयमा पनि छलफल अघि बढाएको स्रोत बताउँछ। देउवाले गृहमन्त्रीमा महामन्त्री गगन थापालाई ल्याउने तयारी गरिरहेका छन्। यसबारेमा प्रधानमन्त्री ओलीलाई भने कांग्रेसले औपचारिक जानकारी दिएको छैन।

गृहमन्त्री लेखकसँग प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री आरजू देउवा दुवै असन्तुष्ट रहेको जनाइएको छ। लेखकमाथि असन्तुष्टिका साथै देउवामाथिको दबाबका कारण गृहमन्त्री परिवर्तनको सम्भावना बढेको हो।

एमालेबाट पनि केही मन्त्री हट्न सक्ने चर्चा छ। स्रोतका अनुसार कांग्रेसका दुई र एमालेका चार मन्त्री हटाइने सम्भावना छ।

सरकारको आलोचना सत्ता साझेदार दलकै नेताहरूबाट बढेपछि प्रधानमन्त्री ओलीलाई चीन भ्रमण अघि नै मन्त्री हेरफेर गर्नुपर्ने दबाब बढेको छ। यद्यपि, भ्रमण अघि मन्त्री परिवर्तनको सम्भावना कम देखिए पनि भ्रमणपछि भने फेरबदल हुने अपेक्षा गरिएको छ।

देउवाले पार्टीभित्र सन्तुलन मिलाउन गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डेको विकल्प खोज्नुपर्ने दबाब महसुस गरिरहेका छन्। यसैबीच, गृहमन्त्री लेखकले सहकारी ठगी प्रकरणमा उपसभापति धनराज गुरुङलाई नपक्रेको आरोपमा आलोचना भोगिरहेका छन्।

पर्यटनमन्त्री पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मर्मतको नाममा दैनिक १० घण्टासम्म संचालन रोक्दा आलोचना खेप्नुपरेको छ। यसैगरी, वायुसेवा भाडा झण्डै दोब्बर हुँदा पनि नियन्त्रण नगरेको भन्दै उनको चर्को आलोचना भइरहेको छ।

एमालेका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी हट्न सक्ने सूचीमा परेका छन्।