Friday, June 19, 2026
Home Blog Page 644

बिनाभिसा नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुई बङ्गलादेशी नागरिक पक्राउ

0

झापा: प्रवेशाज्ञा बिना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुई जना बङ्गलादेशी नागरिक काँकडभिट्टाबाट पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलको सतिघट्टा बोर्डर आउट पोस्टको टोलीले उनीहरुलाई बुधबार साँझ पक्राउ गरेको हो ।

आफ्नो परिच खुल्ने कुनै कागतपत्र नभएका उनीहरुका साथबाट एक हजार पाँच सय टाका र दुई थान मोवाइल बरामद भएको सशस्त्र प्रहरी बल २ नं. गणका सूचना अधिकारी महेशराज बिष्टले बताउनुभयो । उनीहरुलाई काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा बुझाएको छ । उक्त कार्यालयले आज उनीहरुलाई काठमाडौंस्थित अध्यागमन विभाग पठाउने जनाएको छ ।

कांग्रेस उपसभापति गुरुङसँग सहकारी रकम अपचलनका विषयमा सोधपुछ

0
फाइल फोटो

काठमाडौँ: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग सोधपुछ गरेको छ ।

लाजिमपाटस्थित सिआइबीको कार्यालयमा बुधबार उहाँसँग मितेरी सहकारीको बचत रकम अपचलनका विषयमा उठेका प्रश्नका विषयमा सोधपुछ गरिएको ब्यूरो प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले राससलाई जानकारी दिनुभयो ।

बयान लिएपछि उहाँसँग घटना विवरण कागजसमेत गराइएको सिआइबीले जनाएको छ । ललितपुरमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रु १२ करोड ५० लाख रकम अपचलन भएको निवेदन परेपछि सिआइबीले अनुसन्धान गरिरहेको छ । सोहीक्रममा उपसभापति गुरुङसँग बुधबार सोधपुछ गरिएको हो ।

नेपाल यू-१९ महिला विश्वकपमा छनोट

0

काठमाडौँ: नेपालको महिला यू-१९ टोलीले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गर्दै आगामी जनवरी-फेब्रुअरीमा मलेसियामा हुने आइसिसी यू-१९ विश्वकपका लागि छनोट पक्का गरेको छ।

आइसिसी यू-१९ महिला टी–२० विश्वकपको एसिया छनोटअन्तर्गत अन्तिम तथा निर्णायक खेलमा नेपालले युएईलाई ८ विकेटले हरायो र रनरेटमा सुधार गर्दै विश्वकपमा स्थान सुरक्षित गर्यो। चार टोलीबीचको छनोटमा नेपाल र युएई दुवैले १०-१० अंकका साथ ५-५ खेल जिते। नेपालको रनरेट ३.९ रहेको थियो भने युएईको ३.७, जसले गर्दा नेपाल अघि रह्यो।

दुवै टोलीले एक-एक खेल गुमाए। पहिलो चरणमा युएईले नेपाललाई पराजित गरेको भए पनि, बुधबारको खेलमा नेपालले जित निकालेर रनरेटमा अग्रता बनायो।

अन्तिम खेलमा युएईले दिएको ८४ रनको लक्ष्य नेपालले २ विकेटको क्षतिमा १४.४ ओभरमै पूरा गर्‍यो, जसले नेपाललाई रनरेटमा फाइदा गरायो। ओपनर सना प्रवीनले नटआउट ३५ रन र सोनी पाख्रिनले नटआउट १३ रन बनाउँदै टोलीलाई जित दिलाए। अर्की ओपनर सावित्री धामीले १२ रन र कप्तान पूजा महतोले १८ बलमा २१ रनको योगदान दिइन्।

यसअघि, अजमानको द सेभेन्स रंगशालामा टस जितेर ब्याटिङ गरेको युएईले २० ओभरमा ९ विकेट गुमाएर ८३ रन मात्र बनायो। युएईका लागि समइरा धर्नीधर्काले सबैभन्दा बढी ३१ रन जोडे। बलिङमा नेपालकी कृष्मा गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा १७ रन दिएर चार विकेट लिइन्। यसमा उनले १८औं ओभरमा तीन विकेट लिँदै खेल नेपालतर्फ मोडिन्। रिया शर्मा र सीमा केसीले पनि नेपालका लागि दुई-दुई विकेट लिए।

एसिया छनोटमा शीर्ष स्थान हासिल गर्ने टोली विश्वकपमा छनोट हुने प्रावधानअनुसार नेपाल सफल भयो। यसअघि नेपालले थाइल्याण्डलाई ६७ रनले, कुवेतलाई १०८ रनले, र थाइल्याण्डलाई चौथो खेलमा १०६ रनले पराजित गरेको थियो। यस्तै, अन्तिम खेलमा कुवेतलाई १६५ रनको फराकिलो अन्तरले हरायो।

अब नेपालले मलेसियामा हुने विश्वकपमा समूह ‘डी’ मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। सन् २०२३ देखि सुरु भएको यू-१९ महिला विश्वकपको यो दोस्रो संस्करण हो, र नेपाली महिला युवा टोलीको लागि यो पहिलो विश्वकप सहभागिता हुनेछ।

ट्रम्पको जितले एलन मस्कलाई फलिफाप: एक सातामा ट्रम्पको कुल सम्पतिको १० गुणा कमाइ

0

काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको अप्रत्याशित जितले एलन मस्कका लागि ठूलो फाइदा पुर्‍याउने संकेत देखिएको छ। टेस्ला र एक्सका सीईओ मस्कले ट्रम्पको चुनाव अभियानमा ठुलो रकम खर्च गर्दै साथ दिएका थिए, जसको फलस्वरूप ट्रम्पको जितपछि मस्कको सम्पत्तिमा उल्लेखनीय वृद्धि भएको छ।

फोर्ब्सको रियल-टाइम बिलियनियर्स इन्डेक्सका अनुसार, ट्रम्पको जितअघि मस्कको कुल सम्पत्ति २६२ अर्ब डलर थियो, जुन मंगलबार बढेर ३०८ अर्ब डलर पुगेको छ। तुलना गर्दा ट्रम्पको सम्पत्ति करिब ५.६ बिलियन डलर रहेको छ, जुन मस्कको हालको सम्पत्तिभन्दा झण्डै १० गुणा कम हो। मस्कले यो वृद्धि सात दिनमै हासिल गरेका हुन्, जसले विश्वकै धनी व्यक्तिको रूपमा उनको स्थानलाई अझ सुदृढ बनाएको छ।

ट्रम्पको जितपछि मस्कको ईभी कम्पनी टेस्लाको शेयरमा भारी वृद्धि भएको छ, जसमा ३९ प्रतिशतले वृद्धि भएको र कम्पनीको बजार मूल्य एक ट्रिलियन डलरले बढेको छ। यस घटनाले ट्रम्प-मस्क सम्बन्धलाई थप मजबुत बनाएको देखिन्छ, किनकि मस्कले ट्रम्पको अभियानका लागि समर्थनमात्र दिएनन्, आफ्नो सोशल मिडिया प्लेटफर्म एक्सको पनि अधिकतम उपयोग गरेर प्रचार गरेका थिए।

यसैबीच, ट्रम्पले मस्कलाई आफ्नै सरकारको हिस्सा बनाउने योजना सार्वजनिक गरेका छन्। मस्कलाई सरकारमा सामेल गराउने घोषणा गर्दै, ट्रम्पले सरकारी दक्षता सुधार्न नयाँ मन्त्रालयको स्थापना गर्ने निर्णय लिएका छन्, जसको नेतृत्व मस्कलाई दिइनेछ। ट्रम्पको यो कदमले सरकारी संरचना पुनर्गठन र खर्चमा कटौती गर्ने योजना सफल पार्न मस्कको नवप्रवर्तन र व्यवस्थापकीय क्षमताको उपयोग गर्ने उद्देश्य देखिन्छ।

थप रूपमा, मस्कलाई सरकारमा सामेल गराउँदा उनको व्यापारिक हितलाई प्रत्यक्ष फाइदा पुग्ने अनुमान गरिएको छ। विभिन्न मिडिया रिपोर्टहरूमा भनिएअनुसार, मस्क अब ट्रम्प प्रशासनको नीति निर्माण प्रक्रियामा प्रत्यक्ष प्रभाव राख्न सक्नेछन्, जसले ट्रम्पको आर्थिक नीतिहरूमा उनको कम्पनीहरूलाई अनुकूलता प्रदान गर्न सक्छ।

ट्रम्प-मस्क सहकार्यले ट्रम्प सरकारको नीति र मस्कको व्यवसायिक योजनाहरूलाई एकै साथ अघि बढाउने सम्भावना बलियो बनाएको छ।

डोनाल्ड ट्रम्पले आफ्नो सरकारका अधिकांश महत्वपूर्ण पदमा नियुक्ति घोषणा गरे

0

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो परिषदमा उच्च पदहरूमा महत्वपूर्ण नियुक्तिहरूको घोषणा गरेका छन्।

अमेरिकी रक्षामन्त्री, सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) प्रमुख, र ह्वाइट हाउस काउन्सिलमा प्रमुख पदाधिकारी नियुक्त गर्दै ट्रम्पले आफ्ना प्रशासनका प्राथमिकताहरू स्पष्ट गरेका छन्। भारतीय मूलका विवेक रामास्वामी र एलन मस्कलाई सरकारी दक्षता विभागको जिम्मेवारी सुम्पिंदै, उनले सरकारी प्रणालीलाई थप चुस्त-दुरुस्त बनाउन चाहेको संकेत दिएका छन्।

ट्रम्पले रामास्वामी र मस्कको भूमिकालाई विशेष रूपमा महत्व दिएर भने, “यी दुई उत्कृष्ट अमेरिकीहरूले सरकारी नोकरशाहीको अवरोध हटाउँदै, अनावश्यक फोहोरलाई घटाउने र संघीय एजेन्सीहरूको पुनर्गठनमा महत्त्वपूर्ण योगदान दिनेछन्। यो सेभ अमेरिका आन्दोलनको महत्वपूर्ण हिस्सा हुनेछ।”

रक्षामन्त्रीको रूपमा ट्रम्पले पीट हेगसालाई नियुक्त गरेका छन्, जो एक पूर्व सैनिक अधिकारी हुन् र सैनिकहरूको हितमा काम गर्ने एक प्रमुख संगठनका प्रमुख भइसकेका छन्। हाल उनी फक्स न्युजको होस्टको रूपमा लोकप्रिय छन्। हेगसाको नियुक्तिमा ट्रम्पले थपे, “पीट अमेरिका फर्स्ट नीतिमा दृढ विश्वास राख्ने व्यक्ति हुन्। उनको नेतृत्वमा, अमेरिकी सैन्यशक्तिलाई पुनः बलियो बनाउने काम हुनेछ र अमेरिकाले कहिल्यै पछि हट्ने छैन भन्ने स्पष्ट सन्देश दिनेछ।”

सीआईए प्रमुखको रूपमा ट्रम्पले पूर्व नेशनल इन्टेलिजेन्सका निर्देशक जोन रेटक्लिफलाई नियुक्त गरेका छन्। रेटक्लिफको नियुक्तिमा उनले भने, “जोन रेटक्लिफले सदैव अमेरिकी जनताका लागि सत्य र इमान्दारीपूर्वक काम गरेका छन्, र नयाँ जिम्मेवारीमा पनि उनी यही मूल्यलाई आत्मसात गर्नेछन्।”

ह्वाइट हाउस काउन्सिलको रूपमा विलियम जोसेफ म्याकगिन्लेको नियुक्ति गर्दै ट्रम्पले भने, “विलियम एक योग्य, दृढ र निडर वकिल हुन्। उनको कानूनी विशेषज्ञताले अमेरिका फर्स्ट नीतिलाई अझ सशक्त बनाउनेछ।”

यी नियुक्तिहरूको साथमा ट्रम्पले आफ्नो प्रशासनमा नयाँ युगको शुरुवात गर्दै सरकारी संरचनालाई थप प्रभावकारी र चुस्त बनाउन चाहेका छन्।

१५ दिनभित्र बक्यौता नबुझाए फेरि लाइन काट्छौं : कुलमान घिसिङ

0

काठमाडौं: नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र विद्युतको बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन फेरि काट्ने चेतावनी दिएका छन्।

बुधवार पत्रकार सम्मेलन गर्दै घिसिङले बक्यौता उठेन भने प्रक्रियाअनुसार अघि बढ्ने स्पष्ट गरेका हुन्।

घिसिंङले भने, ‘सरकारले गरेको निर्णयलाई मान्नु प्राधिकरणको कर्तव्य हो। हामीले कानुनबमोजिम लाइन काटेको भए पनि सरकारले जोड्नु भन्यो, हामीले मान्यौं। अब सरकारको निर्देशन अनुरूप १५ दिनमा फेरि उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्छौं।’

घिसिंङले पत्रकार सम्मेलनमा आफूलाई राजनीति गरेको आरोप लागेको बताउदै आफ्नो उद्देश्य देशको हित मात्र रहेको बताएका छन्। उनले आफुले लोकप्रियताका लागि कुनै काम नगरेको स्पष्ट गर्दै देशको कानुन अनुसार संस्थाको हित र देशको हितका लागि काम गरिरहेको बताए।

आफुमाथि लागेका आरोपबाट आफु विचलित नहुने बताउदै प्राधिकरणको प्रयासमा सबै क्षेत्रको साथ पाउने अपेक्षा गरेका छन्।

सीआइबीले लियो धनराज गुरुङसँग बयान

0

काठमाडौं: नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले सहकारीको रकम अपलचनबारे बयान लिएको छ। सीआइबीले गुरुङलाई बुधबार मितेरी सहकारीको १४ करोड हिनामिनाको आरोप सम्बन्धी बयानमा कागज गराएको हो।

सीआइबी पुगेका गुरुङसँग उनकी पूर्व पत्नि ज्योति गुरुङले अपचलन गरेको रकम, सहकारीबाट लिएको ऋण, र उनले भुक्तान गरेको भनिएको ९२ लाख सम्बन्धि सोधपुछ गरेको बताइएको छ। गुरुङकी श्रीमती ज्योति गुरुङ २०५७ साल देखि सहकारीको कर्मचारी रहेको र २०७५ सालमा कार्यकारी प्रमुख रहेकी थिइन।

ज्योति गुरुङको नाममा सहकारीबाट १ करोड १३ लाख ऋण प्रवाह भएको थियो । ज्योतिले १ करोड १३ लाख तिरेको देखिए पनि ८४ लाखको दायित्व धनराजले लिएका थिए। धनराज आफैले ज्योतिसँग सम्बन्ध विच्छेद हुँदा ज्योतिले सम्पति नलिने र धनराजले सहकारीको ऋण तिर्ने सहमती भएको बताएका छन्। धनराजले आफू सहकारीका जोडिनु र श्रीमतिसँग भएको सम्बन्धविच्छेदबारे बयान दिएको बुझिएको छ।

सहकारी सम्बन्धी छानबिन गर्न बनेको विषेश समितिले पनि आफनो प्रतिवेदनमा धनराजमाथि छानबिन गर्नु पर्ने राय दिएको थियो। उनको पूर्वपत्नि ज्योति गुरुङ र अर्का आरोपी ज्योति बहादुर भण्डारीविरुद्ध इन्टरपोल मार्फत रेड नोटिस जारी भैसकेको छ। मितेरी सहकारीका संचालक समितिले दिएको उजुरीआधारमा धनराजमाथि छानबिन सुरु भएको हो।

ट्रम्पद्वारा एलन मस्कलाई विशेष पदमा नियुक्त

0

काठमाडौं: अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डिओजीई) प्रमुखको रूपमा नियुक्त गरेका छन्। यो नवनिर्मित विभागको उद्देश्य सरकारी संरचनालाई थप प्रभावकारी बनाउँदै सार्वजनिक खर्चलाई कटौती गर्नु रहेको छ। यद्यपि यो पद औपचारिक क्याबिनेटको हिस्सा होइन, यसको भूमिकाले ट्रम्प प्रशासनलाई महत्वपूर्ण सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

राष्ट्रपति ट्रम्पको चुनावी अभियानमा सक्रिय रूपमा समर्थन जनाएका मस्कलाई सरकारको कामकाज चुस्त बनाउन महत्वपूर्ण जिम्मेवारी दिइएको छ। यस नियुक्तिमा मस्कले ट्रम्प नेतृत्वको प्रशासनलाई दक्षतामा सुधार ल्याउन सघाउने छन्। मस्कसँगै भारतीय मूलका उद्यमी विवेक रामास्वामीलाई पनि डिओजीईको उपप्रमुखका रूपमा नियुक्त गरिएको छ।

ट्रम्पले नियुक्तिसम्बन्धी विज्ञप्ति जारी गर्दै एलन मस्कलाई ‘महान एलन मस्क’ र विवेक रामास्वामीलाई ‘देशभक्त अमेरिकी’ भनी सम्बोधन गरेका छन्। आफ्नो नियुक्तिबारे जानकारी पाएपछि रामास्वामीले आक्रामक कार्यशैली अपनाउने प्रतिबद्धता जनाएका छन्। उनले भने, “हामी नरम रूपमा प्रस्तुत हुने छैनौं।”

ट्रम्पको ‘सेभ अमेरिका’ अभियानअन्तर्गत सरकारी खर्चमा कटौती गर्न, अनावश्यक विभागहरू हटाउन र अप्रासंगिक नियमकानुनलाई संशोधन गर्न मस्क र रामास्वामीले प्रत्यक्ष भूमिका खेल्नेछन्। ट्रम्पको योजना सरकारी निकायहरूको संख्यालाई घटाएर प्रभावकारी र मितव्ययी संरचना निर्माण गर्नु हो। यस अभियानले सरकारी दक्षता र जनताको विश्वासमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

यसै सन्दर्भमा, राष्ट्रपति ट्रम्पले फ्लोरिडाका सांसद माइक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकार र मार्को रुबियोलाई विदेश मन्त्रीको जिम्मेवारी दिने घोषणा गरेका छन्। पछिल्लो समय ट्रम्पले आफ्नो प्रशासनलाई दक्ष, सशक्त, र जनमुखी बनाउने अभिप्रायले एकपछि अर्को उच्च-स्तरीय नियुक्ति गर्दै आएका छन्।

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन लाग्नुपर्छः महासचिव पोखरेल

0

मोरङ: नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन सबै लाग्नुपर्ने बताउनुभएको छ ।

एमाले मोरङ जिल्ला कमिटीद्वारा आज ग्रामथान गाउँपालिकामा आयोजित कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रममा उहाँले ‘मिसन ८४’ मा पार्टीलाई बहुमतका साथ विजयी बनाउन आजैदेखि कार्यकर्ता सङ्गठित भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

महासचिव पोखरेलले एमालेको नीतिलाई राष्ट्रको नीति बनाउन आगामी निर्वाचनमा विजयी बनाउन सकेमात्र मुलुकमा विकासले गति लिने दाबी गर्नुभयो ।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमालेको लोकप्रियताकै कारण विगतको उपनिर्वाचनमा पार्टीका उम्मेदवारले पूर्वको इलाम र पश्चिममा समेत विजयी भएको बताउनुभयो । उहाँले वर्तमान सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाको विकल्प नभएकाले यसलाई संस्थागत गर्नुपर्नेमा सबैको सहयोग आवश्यक रहेको धारणा राख्नुभयो ।

एमाले कोशी प्रदेश इञ्चार्ज शेरधन राई र प्रदेश अध्यक्ष घनश्याम खतिवडाले पार्टीले तय गरेको राष्ट्रिय लक्ष्य र सङ्कल्पलाई केन्द्रविन्दुमा राखी सिङ्गो पार्टी शक्तिलाई परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । पार्टीका मोरङ इञ्चार्ज जीवन घिमिरे, मोरङ अध्यक्ष बाबुराम कार्कीले मिसन ८४ लाई सफल बनाउन नेता कार्यकर्तालाई महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो

सोही अवसरमा आगामी मङ्सिर १६ गते हुने ग्रामथान गाउँपालिकाको अध्यक्ष पदको निर्वाचनमा एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार तुलसीराम विश्वासलाई घोषणा गरिएको थियो ।

ट्रम्पले टेलिभिजन प्रस्तोता हेगसेथलाई रक्षामन्त्री बनाउने

0

काठमाडौँ: अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षामन्त्रीका रूपमा चर्चित टेलिभिजन प्रस्तोता पिट हेगसेथलाई चयन गरेका छन्, अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

मंगलबार ट्रम्पले एक विज्ञप्ति जारी गर्दै फक्स न्यूजका प्रस्तोता पिट हेगसेथलाई रक्षामन्त्री नियुक्त गरिएको औपचारिक जानकारी दिएका हुन्। ट्रम्पले आफ्नो सन्देशमा हेगसेथलाई “कडा, स्मार्ट, र ‘अमेरिका फर्स्ट’ मा सच्चा विश्वास राख्ने व्यक्ति”को रूपमा चित्रण गर्दै भन्नुभयो, “पिटको नेतृत्वमा हाम्रो सेना फेरि महान् हुनेछ, र अमेरिका कहिल्यै पछि पर्नेछ भन्ने कुरा हाम्रा शत्रुहरूले पहिले नै बुझेका छन्।”

समाचार संस्था रोयटर्सका अनुसार, हेगसेथ एक पूर्वसैनिक हुन् र अफगानिस्तान, इराक, तथा क्युवामा सेवा गरिसकेका अनुभवी सैनिक पनि हुन्। उनको सैन्य अनुभव र विश्लेषण क्षमताका कारण उनलाई ट्रम्प प्रशासनमा महत्वपूर्ण स्थान दिइएको हो।

हेगसेथले “द वार अन वारियर्स” नामक पुस्तक लेखेका छन्, जसमा उनले अमेरिकी सेनामा चरमपन्थी आरोपसँग सामना गरेका कठिनाइहरूलाई उजागर गरेका छन्। सन् २०२१ मा उक्त आरोपका कारण उनले सेना छोडेको उल्लेख गरिएको छ।

ट्रम्पको विज्ञप्तिमा थप उल्लेख छ, “पिट ‘शक्तिको माध्यमबाट शान्ति’ नीति अपनाउने साहसी तथा देशभक्त समर्थक हुन्, जसले अमेरिकाको सुरक्षा र सैन्य क्षमतामा नयाँ उचाइ थप्नेछन्।”

नोभेम्बर ५ मा भएको चुनावमा ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएका थिए, र आगामी जनवरीमा उनी ह्वाइट हाउसमा आफ्नो कार्यभार सम्हाल्नेछन्। राष्ट्रपति ट्रम्पले आफ्नो नयाँ प्रशासनका लागि मन्त्री मण्डलमा योग्य व्यक्तिहरूको चयनको प्रक्रिया सुरु गरिसकेका छन्, जसमा हेगसेथको नाम प्रमुख रहेको छ।

सिनेटमा रिपब्लिकनहरूको बहुमत भएकोले हेगसेथको नामको अनुमोदनमा ठूलो अवरोध नआउने अपेक्षा गरिएको छ।