Monday, June 22, 2026
Home Blog Page 598

काठमाडौँसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

0

काठमाडौँ: काठमाडौँसहित आज देशभरको मौसम बदली भएको छ । उपत्यकामा धुम्म बादल लागेको छ । देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेकाले मौसम बदली भएको हो ।

कतिपय स्थानमा दिउँसोतिर सामान्य वर्षासमेत हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । उहाँका अनुसार हिजो साँझ पश्चिम नेपालबाट बदली सुरू भई आज अधिकांश क्षेत्रमा फैलिएको हो ।

सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा समेत भइरहेको महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ । सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात पनि भइरहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी

सुदूरपश्चिम प्रदेशका धेरै स्थान साथै कर्णाली प्रदेश र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा साथै गण्डकी प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहने छ ।

साथै बिहानको समयमा तराई तथा उपत्यका थोरै स्थानमा हुस्सु÷कुहिरोको सम्भावना रहेको छ । यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ७२ प्रतिशत भौतिक प्रगति

0

म्याग्दी: नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ७२ प्रतिशत भौतिक प्रगति भएको छ ।

भारतीय आयात–निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्सले बाँध, सुरूङ र विद्युत्गृह निर्माणको कामलाई तीव्रता दिएको छ ।

आयोजनाका सिभिल महाशाखा प्रमुख रविन कट्टेलले आगामी २०८२ को असार १५ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित भौतिक संरचना निर्माण र उपकरण जडानको कामलाई तीव्रता दिइएको जानकारी दिनुभयो । “बाँधमा ब्यारेज, छ हजार दुई सय ७० मिटर लामो मुख्य सुरूङ, सर्जसाफ्ट, ठाडो र तेस्रो प्रेसर साफ्ट र टेलरेस डग निर्माण सकिएको छ”, उहाँले भन्नुभयो “स्विचार्ड निर्माण र विद्युत्गृहका उपकरण जडान गर्न थालिएको छ । डिसेन्डर (पानी थिग्राउने पोखरी), पावर इन्टेक, मुख्य सुरूङलाई फिनिसिङ गर्ने र पेनस्टक पाइपलाइन जडानको काम धमाधम भइरहेको छ ।”

मुख्य सुरूङको चार वटा अडिटबाट शुक्रबारसम्म दुई हजार दुई सय ४३ दशमलव आठ मिटर लाइनिङ (ढलान र प्लास्टर) सकिएको सिभिल महाशाखा प्रमुख कट्टेलले बताउनुभयो । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ नम्बर वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध र तिल्केनीचौरमा विद्युत्गृह निर्माणाधीन छ ।

सिभिलतर्फ ७२ र इलेक्ट्रोमेकानिकलतर्फ ३० प्रतिशत प्रगति भएको आयोजनाको सिभिल ठेकेदारसँग विसं २०७४ मङ्सिर महिनामा ठेक्का सम्झौता भएको थियो । ठेक्काको ४५ महिनाको अवधिमा कोरोना महामारी, बाढी र पहिरोका कारण काम सम्पन्न हुन नसकेपछि ३० महिना म्याद थपिएको छ ।

कमजोर आर्थिक अवस्थाका कारण विसं २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारूपमा राहुघाट जलविद्युत् आयोजना निर्माण अघि बढाइएको थियो । पहिलो कार्यतालिका र सम्झौताअनुसार आयोजना विसं २०७० मा सकिनुपर्ने थियो ।

पहिले ३२ मेगावाटमा डिजाइन गरिएकोमा पछि आठ मेगावाट बढाएर ४० मेगावाट पुर्‍याइएको हो । बेनी–जोमसोम–कोरला सडकको घुमाउनेतालदेखि ११ किलोमिटर पहुँचमार्ग र एक वटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरी विद्युत्गृह र बाँधलाई सीधा सडकले जोडिएको छ । राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरिडोरअन्तर्गत दुई सय २० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा लिलो (लुप इन, लुप आउट) माध्यमबाट जोडिने छ । चार वटा टावर र प्रसारण लाइन पनि बनिसकेको छ ।

हुम्लामा तेस्रो पटक हिमपात, जनजीवन प्रभावित

0
l;dsf]6, @$ kmfu'g M x'Dnfdf z'qmaf/ ;Ffemaf6 nutf/ lxdkft ePsf] 5 eg] lr;f]n] oxfFsf] hghLjg k|efljt ag]sf] 5 . t:jL/ M bfg] af]x/f, /f;;

सिमकोट (हुम्ला): हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च जिल्लामा शुक्रबार रातिदेखि हिमपात भइरहेको छ । शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो ।

शनिबार बिहान सदरमुकाम सिमकोटमा चार इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको बताइएको छ । हुम्लामा तेस्रो पटक हिमपात हुँदा किसानलाई राहत मिलेको स्थानीय गौगोरा बोहराले बताउनुभयो । यतिबेला परेको हिउँले जेठासी बालीको उत्पादन राम्रो हुने हुम्लाका किसानको भनाइ छ ।

यस्तै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा जनजीवन प्रभावित बनाएको छ । शनिबार बिहान हिमपात भइरहेकाले यहाँका स्थानीय चिसोले घर बाहिर निस्कन नसकेको बताइएको छ । हिमपात हुँदा यहाँको तापक्रम माइनसमा झरेको छ । यस्तै अन्तर जिल्ला जोड्ने एकमात्रै हवाई सेवा अवरुद्ध भएको छ । हिमपात भइरहेकाले हवाई सेवा अवरुद्ध भएको हो ।

मुम्बई हमलाका मुख्य योजनाकार मानिएका अब्दुल रहमान मक्कीको मृत्यु

0

काठमाडौं। मुम्बई हमलाका कथित मास्टरमाइन्ड हाफिज सईदका साला र प्रतिबन्धित संगठन जमात-उद-दावाका वरिष्ठ नेता हाफिज अब्दुल रहमान मक्कीको शुक्रबार मृत्यु भएको छ।

मक्कीका भतिजी तल्हा सईदले बीबीसी उर्दूसँगको कुराकानीमा उनकाे मृत्यु मधुमेह र हृदयघातका कारण भएको पुष्टि गरेकी छिन्। लामो समयदेखि बिरामी रहेका मक्कीलाई पाकिस्तानको पञ्जाब प्रान्तको एक अस्पतालमा मृत घोषित गरिएको हो।

मक्की जमात-उद-दावाका प्रमुख थिए, जुन लश्कर-ए-तैयबासँग सम्बन्धित आतङ्कवादी संगठन हो। लश्कर-ए-तैयबा २००८ मा भारतको मुम्बईमा भएको आतङ्ककारी हमलाका लागि कुख्यात छ। यस आक्रमणमा १६० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।

सन् २०२३ मा संयुक्त राष्ट्रसंघले हाफिज अब्दुल रहमान मक्कीलाई विश्वव्यापी आतंकवादीको रूपमा सूचीबद्ध गरेको थियो। यस घोषणापछि मक्कीमाथि थप अन्तर्राष्ट्रिय दबाब परेको थियो।

पञ्जाब सरकारले २०१९ मा मक्कीलाई पक्राउ गरेको थियो। उनलाई आतङ्कवादी गतिविधिका लागि आर्थिक सहयोग प्रदान गरेको आरोपमा आतङ्कवाद विरोधी अदालतले ६ महिनाको जेल सजाय सुनाएको थियो। जेलबाट रिहा भए पनि उनी लगातार बिरामी भइरहे र सार्वजनिक जीवनबाट टाढा बसे।

२६ नोभेम्बर २००८ मा लश्कर-ए-तैयबाका १० आतंककारीहरूले भारतको मुम्बईमा विभिन्न स्थानहरूमा हमला गरेका थिए। यो चार दिनसम्म चलेको आक्रमणले ताज महल होटल, नरीमन हाउस, छत्रपति शिवाजी स्टेशन लगायतका स्थानहरूलाई प्रभावित पारेको थियो।

यो आक्रमणले भारत-पाकिस्तान सम्बन्धमा दीर्घकालीन असर पार्यो। भारतले आक्रमणको योजना पाकिस्तानबाट बनेको आरोप लगाएको थियो, जसले गर्दा दुई देशबीचको तनाव अझ चर्कियो।

मक्कीको मृत्युले दक्षिण एशियामा आतंकवाद विरोधी प्रयासमा के असर पार्छ भन्ने कुरा समयमै थाहा हुनेछ। उनकाे नेतृत्वमा जमात-उद-दावा दक्षिण एशियामा आतङ्कवादी गतिविधिहरूको रणनीतिक केन्द्र बनेको थियो।

मक्कीको मृत्युको खबरले भारतमा केही प्रतिक्रिया ल्याएको छ। केही विश्लेषकहरूले यसलाई आतंकवाद विरोधी लडाइँको सन्दर्भमा सानो सफलता मानिरहेका छन्। भारतीय सुरक्षा अधिकारीहरूले भने मक्कीको भूमिका र आतङ्कवादको वित्तीय स्रोत रोक्नका लागि थप प्रयास आवश्यक रहेको बताएका छन्।

मक्कीको मृत्यु पाकिस्तानका लागि आतङ्कवादी नेटवर्कविरुद्धको कारबाहीको दिशा बदल्ने अवसर हुन सक्छ। पाकिस्तानमाथि अमेरिकासहितका अन्तर्राष्ट्रिय समुदायबाट लगातार दबाब छ कि उसले आतङ्कवादी संगठनहरूविरुद्ध कडा कदम चालोस्।

मक्कीको मृत्युले आतंकवादविरुद्धको लडाइँमा खासै ठूलो परिवर्तन ल्याउने सम्भावना नभए पनि यस घटनाले लश्कर-ए-तैयबा र जमात-उद-दावाको आन्तरिक संरचनामा असर पार्न सक्छ। यस्ता घटनाहरूले पाकिस्तान र भारतबीचको द्वन्द्वमा नयाँ मोड ल्याउन सक्ने सम्भावना रहन्छ।

पाकिस्तान र अफगानिस्तानबीच युद्धको जोखिम

0

काठमाडौं: पाकिस्तान र अफगानिस्तानबीचको तनाव अहिले गम्भीर मोडमा पुगेको छ। पाकिस्तानले अफगानिस्तानमा गरेको पछिल्लो हवाई आक्रमणपछि दुई देशबीचको द्वन्द्वले उग्र रूप लिएको छ।

१५ हजार तालिबानी लडाकु पाकिस्तानतर्फ अघि बढ्दै
स्रोतका अनुसार १५ हजार तालिबानी लडाकु पाकिस्तानको सीमा क्षेत्रतर्फ अघि बढिरहेका छन्। पाकिस्तानले आफ्नो सुरक्षा व्यवस्था कडा बनाउँदै पेशावर र क्वेटाबाट सेना तैनाथ गरेको छ। पाकिस्तानी सेनाका केही टुकडीहरू अफगानिस्तानको सीमामा परिचालित भएका छन्, भने तालिबानी लडाकुहरू मिर अली सीमा क्षेत्रमा पुगेका छन्। हालसम्म कुनै गोली हानाहान भएको खबर प्राप्त नभए पनि दुबै पक्षले आफ्नो सैन्य गतिविधि तीव्र बनाएका छन्।

अफगानिस्तानको विदेश मन्त्रालयले पाकिस्तानी दूतावासका इन्चार्जलाई बोलाएर आक्रमणको विरोध गरेको छ। मन्त्रालयका प्रवक्ता हाफिज जिया अहमदले यस आक्रमणलाई दुई देशबीचको सम्बन्धमा खलल पुर्‍याउने प्रयास भनेका छन्।

यो तनावको मुख्य कारण तेहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी) ले हालै वजिरिस्तानको माकिन क्षेत्रमा ३० पाकिस्तानी सैनिकको हत्या गरेको घटनालाई मानिएको छ। यस घटनाको प्रतिक्रियामा पाकिस्तानले अफगानिस्तानमा हवाई आक्रमण गरेको थियो।

अफगान तालिबानसँग आधुनिक हतियारहरूको ठूलो भण्डार रहेको छ। उनीहरू एके-४७, मोर्टार, रकेट लन्चरजस्ता हतियारहरू प्रयोग गर्न सक्षम छन्। तालिबान लडाकुहरूले पहाडी क्षेत्र र गुफाहरूमा लुकेर हमला गर्ने रणनीति अपनाउने गर्छन्, जसले पाकिस्तानी सेनालाई अप्ठ्यारोमा पारिरहेको छ। दुर्गम क्षेत्रहरूको जानकारी नहुनु पाकिस्तानका लागि थप चुनौती बनेको छ।

पाकिस्तान र अफगानिस्तानबीचको यो तनाव तत्काल समाधान हुने सम्भावना कम देखिन्छ। दुबै देशका बीचमा पछिल्लो समय पारस्परिक विश्वासको गम्भीर अभाव देखिएको छ। यसअघि पनि दुई देशबीच सीमा विवादले गर्दा पटक-पटक द्वन्द्व चर्केको थियो।

यो तनावले दक्षिण एसियामा स्थायित्वलाई थप खतरामा पारेको छ। अफगानिस्तान र पाकिस्तानका बीचको द्वन्द्वले केवल दुई देश मात्र नभई क्षेत्रीय सुरक्षामा समेत असर पार्ने सम्भावना रहेको छ। यसले शरणार्थी संकट र आतंकवादको गतिविधिलाई बढावा दिन सक्ने विश्लेषण गरिएको छ।

स्थिति अझै बिग्रन नदिन दुवै पक्षले वार्ताको बाटो अपनाउनु आवश्यक छ। तर, हालसम्म कुनै सकारात्मक पहलको संकेत देखिएको छैन।

दक्षिण कोरियामा कार्यवाहक राष्ट्रपति विरुद्ध महाभियोग प्रस्तावमा मतदान पूरा, अब के हुन्छ ?

0

काठमाडौं: दक्षिण कोरियामा कार्यवाहक राष्ट्रपति हान डक-सूविरुद्धको महाभियोग प्रस्तावको लागि संसदमा मतदान सम्पन्न भएको छ। कुल १९२ सांसदले मतदान गरेका महाभियोग प्रस्ताव पारित हुन १५१ भन्दा बढी मतको आवश्यकता थियो।

अब यो महाभियोगलाई संवैधानिक अदालतबाट पनि पुष्टि गरिनुपर्नेछ। संवैधानिक अदालतले महाभियोगको वैधानिकता जाँच्न १८० दिनसम्मको समय पाउनेछ। कार्यवाहक राष्ट्रपति हान डक-सूले संसदको निर्णयप्रति सम्मान जनाउँदै भनेका छन्, “म नेशनल एसेम्बलीको निर्णयलाई स्वीकार गर्दछु र संवैधानिक अदालतको निर्णयको प्रतीक्षा गर्नेछु।”

महाभियोगको पृष्ठभूमि:

यो विवादास्पद परिस्थिति पूर्व राष्ट्रपति युन सुक-योलले डिसेम्बर ३ मा मार्शल ल लागू गर्ने असफल प्रयासबाट सुरु भएको थियो। यो कदमले ठूलो जनआक्रोश सिर्जना गरेको थियो, जसले गर्दा संसदले उनीविरुद्ध महाभियोग प्रक्रिया अघि बढायो। राष्ट्रपति पदबाट हटाइएपछि प्रधानमन्त्री हान डक-सूले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए।

महाभियोग प्रस्ताव ल्याउनुको पछाडि विपक्षी सांसदहरूले हान डक-सूमाथि पूर्व राष्ट्रपति युनविरुद्धको महाभियोग प्रक्रिया पूरा गर्न असफल भएको आरोप लगाएका छन्।

संसदमा हंगामा

महाभियोग प्रस्तावको मतदानका क्रममा संसदमा तीव्र विवाद र हंगामा भयो। विपक्षी सांसदहरूले सरकारको कदमलाई ‘लोकतन्त्रविरोधी’ भन्दै विरोध गरे। मत विभाजनको बेला पक्ष र विपक्षका सांसदबीच केही घर्षण पनि भएको बताइएको छ।

महाभियोगको यस घटनाले दक्षिण कोरियाको राजनीतिमा नयाँ संकट ल्याएको छ। अब संवैधानिक अदालतको निर्णयले मात्र यस विषयमा अन्तिम टुंगो लगाउनेछ।

रविको बयानमा वकिललाई इजलासमा बस्न दिइएन

0

कास्की (पोखरा): सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको बिहीबार कास्की जिल्ला अदालतमा बयान सुरु भएको छ। यसअघि सोही प्रकरणमा पूर्व डिआइजी छविलाल जोशी र लिला पछाईँको बयान लिइसकेको थियो। बिहीबार अपराह्नबाट लामिछानेको बयान लिने प्रक्रिया सुरु गरियो।

लामिछानेको पक्षमा वहश गर्न कानुन व्यवसायी नारायण कँडेल इजलासमा प्रवेश गरे। उनी भित्र पुगेपछि रविकै पक्षमा वहश गर्ने अर्का अधिवक्ता सुदिज्ञ पन्त पनि इजलासभित्र जान तयारीमा थिए। तर, प्रहरीले गेटमै रोकेर एक जनाभन्दा बढी कानुन व्यवसायीलाई भित्र जान नपाउने जानकारी दियो।

प्रहरीले पन्तलाई रोकेपछि वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले विरोध जनाए। त्यसपछि, ती तीनैजना कानुन व्यवसायी इजलासभित्र प्रवेश गर्न सफल भए।

इजलासभित्र प्रवेश गरेपछि न्यायाधीश आइपुग्नुअघि नै इजलास सहायकले लामिछानेसँग बयान लिन सुरु गरे। बयानका क्रममा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनको हवाला दिँदै प्रश्न गरिए, तर प्रतिवेदनमै नभएका प्रश्न उठेको देखेपछि अधिवक्ता सुदिज्ञ पन्तले मोबाइलमार्फत उक्त प्रतिवेदन खोज्न थाले।

मोबाइल चलाएको देखेपछि इजलास सहायकले उनलाई मोबाइल प्रयोग गर्न रोक लगाएका थिए। पन्तले प्रतिवेदन पढ्न खोजेको बताए पनि इजलास सहायकले मोबाइलबाट फोटो खिच्न सकिने भन्दै रोक लगाएका थिए।

त्यसपछि, इजलास सहायकले इजलासभित्र एकजना मात्र कानुन व्यवसायी बस्न पाउने बताए। उनले सुदिज्ञ पन्तलाई बाहिर जान आग्रह गरे। पन्तले न्यायाधीशले भने मात्रै बाहिर जाने जवाफ दिए। पछि, न्यायाधीशले पनि इजलास सहायककै भनाइलाई समर्थन गर्दै एकजना मात्र बस्नुपर्ने आदेश दिएपछि पन्त इजलासबाट बाहिरिन बाध्य भए।

न्यायाधीशको यस कदमप्रति आलोचना भएको छ। वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले यस घटनालाई न्यायालयको मानहानि भएको बताएका छन्। उनले न्यायाधीशको आदेशले कानुन व्यवसायीको काम गर्ने अधिकारलाई हनन गरेको भन्दै असन्तुष्टि जनाए।

पन्तले नेपाल बारका अध्यक्षलाई यो विषयमा जानकारी गराउने प्रयास गरे पनि फोन सम्पर्क हुन नसकेको बताएका छन्। उनले पञ्चायती शासनकालमा समेत यस्ता मुद्दामा कानुन व्यवसायीको इजलासमा उपस्थिति रहँदा इजलासप्रतिको सम्मान बढ्ने गरेको स्मरण गरे।

“न्यायाधीशले कानुन व्यवसायीलाई इजलासबाट बाहिर पठाउने काम गर्नु भनेको न्यायालयको गरिमा घटाउने हो,” पन्तले भने। “४६ वर्षको कानुन व्यवसायिक जीवनमा यस्तो घटना कहिल्यै भोग्नुपरेको थिएन। यसले मलाई भावनात्मक रुपमा ठूलो चोट दियो।”

सकियो रविको बयान, दिए इन्कारी बयान

0

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा निलम्बित सांसद रवि लामिछानेसँगको बयान सकिएको छ। पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा जिल्ला अदालत कास्कीले बयान लिएको हो।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेले दुई दिन बयान दिएका छन्।

सोमबार र मंगलबार अदालतमा उपस्थित गराए पनि पालो नआएका कारण उनका बयान हुन सकेका थिएनन्। यसै बीचमा उनी संघीय संसद्को सांसद पदबाट निलम्बन भइसकेका थिए।

मंगलबार अबेर गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँग बयान सकिएपछि अर्का प्रतिवादी लिला पछाईसँग बयान सुरु भएको थियो। यसअघि पालो नपरेपछि लामिछाने हिरासतमा फर्केका थिए।

कास्की अदालतको बेन्चले सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी, साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउनेबारे निर्णय गर्नेछ।

सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ। पाँच जनालाई बिगोअनुसारको सम्पत्ति जफतका लागि मात्र प्रतिवादी कायम गरिएको छ।

रवि पक्राउ परेको ९२औं दिनमा आइतबार अभियोगपत्र दर्ता गरिएको हो। लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ।

गत शुक्रबार गोर्खा मिडियाका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध पूरक अभियोगपत्र दर्ता भएको थियो। यसअघि १८ असोज २०८० मा राईसहितको समूहविरुद्ध मुद्दा दायर गरिएको थियो।

प्रहरीले ६५ जनालाई प्रतिवादी बनाउन राय दिए पनि सरकारी वकिलको कार्यालयले प्रतिवादीको संख्या घटाएर मुद्दा दर्ता गरेको हो। लामिछानेसहित ४९ जनालाई सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध गरेको कसुरमा तथा जीबी राई र लिला पछाईंलाई राष्ट्रबैंक ऐनअन्तर्गतको कसुरमा सजाय माग गरिएको छ।

प्रहरी अनुसन्धानअनुसार रवि लामिछाने र जीबी राईसहितको समूहले सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड अपचलन गरेका छन्। सहकारीको ५ करोड ४८ लाख रकम गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको प्रमाण प्रहरीले फेला पारेको छ। सहकारीको बचत रकम अपचलनको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए।

आज पनि रवि लामिछानेको बयान हुने

0

पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद रवि लामिछानेविरुद्ध सहकारी प्रकरणमा दायर मुद्दाको बयान आज पनि जारी रहने भएको छ।

कास्की जिल्ला अदालतमा बिहीबारदेखि सुरु भएको बयान न्यायाधीश नीतिज राईको इजलासमा दुई घन्टा लामो चलेको थियो। अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार लामिछानेको बाँकी बयान आज दिइनेछ।

यसअघि, सोमबार र मंगलबार अदालतमा उपस्थित गराइए पनि पालो नआएकाले लामिछानेको बयान हुन सकेको थिएन। मंगलबार गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँगको बयान सकिएपछि अर्का प्रतिवादी लिला पछाईसँग बयान सुरु भएको थियो। लामिछानेलाई त्यसपछिको दिनमा हिरासत फर्काउनुपरेको थियो।

छविलाल जोशीको सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, र संगठित अपराधसम्बन्धी बयान पूरा भइसकेको छ। बयानपछि अब लामिछानेको पालो आउने अनुमान गरिएको छ। सुनुवाइ सम्पन्न भएपछि अदालतले लामिछानेलाई धरौटीमा छाड्ने, साधारण तारेखमा राख्ने वा पुर्पक्षका लागि पठाउने निर्णय गर्नेछ।

सरकारी वकिलको कार्यालय, कास्कीले रवि लामिछानेसहित ४४ जनालाई सहकारी ठगीमा प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरेको छ। थप पाँच जनालाई बिगोअनुसार सम्पत्ति जफत गर्न मात्र प्रतिवादीका रूपमा दर्ता गरिएको छ। लामिछानेविरुद्ध संगठित अपराध, सहकारी ठगी, र सम्पत्ति शुद्धीकरण गरी तीन वटा कसुरमा अभियोग पत्र दर्ता गरिएको छ।

प्रहरी अनुसन्धानले रवि लामिछाने, जीबी राईसहितको समूहले सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड रुपैयाँ अपचलन गरेको निष्कर्ष निकालेको छ। सहकारीको ५ करोड ४८ लाख रुपैयाँ गोरखा मिडिया नेटवर्कमा लगेर दुरुपयोग गरिएको प्रहरीको दाबी छ। यसै अभियोगमा सभापति लामिछाने कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए।

गत शुक्रबार मात्रै सोही प्रकरणमा गोर्खा मिडियाका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध पूरक अभियोगपत्र दर्ता गरिएको थियो। प्रहरीको रायअनुसार ६५ जनालाई प्रतिवादी बनाइनुपर्ने सुझाव दिइएको भए पनि सरकारी वकिलले ४९ जनामाथि मात्रै मुद्दा दर्ता गरेको छ।

चलचित्र निर्माणको तयारीमा पुराना चलचित्रकर्मी

0

काठमाडौँ: अहिले चलचित्र निर्माण, छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गरेको छ । डिजिटल प्रविधि भित्रिएपछि चलचित्र निर्माण सहज, व्यवस्थित भएको छ । यसले प्रिन्ट लिएर चलचित्र भवन पुग्नुपर्ने प्रावधान हटाएर एउटै समयमा देशभर चलचित्र प्रदर्शन गर्न सक्ने स्थिति बनायो । पछिल्लो समय प्रविधिकै सहायताले नेपालमात्र नभई विश्वभर एकसाथ चलचित्र प्रदर्शन हुन थालेको छ ।

प्राविधिक रूपमा सहजता बढेसँगै पुराना चलचित्रकर्मीको उपस्थिति कम देखिएको छ । निर्देशक तुलसी घिमिरे, दयाराम दाहाल, दीपक श्रेष्ठ, नरेश पौड्याल, प्रदीप श्रेष्ठलगायत प्रसिद्ध निर्देशकले कामलाई निरन्तरता दिन सक्नुभएको छैन । डिजिटल प्रविधिमा चलचित्रको निर्माण सुरु भएपछि उहाँहरूको काम सङ्ख्यात्मक हिसाबमा कम भएको पाइन्छ ।

गत वर्ष २०८० साल पुसमा दर्शकमाझ चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ ल्याउनुभएका निर्देशक दीपक श्रेष्ठले केही समय विविध कारणले विश्राम भएको बताउनुभएको थियो । यद्यपि, उहाँले चलचित्र निर्देशनलाई निरन्तरता दिन सक्नुभएको छैन । “अहिले चलचित्र बनाउनभन्दा दर्शकसम्म पुर्याउन कठिनाइ भएको पाइन्छ”, उहाँले भन्नुभयो ।

निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्नुभएको पछिल्लो चलचित्र ‘उपहार’ हो । उहाँले पछिल्लो समय केही नयाँ चलचित्रको काम गरिरहेको बताउनुभयो । “अहिलेको प्रविधिअनुसार चलचित्र निर्माण गर्नुका साथै दर्शक सुहाउँदो प्रस्तुति चाहिन्छ । हामीले दशक आगाडिको शैलीमै काम गर्र्यौँ भने अहिले दर्शकले बेवास्ता गर्नुहुन्छ । म अन्य चलचित्रकर्मीलाई पनि आफूलाई रूपान्तरण गरेर नयाँ सोचका साथ चलचित्रकर्ममा फर्किन आग्रह गर्छु”, निर्देशक देउजाले भन्नुभयो ।

उहाँले विसं २०७९ मा ‘झिङ्गेदाउँ’ मार्फत निर्देशनमा पुनरागमन गर्नुभएको थियो । त्यसपछि उहाँ चलचित्रको कामलाई निरन्तरता दिने बताउनुहुन्छ । तर, उहाँका समकक्षी चलचित्रकर्मीको सक्रियता घटिरहेको छ ।

‘अजम्बरी नाता’, ‘डर’, ‘दुई पल’लगायत चलचित्र निर्देशन गर्नुभएका निर्देशक प्रदीप श्रेष्ठले नयाँ चलचित्रको तयारी गरे तापनि त्यसलाई पूर्णता दिन सक्नुभएको छैन । “अहिले चलचित्रको लागत बढेको छ । बजारभन्दा बढी लागत गरेर चलचित्र निर्माण गर्न सहज छैन । सोही कारण पनि पुराना चलचित्रकर्मीले निनान्तरता दिन सहज नभएको हो”, निर्देशक श्रेष्ठले भन्नुभयो, “अहिले कलाकारको पारिश्रमिक नै कुल बजेटको ५० प्रतिशतभन्दा बढी हुन्छ । मैले केही वर्षदेखि तयारी गरिरहेको छु, तर काम सुरु गर्न विविध कारणले ढिलाइ भइरहेको छ ।”

डिजिटल प्रविधिसँगै प्राप्त सहजतासँगै प्रचारप्रसारमा परिवर्तन भएको शैली, नयाँ पुस्ताका कलाकारले गर्ने अविश्वास, बढ्दो लागतलगायत समस्याले अहिले लगानी असुरक्षित हुने गरेको पुराना चलचित्रकर्मीहरूको निष्कर्ष थियो । यद्यपि, चलचित्र निर्माण गर्ने तयारी भने उनीहरूले छाडेका छैनन् ।