Friday, June 19, 2026
Homeराजनीतिमन्त्रिपरिषद् पुनर्गठनको तयारी, गृहमन्त्रीको लागि पहिलो रोजाइमा गगन थापा

मन्त्रिपरिषद् पुनर्गठनको तयारी, गृहमन्त्रीको लागि पहिलो रोजाइमा गगन थापा

काठमाडौं: सत्ता साझेदार दलका शीर्ष नेताहरूले केही मन्त्रीहरूसँग असन्तुष्टि जनाउँदै र केही नेतालाई मन्त्री बनाउने दबाब बढेपछि मन्त्रिपरिषद्मा व्यापक हेरफेरको तयारी सुरु भएको छ।

मन्त्री फेरबदलको पहिलो प्राथमिकतामा गृह मन्त्रालय परेको छ। कतिपय मन्त्रीले सरकार गठनको उद्देश्यअनुसार काम नगरेको र पार्टीभित्रको सन्तुलन कायम गर्नुपर्ने आवश्यकताले मन्त्रिपरिषद् हेरफेरको छलफल अघि बढाइएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कोटाबाट मन्त्री बनेका केही सदस्यहरूले अपेक्षाअनुरूप काम नगरेको भन्दै उनीहरूको विकल्प खोज्ने तयारी गरेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले पनि पार्टीभित्र सन्तुलन मिलाउन केही मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने तयारीमा रहेको स्रोतले जनाएको छ।

सभापति देउवाले गृहमन्त्री रमेश लेखक र पर्यटन मन्त्री बद्री पाण्डेलाई फिर्ता बोलाएर उनीहरूको स्थानमा नयाँ मन्त्री पठाउने विषयमा पनि छलफल अघि बढाएको स्रोत बताउँछ। देउवाले गृहमन्त्रीमा महामन्त्री गगन थापालाई ल्याउने तयारी गरिरहेका छन्। यसबारेमा प्रधानमन्त्री ओलीलाई भने कांग्रेसले औपचारिक जानकारी दिएको छैन।

गृहमन्त्री लेखकसँग प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री आरजू देउवा दुवै असन्तुष्ट रहेको जनाइएको छ। लेखकमाथि असन्तुष्टिका साथै देउवामाथिको दबाबका कारण गृहमन्त्री परिवर्तनको सम्भावना बढेको हो।

एमालेबाट पनि केही मन्त्री हट्न सक्ने चर्चा छ। स्रोतका अनुसार कांग्रेसका दुई र एमालेका चार मन्त्री हटाइने सम्भावना छ।

सरकारको आलोचना सत्ता साझेदार दलकै नेताहरूबाट बढेपछि प्रधानमन्त्री ओलीलाई चीन भ्रमण अघि नै मन्त्री हेरफेर गर्नुपर्ने दबाब बढेको छ। यद्यपि, भ्रमण अघि मन्त्री परिवर्तनको सम्भावना कम देखिए पनि भ्रमणपछि भने फेरबदल हुने अपेक्षा गरिएको छ।

देउवाले पार्टीभित्र सन्तुलन मिलाउन गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डेको विकल्प खोज्नुपर्ने दबाब महसुस गरिरहेका छन्। यसैबीच, गृहमन्त्री लेखकले सहकारी ठगी प्रकरणमा उपसभापति धनराज गुरुङलाई नपक्रेको आरोपमा आलोचना भोगिरहेका छन्।

पर्यटनमन्त्री पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मर्मतको नाममा दैनिक १० घण्टासम्म संचालन रोक्दा आलोचना खेप्नुपरेको छ। यसैगरी, वायुसेवा भाडा झण्डै दोब्बर हुँदा पनि नियन्त्रण नगरेको भन्दै उनको चर्को आलोचना भइरहेको छ।

एमालेका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी हट्न सक्ने सूचीमा परेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका