Tuesday, June 16, 2026
Home Blog Page 6

सभ्या महर्जन बनिन् ‘मिसेस ग्लोबल नेपाल २०२६’

0

काठमाडौं । काठमाडौंको गोंगबु निवासी सभ्या महर्जन ‘मिसेस ग्लोबल नेपाल २०२६’ को उपाधि जित्न सफल भएकी छन्। उपाधिसँगै उनले भियतनामको हनोईमा आयोजना हुने ‘एनएफईए २०२६’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसरसमेत प्राप्त गरेकी छन्।

राजधानीमा बिहीबार सम्पन्न प्रतियोगितामा रन्जिता क्षेत्री फस्ट रनरअप तथा अन्जु भट्टराई सेकेन्ड रनरअप घोषित भए। हिमालयन मुभिजद्वारा आयोजित विवाहित महिलाहरूको यो राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिताको नवौं संस्करण हो।

प्रतियोगितामा विभिन्न क्षेत्रबाट सहभागी भएका एक दर्जनभन्दा बढी विवाहित महिलाले प्रतिस्पर्धा गरेका थिए। उनीहरूलाई करिब तीन सातासम्म व्यक्तित्व विकास, स्टेज प्रस्तुति, उद्घोषण कला, क्याटवाक, नेतृत्व विकास तथा फोटो–भिडियो सुटसम्बन्धी विशेष प्रशिक्षण प्रदान गरिएको थियो। प्रशिक्षणको जिम्मेवारी वरिष्ठ फेसन कोरियोग्राफर हिमानी सुब्बाले सम्हालेकी थिइन्।

प्रतियोगिताको सुरुआत प्रतियोगीहरूको आकर्षक सामूहिक नृत्यबाट भएको थियो। परिचयात्मक चरण, बेस्ट ड्रेस चरण, टप–९ र टप–६ हुँदै अन्तिम क्राउनिङ चरणमार्फत विजेताको घोषणा गरिएको थियो।

मुख्य उपाधि विजेता सभ्या महर्जनले ‘बेस्ट ट्यालेन्ट’ र ‘बेस्ट ड्रेस’ अवार्डसमेत जितिन्। त्यसैगरी रोशी धिताल ‘बेस्ट फोटोजेनिक’, रन्जिता क्षेत्री ‘मोस्ट स्मार्ट’ तथा अन्जु भट्टराई ‘मोस्ट डाइनामिक’ घोषित भए।

अन्य विभिन्न विधागत अवार्डहरू पनि वितरण गरिएको थियो। प्रतियोगिताको निर्णायक मण्डलमा फेसन डिजाइनर सुक्निता चौलागाईं, अभिनेता तथा मोडल सन्तोष बानियाँ, अभिनेता सिद्धार्थ सिंह, अभिनेत्री एवं इभेन्ट आयोजक मेनुका माझी तथा ‘ब्युटिसियन नेपाल २०२६’ की सानु थापा मगर सहभागी थिए।

आयोजकका अनुसार विवाहित महिलाहरूको प्रतिभा, क्षमता र नेतृत्वदायी भूमिकालाई प्रोत्साहन गर्दै समाजमा उनीहरूको छुट्टै पहिचान स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

आज विश्व बालश्रमविरुद्ध दिवस, बालअधिकार संरक्षणमा जोड

0

काठमाडौं । आज जुन १२, विश्वभर विश्व बालश्रमविरुद्ध दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ।

बालबालिकालाई श्रमिकका रूपमा प्रयोग गर्ने प्रवृत्तिको अन्त्य गर्दै उनीहरूको शिक्षा, स्वास्थ्य र समग्र अधिकारको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।

अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को बालश्रमका निकृष्टतम रूपसम्बन्धी महासन्धि–१८२ तथा श्रममा प्रवेश गर्ने न्यूनतम उमेरसम्बन्धी महासन्धि–१३८ को कार्यान्वयनलाई प्रवर्द्धन गर्ने सन्दर्भमा सन् २००२ देखि हरेक वर्ष जुन १२ लाई विश्व बालश्रमविरुद्ध दिवसका रूपमा मनाउन थालिएको हो।

यस दिवसले बालश्रम उन्मूलन, बालबालिकाको शिक्षा सुनिश्चितता तथा सुरक्षित र सम्मानजनक बाल्यकालको अधिकारप्रति सरकार, सरोकारवाला निकाय र समुदायको ध्यानाकर्षण गराउने अपेक्षा गरिएको छ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

0

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराईका क्षेत्रहरूमा आंशिक बदली छ। लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने अन्य तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी र मधेश प्रदेशका केही स्थान तथा हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति पनि कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। मधेश प्रदेशलगायत तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा मधेशसहित बागमती र गण्डकीका तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

मौसमविद्हरूले वर्षा, चट्याङ तथा हिमपातबाट प्रभावित हुन सक्ने क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

ओमानको खाडीमा तेल ट्याङ्करमाथि आक्रमणः बेपत्ता तीन भारतीय नाविक मृत फेला

0

नयाँ दिल्ली । ओमानको खाडीमा रहेको तेल ट्याङ्कर ‘एमटी सेटेबेलो’ माथि भएको आक्रमणपछि बेपत्ता भएका तीन भारतीय नाविक मृत अवस्थामा फेला परेका छन्। भारतका बन्दरगाह, नौवहन तथा जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले बिहीबार उक्त जानकारी दिएका हुन्।

मन्त्री सोनोवालले सामाजिक सञ्जालमार्फत तीनै जनाको शव फेला परेको र पहिचानसमेत पुष्टि भएको बताएका छन्। उनका अनुसार मृतकहरू डेक क्याडेट आदित्य शर्मा, इन्जिन फिटर शिवानन्द चौरसिया तथा चिफ इन्जिनियर पटनाला सुरेश हुन्।

घटनाप्रति दुःख व्यक्त गर्दै उनले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्। साथै उद्धार गरिएका चालक दलका सदस्यहरूलाई शीघ्र स्वदेश फर्काउने र मृतकहरूको पार्थिव शरीर भारत ल्याउने व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको बताएका छन्।

यस घटनापछि भारतले नयाँ दिल्लीस्थित अमेरिकी दूतावासका उपप्रमुख जेसन मीक्सलाई बोलाएर औपचारिक विरोध जनाएको छ। अमेरिकी राजदूत सर्जियो गोर विदेश भ्रमणमा रहेकाले उपप्रमुखमार्फत विरोधपत्र बुझाइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अमेरिकी सेन्ट्रल कमाण्डले भने पलाउको झण्डा बोकेको ‘सेटेबेलो’ जहाजले इरानबाट तेल ढुवानी गर्दै अन्तर्राष्ट्रिय प्रतिबन्ध उल्लङ्घन गरेको दाबी गरेको छ। अमेरिकी पक्षका अनुसार बारम्बार चेतावनी दिँदा पनि जहाजले बेवास्ता गरेपछि विमानमार्फत इन्जिन कक्षलाई लक्षित गरी हमला गरिएको थियो।

आक्रमणपछि जहाजमा रहेका २१ भारतीय नाविकलाई सुरक्षित रूपमा उद्धार गरिएको छ। यसअघि अर्को तेल ट्याङ्कर ‘एमटी म्यारिभेक्स’ माथि भएको आक्रमणपछि पनि २४ भारतीय नाविकलाई सुरक्षित रूपमा उद्धार गरिएको थियो।

भारतीय विदेश मन्त्रालयले व्यावसायिक जहाज र नागरिक पूर्वाधारमाथि भइरहेका आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै समुद्री मार्गहरूमा सुरक्षित, स्वतन्त्र र निर्बाध आवतजावत सुनिश्चित गर्न आग्रह गरेको छ।

ओमानको खाडी क्षेत्रमा बढ्दो सैन्य तनावका बीच भएको यस घटनाले अन्तर्राष्ट्रिय समुद्री सुरक्षामाथि थप चिन्ता बढाएको छ।

इरानको दाबीः कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डामाथि आक्रमण

0

काठमाडौं । इरानको रिभोलुसनरी गार्डले सामाजिक सञ्जाल पोस्टमा बिहीबार बिहानै आइआरजीसी एयरोस्पेस फोर्स र नौसेना लडाकु विमानहरूले अमेरिकी सैन्य उत्तेजनाको जवाफ दिएको दाबी गरेको छ।

इरानी समाचार एजेन्सी इरनाले भन्यो, “यसले अली अल-सलेम (कुवेत),अहमद अल-जबेर (कुवेत) र शेख इसा एयर बेस(बहराइन)मा अवस्थित १८ महत्वपूर्ण अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण गरी ध्वस्त पारेको छ।”

इरानका यी दाबीहरूको स्वतन्त्र रूपमा पुष्टि भएको छैन, तर कुवेत सेनाको जनरल स्टाफले घोषणा गरेको छ – हवाई रक्षा प्रणालीले शत्रुको हवाई लक्ष्यहरूलाई रोकिरहेको छ।

सामाजिक सञ्जाल पोस्टमा कुवेत सेनाले भन्यो , “सबै मानिसहरूलाई सम्बन्धित अधिकारीहरूले जारी गरेका सुरक्षा निर्देशन र दिशानिर्देशहरू पालना गर्न अनुरोध गरिएको छ।”

कुवेती सेनाले मानिसहरूलाई आधिकारिक स्रोतबाट प्राप्त जानकारीमा मात्र विश्वास गर्न आग्रह गरेको छ।

बीबीसी फारसीका अनुसार इरानी आक्रमणका कारण कुवेतले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ।

रामहरि श्रेष्ठ हत्या प्रकरणः माओवादी कमाण्डर बटालालाई १० वर्ष कैद

0

काठमाडौं । सर्वोच्च अदालतले बहुचर्चित रामहरि श्रेष्ठ हत्या प्रकरणमा दोषी ठहर भएका तत्कालीन माओवादी लडाकु कमाण्डर गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय सुनाएको छ।

न्यायाधीशहरू डा. नहकुल सुवेदी, अब्दुल अजीज मुसलमान र शान्तिसिंह थापाको पूर्ण इजलासले पुनरावलोकन निवेदनमाथि सुनुवाइ गर्दै यसअघि सर्वोच्च अदालतकै संयुक्त इजलासले गरेको फैसला संशोधन गरी बटालाको सजाय बढाउने निर्णय गरेको हो।

यसअघि संयुक्त इजलासले बटालालाई तीन वर्ष कैद सजाय तोकेको थियो। उक्त फैसलाविरुद्ध सरकारी पक्षले पुनरावलोकन निवेदन दर्ता गरेपछि पूर्ण इजलासले पुनः सुनुवाइ गर्दै कैद सजाय १० वर्ष कायम गरेको हो।

यो घटना २०६४ सालपछि शान्ति प्रक्रियामा आएको तत्कालीन नेकपा (माओवादी) को चितवनस्थित शक्तिखोर लडाकु शिविरसँग सम्बन्धित छ। माओवादी निकट मानिएका व्यापारी रामहरि श्रेष्ठलाई रकम र हतियार चोरीको आरोप लगाउँदै २०६५ वैशाख १५ गते नियन्त्रणमा लिएर शक्तिखोर शिविरमा लगिएको थियो।

अनुसन्धानका क्रममा शिविरभित्र श्रेष्ठमाथि कुटपिट र शारीरिक यातना दिइएको तथा त्यसकै कारण उनको मृत्यु भएको खुलेको थियो। मृत्यु भएपछि घटनालाई लुकाउन उनको शव नारायणी नदीमा फालिएको अवस्थामा फेला परेको थियो।

घटनाले त्यसबेला व्यापक चर्चा पाएको थियो र द्वन्द्वपछिको न्याय तथा मानवअधिकारका विषयमा गम्भीर प्रश्न उठाएको थियो। यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरूमाथि पनि विभिन्न चरणमा अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको छ।

सर्वोच्च अदालतको पछिल्लो फैसलालाई लामो समयदेखि न्यायको प्रतीक्षामा रहेका पीडित परिवारका लागि महत्वपूर्ण निर्णयका रूपमा हेरिएको छ।

कर्णाली सरकारले ६ निर्देशनालय खारेज गर्‍यो, जिल्ला कार्यालयमा रूपान्तरण

0

सुर्खेत । कर्णाली प्रदेश सरकारले ६ वटा निर्देशनालय खारेज गर्ने निर्णय गरेको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ती निर्देशनालयहरूलाई जिल्ला कार्यालयमा रूपान्तरण गर्ने निर्णय गरेको हो।

प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहका अनुसार पूर्वाधार विकास निर्देशनालय, खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय, कृषि विकास निर्देशनालय, पशुपन्छी विकास निर्देशनालय तथा उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयलाई जिल्ला कार्यालयका रूपमा कायम गरिएको छ।

त्यसैगरी, प्रदेश वन निर्देशनालय सुर्खेत खारेज गरी प्रदेश वन निर्देशक तथा उक्त निर्देशनालयबाट सम्पादन हुँदै आएका कार्यहरू सम्बन्धित मन्त्रालयमार्फत सञ्चालन गर्ने व्यवस्था मिलाइने भएको छ। यसका लागि सम्बन्धित मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्नेछ।

मन्त्रिपरिषद्ले वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, मानव संसाधन विकास केन्द्र र कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन प्रशिक्षण केन्द्रबाट सम्पादन हुँदै आएका कार्यहरू अब कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानमार्फत सञ्चालन गर्ने निर्णय पनि गरेको छ।

प्रवक्ता शाहले उक्त निर्णय साउन १ गतेदेखि कार्यान्वयन गर्ने लक्ष्यका साथ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण अघि बढाउने जानकारी दिए।

बैठकले लोपोन्मुख राउटे समुदायको मूलप्रवाहीकरण नीति, २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ। साथै पूर्ण संस्थागत सुत्केरी सम्बन्धी कार्यविधि, २०८३ लाई समेत स्वीकृति प्रदान गरिएको छ।

अनुमतिबिना ठुलो पर्दामा विश्वकप खेल देखाउन नपाइने

0

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पूर्वस्वीकृतिबिना सार्वजनिक स्थानमा ठुलो पर्दा राखेर फिफा विश्वकप फुटबल २०२६ का खेलहरू प्रदर्शन गर्न रोक लगाएको छ।

बिहीबारदेखि सुरु हुने विश्वकपका खेलहरू सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने संघ–संस्था वा कम्पनीहरूले अनिवार्य रूपमा प्रशासनबाट अनुमति लिनुपर्ने जनाएको छ।

प्रशासनले बिहीबार जारी गरेको सूचनामा रातिको समयमा ठुलो पर्दामा खेल प्रदर्शन गर्ने बहानामा भीडभाड गराई समुदायमा असर पुग्ने तथा शान्ति–सुरक्षामा खलल पुर्‍याउने गतिविधि नगर्न सचेत गराएको छ।

खेलको प्रत्यक्ष प्रसारण गर्न इच्छुक संघ–संस्थाले निर्धारित ढाँचामा निवेदन पेश गर्नुपर्नेछ। निवेदनको ढाँचा जिल्ला प्रशासन कार्यालय काठमाडौंको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिने प्रशासनले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता मुक्तिराम रिजालका अनुसार प्राप्त निवेदनमाथि सम्बन्धित स्थानको अवस्था र सुरक्षा संवेदनशीलताको विश्लेषण गरी मात्र अनुमति प्रदान गरिनेछ।

प्रशासनले सूचनाको अवज्ञा गर्दै अनुमतिबिना रातिको समयमा भीडभाड गराउने, अमर्यादित, उच्छृङ्खल वा गैरकानुनी गतिविधि गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।

४८ टोलीसहित सुरु हुँदै फिफा विश्वकप २०२६, तीन देशमा भव्य उद्घाटन समारोह

0

काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता ‘फिफा विश्वकप २०२६’ यसपटक इतिहासमै पहिलो पटक अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा सुरु हुँदैछ। यस संस्करणलाई खेलकुद मात्र नभई संगीत, मनोरञ्जन, ग्ल्यामर र सांस्कृतिक विविधताको विश्वव्यापी उत्सवका रूपमा प्रस्तुत गर्ने तयारी गरिएको छ।

फिफाको नयाँ ढाँचाअनुसार यसपटक पहिलो पटक ४८ राष्ट्रले विश्वकपमा सहभागिता जनाउनेछन्। सहभागी टोलीको संख्या बढेसँगै खेल संख्या र प्रतिस्पर्धाको रोमाञ्चकता पनि उल्लेखनीय रूपमा वृद्धि हुने अपेक्षा गरिएको छ।

प्रतियोगिताका खेलहरू तीन देशका १६ विभिन्न सहरमा आयोजना हुनेछन्। उद्घाटन समारोहलाई विशेष आकर्षणका साथ तीनवटै आयोजक राष्ट्रमा फरक–फरक शैलीमा प्रस्तुत गर्ने तयारी गरिएको छ।

मेक्सिको सिटीस्थित ऐतिहासिक एज्टेका रंगशालामा हुने उद्घाटन समारोहमा कोलम्बियन पप स्टार साकिरा प्रमुख आकर्षण रहनेछिन्। उनीसँगै जे बाल्भिन, रायन कास्त्रो तथा मेक्सिकोका चर्चित स्थानीय कलाकारहरूले सांगीतिक प्रस्तुति दिनेछन्। साथै अभिनेत्री सल्मा हायेकले विश्वभरबाट आएका फुटबल समर्थकलाई स्वागत गर्दै एकता र भाइचाराको सन्देश दिने कार्यक्रम छ।

त्यसपछि अमेरिकाको लस एन्जलसस्थित सोफी स्टेडियममा आयोजना हुने समारोहमा क्याटी पेरी, अनित्ता, लिसा, रेमा र टाइला लगायतका अन्तर्राष्ट्रिय कलाकारहरूले प्रस्तुति दिनेछन्। आयोजकका अनुसार यस समारोहले अमेरिकी बहुसांस्कृतिक समाज र विश्वव्यापी सांगीतिक प्रभावलाई प्रस्तुत गर्नेछ।

यसैगरी, क्यानडाको टोरन्टोमा हुने कार्यक्रममा अभिनेत्री तथा नृत्यांगना नोरा फतेही मुख्य आकर्षण रहनेछिन्। उनीसँगै विभिन्न क्यानडेली कलाकारहरूले सांगीतिक प्रस्तुति प्रस्तुत गर्नेछन्।

प्रतियोगिताको उद्घाटन खेल मेक्सिकोको घरेलु मैदानमा हुनेछ। विश्वकप ३६ दिनसम्म सञ्चालन हुने तालिका रहेको छ भने फाइनल खेल अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा आयोजना गरिनेछ।

विश्व फुटबलको यो महाकुम्भले खेलसँगै विभिन्न संस्कृति, संगीत र समुदायलाई एउटै मञ्चमा जोड्ने अपेक्षा गरिएको छ।

चलचित्र क्षेत्रले महसुस गर्ने गरी सुधार गर्छौं : सञ्चारमन्त्री तिमिल्सिना

0

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली चलचित्र क्षेत्रले लामो समयदेखि अपेक्षा गर्दै आएको सुधार र परिवर्तनलाई व्यवहारमै अनुभूति हुने गरी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

कान्स फिल्म फेस्टिभलमा सम्मानित नेपाली चलचित्र Elephants in the Fog को सम्मानमा नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले चलचित्र क्षेत्रको विकास, सुदृढीकरण र संस्थागत सुधारका लागि आवश्यक पहल गर्न सरकार तयार रहेको स्पष्ट पारे।

मन्त्री तिमिल्सिनाले अन्तर्राष्ट्रिय स्तरमा नेपाली चलचित्रले हासिल गरेको सफलता देशकै गौरवको विषय भएको उल्लेख गर्दै यस्तो उपलब्धिलाई केवल पुरस्कार वा आर्थिक मूल्यमा सीमित गर्न नसकिने बताए।

“यो सफलता चलचित्रकर्मीहरूले देशलाई दिएको अमूल्य उपहार हो,” उनले भने।

चलचित्र क्षेत्रको दीर्घकालीन विकासका लागि संसद्को संसदीय समितिमा विचाराधीन सम्बन्धित विधेयकलाई समयसापेक्ष र व्यवहारिक बनाउन कलाकार, निर्माता तथा अन्य सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको उनको भनाइ थियो। प्राप्त सुझावहरूलाई विधेयकमा समेट्ने गरी संयुक्त छलफल अघि बढाइने उनले बताए।

मन्त्री तिमिल्सिनाले विकास र समृद्धिका विषयमा खर्चको चर्चा धेरै हुने गरे पनि लगानी सिर्जना, उत्पादन वृद्धि र आम्दानी विस्तारका विषयमा अपेक्षाकृत कम बहस हुने गरेको उल्लेख गरे। चलचित्र उद्योगले संस्कृति, पर्यटन, अर्थतन्त्र र राष्ट्रिय पहिचान प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान दिने भएकाले यसको संरक्षण र प्रवर्द्धनमा सरकारले विशेष ध्यान दिने उनले बताए।