दमौली (तनहुँ): तनहुँको चर्चित पर्यटकीय क्षेत्र बन्दीपुरमा पर्यटकहरूको बसाइ लम्ब्याउने र आकर्षण बढाउने उद्देश्यले सुरु गरिएको मुकुन्देश्वरी पदमार्ग निर्माणले तीव्रता पाएको छ। बन्दीपुर गाउँपालिका–२ को थानीमाई मन्दिरबाट सुरु भएको यो पदमार्गलाई ‘मिनी ग्रेटवाल’को रूपमा समेत प्रचार गरिएको छ, जसले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।
थानीमाई मन्दिरबाट सुरु भएर चुलीडाँडामा टुङ्गिने यो पदमार्गलाई आगामी दिनमा मुकुन्देश्वरी गढीसम्म विस्तार गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो। थापाका अनुसार, “बन्दीपुर विदेशी र स्वदेशी पर्यटकहरूका लागि आकर्षक गन्तव्य हो। हामी यहाँ नयाँ गन्तव्यहरू थपेर पर्यटकहरूको बसाइ लम्ब्याउने र स्थानीय अर्थतन्त्र प्रवर्द्धन गर्ने लक्ष्य राख्दैछौँ।”
हाल पदमार्ग निर्माण अन्तर्गत दुवैतर्फ पर्खाल लगाउने, सिँढी बनाउने र पर्खालको दायाँबायाँ भित्तामा स्लेट ढुङ्गा छाप्ने काम भइरहेको छ। केही समय ढिलाइ भए पनि गाउँपालिकाको पहलपछि कामको गति बढेको छ। अध्यक्ष थापाका अनुसार, २ किलोमिटर लम्बाइको यस पदमार्गको हालसम्म ८० प्रतिशत काम सम्पन्न भइसकेको छ। गाउँपालिकाले गुरुयोजना अनुसार थप संरचनाहरू निर्माण गर्न १९ करोड रुपैयाँको बजेट छुट्याएको छ।
बन्दीपुरलाई थप आकर्षक बनाउने योजनामा थानीमाई मन्दिर, उद्यान, सेल्फी पार्क, प्याराग्लाइडिङ स्थल, नौ मिटर अग्लो बन्दीपुर शिलालेख, घोडा सवारी स्थल, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्क लगायत संरचनाहरूको निर्माण पनि समावेश गरिएको छ। अध्यक्ष थापाले विश्वको प्रसिद्ध ग्रेटवालको झल्को दिने यो पदमार्गले यहाँको पर्यटन विकासमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो। मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको ऐतिहासिक स्थल हो, जसका कारण यस पदमार्गलाई ‘मुकुन्देश्वरी पर्खाल’ नाम दिइएको छ। तीन मिटर चौडाइमा निर्माण भइरहेको यो पर्खालले बन्दीपुरमा आउने वार्षिक एक लाखभन्दा बढी पर्यटकहरूको बसाइ लम्ब्याउन भूमिका खेल्ने अपेक्षा गरिएको छ।
बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बन्दीपुर घुम्न आउने पर्यटकहरूको बसाइ लम्ब्याउन सके पर्यटन व्यवसायलाई थप प्रोत्साहन मिल्ने र स्थानीयवासीको आयस्तर पनि वृद्धि हुने बताउनुभयो।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण बन्दीपुरमा भक्तपुर शैलीका घरहरू, थानीमाई मन्दिर, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर र सूचना केन्द्रजस्ता स्थलहरू पर्यटकका आकर्षणको केन्द्र बनेका छन्। यहाँबाट अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरि लगायतका हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ, जसले बन्दीपुरको प्राकृतिक छटा थप सुन्दर बनाएको छ।
बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीट्जरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटकहरूको आगमन भइरहेको तथ्याङ्क रहेको अध्यक्ष प्रधानले जानकारी दिनुभयो।
तनहुँ सदरमुकाम दमौलीबाट १८ किलोमिटरको यात्रा तय गरेर डुम्रे हुँदै आठ किलोमिटर उकालो पार गरेपछि बन्दीपुर पुग्न सकिन्छ, जहाँबाट मनोरम हिमाल र पहाडहरूको दृश्यावलोकन गर्न सकिन्छ।