Monday, June 22, 2026
Home Blog Page 597

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

0

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।निर्धारित दरअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ २९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८५ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९५ रुपैयाँ २५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ ४८ पैसा र बिक्रीदर एक सय रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६६ पैसा र बिक्रीदर आठ रुपैयाँ ७० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०२ पैसा र बिक्रीदर चार रुपैयाँ ०४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा निर्धारण भएको छ ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, स्विडीस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १२ रुपैयाँ ४८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७ रुपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ १३ पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ०८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६१ रुपैयाँ ८९ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ ४८ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५४ रुपैयाँ ६८ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ २४ पैसा तोकिएको छ । त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।

मेडिकल व्यबसायी दुर्गा प्रसाईले आइतबार दिउसो फिल्म देववाणी हेर्ने

0

काठमाडौँ: फिल्म देववाणीको यूनिटले मेडिकल व्यबसायी तथा अभियन्ता दुर्गा प्रसाईसँग भेटघाट गरेको छ । दुर्गाले गरिब र असहायको मुद्धा बोकेको र फिल्म देववाणीले पनि सोही प्रकृतिका समाजमा घटेका अन्याय र अत्याचारका विषयलाई उठाएको भन्दै फिल्मको निर्माण यूनिटले व्यबासाई दुर्गासँग भेटवार्ता गरेको निर्देशक बाबु बलामीले जानकारी दिए । फिल्मकी निर्मात्री तथा नायिका अनुजा लेप्चाका अनुसार व्यबसायी प्रसाईले आइतबार चाबहिलमा रहेको केल टावरमा दिउसो २ बजेको शो हेर्नेछन् ।

यही बुधबारबाट सार्वजनिक प्रर्दशनमा आएको फिल्मलाई दर्शकले साथ दिइरहेको निर्माण यूनिटले जनाएको छ । ‘देववाणी’ नेपाली र हिन्दी भाषामा निर्माण गरिएको छ। फिल्मको प्रचार प्रसारका लागि बलिउड अभिनेताद्वोय ह्यारी जोश र कुन्दन भारद्वाज काठमाडौंमा छन् । ह्यारी जोशले भारतीय फिल्म वान्टेड, वेलकम, धुम २, सिंह इज ब्लिङलगायतमा काम गरिसकेका छन्। मौसम फिल्म्स प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा सुनिल थापा, ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी र मौसम पौडेलको समेत अभिनय छ।

परराष्ट्रमन्त्री राणाद्वारा नगरप्रमुख हमालको स्वास्थ्यलाभको कामना

0

कैलाली: परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाई भेटी स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले धनगढीस्थित नगरप्रमुख हमालको निजी निवास पुगेर स्वास्थ्यलाभको कामना गर्नुभएको हो ।

भेटका क्रममा मन्त्री राणाले नगरप्रमुख हमालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो । मन्त्री राणासँगै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पनि नगरप्रमुख हमाललाई भेटेर स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।

नगरप्रमुख हमाल केही दिनअघि स्वास्थ्यमा समस्या आएपछि भारतको नयाँ दिल्लीमा उपचार गरेपश्चात हाल घरमै स्वास्थ्यलाभ गरिरहनुभएको छ ।

नेपाली कांग्रेस विधि र नीतिमा अडिग : प्रवक्ता महत

0

त्रिशूली (नुवाकोट): नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेस विधि र नीतिमा दृढ रहेको बताउनुभएको छ। नुवाकोटको पञ्चकन्या–४ घ्याङस्वारामा नेपाल तरुण दल, नुवाकोट क्षेत्र नं १ द्वारा आयोजित ‘नेपाली कांग्रेसको एकसय दिने कार्यक्रम’ अन्तर्गत प्रशिक्षण कार्यक्रममा बोल्दै, उहाँले पार्टीका संस्थापक नेताहरूको त्याग र योगदानले निर्माण गरेको विधि र नीतिले कांग्रेसलाई मुलुकको भरपर्दो पार्टीको रूपमा स्थापित गर्न सफल बनाएको उल्लेख गर्नुभयो।

डा. महतले अन्य पार्टीहरूमा नेतृत्वमाथि प्रश्न उठाउँदा कारबाही, निलम्बन र निष्कासन हुने गरेको तर कांग्रेसमा वाक–स्वतन्त्रता, लोकतान्त्रिक अभ्यास, र विधिको शासनको कारण यस्तो समस्या नदेखिएको दाबी गर्नुभयो। उहाँका अनुसार पार्टीले नीति र लोकतान्त्रिक पद्दतिलाई उच्च प्राथमिकता दिएको छ।

प्रशिक्षण कार्यक्रममा प्रतिनिधिसभा सदस्य सीता मिजार, कांग्रेस नुवाकोट सभापति रमेशकुमार महत, नेता डा. केदारनरसिंह केसी, कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक रुवाली, रसुवा कांग्रेस सभापति प्रभात तामाङ, र तरुण दल क्षेत्रीय अध्यक्ष शरण घलेलगायत नेताहरूले युवाको सहभागिता बढाउन भातृ संस्थाहरूलाई सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो।

नेताहरूले पार्टीभित्र कार्यकर्ता उत्पादनका लागि नेपाल विद्यार्थी संघ र तरुण दललाई ‘नर्सरी’को रूपमा विकसित गर्दै सदस्य संख्या बढाउन विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

उहाँहरूले पार्टीको संगठनलाई अझ सशक्त बनाउँदै कांग्रेसलाई आगामी दिनमा थप उचाइमा पुर्याउने आवश्यकता औंल्याउनुभयो।

अमेरिकामा साङ्गीतिक कार्यक्रम गरिने

0

काठमाडौँ: नेपाली कला र संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले अमेरिकाका विभिन्न सहरहरूमा साङ्गीतिक तथा हास्य व्यङ्ग्यात्मक कार्यक्रमको तयारी भएको छ।

‘फ्लाइ नेपा’को आयोजनामा प्रस्तुत गरिने यी कार्यक्रमहरूलाई ‘अब नाच्छ अमेरिका २’, ‘अब हाँस्छ अमेरिका २’, र ‘अब सुन्छ अमेरिका’ शीर्षकमा छुट्टाछुट्टै रूपमा सञ्चालन गरिनेछ। कार्यक्रमबारे जानकारी दिँदै आयोजक संस्था फ्लाइ नेपाका अध्यक्ष विनोद अधिकारीले भने, “हामीले मनोरञ्जनको सम्पूर्ण खुराक तयार गरेका छौँ। यसपटक हाँस्ने, नाच्ने र सुन्ने तीनै विधालाई समेटेर कार्यक्रमलाई अझ भव्य बनाउने तयारी गरिरहेका छौँ।”

कार्यक्रम आगामी फेब्रुअरीदेखि अप्रिलसम्म अमेरिकाका विभिन्न सहरहरूमा आयोजना हुनेछ।

‘अब नाच्छ अमेरिका २’ मा गायक बद्री पङ्गेनी र प्रताप दास तथा गायिका कला लम्साल र एलिना चौहानको प्रस्तुति रहनेछ। ‘अब सुन्छ अमेरिका’ अन्तर्गत कवि प्रदीप रोदन र साइग्रेस पोखरेलको काव्यिक प्रस्तुति हुनेछ भने ‘अब हाँस्छ अमेरिका २’ मा मिस पवि, पवन खतिवडा, र सुजीता श्रेष्ठजस्ता कलाकारले आफ्नो प्रस्तुति दिनेछन्।

गायक प्रताप दासले आफू लगायत अन्य कलाकारहरूले प्रस्तुति तयारीमा जुटिरहेको जानकारी दिँदै भने, “हामी दर्शकहरूको मनोरञ्जनका लागि अमेरिकाको परिवेश अनुसार प्रस्तुति दिनेछौँ। यो साङ्गीतिक यात्रा सबैका लागि रमाइलो र स्मरणीय हुनेछ भन्नेमा हामी विश्वस्त छौँ।”

आयोजकका अनुसार कार्यक्रम अमेरिकाका न्युयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो, र क्यालिफोर्नियालगायत सहरहरूमा आयोजना हुनेछ। यसअघि फ्लाई नेपाले ‘अब नाच्छ अमेरिका’ र ‘अब हाँस्छ अमेरिका’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको छ।

जनहितका पक्षमा काम गर्न एमाले प्रतिबद्ध छः महासचिव पोखरेल

0

महोत्तरी: नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेले जनहितमा निरन्तर काम गर्दै आएको र आगामी दिनमा पनि यस प्रतिबद्धता कायम राख्ने बताउनुभएको छ। महोत्तरीको रामगोपालपुरमा आयोजित जनसभामा बोल्दै उहाँले पछिल्लो एक दशकमा मधेशको विकासमा एमालेले योजनाबद्ध ढंगले ठूला उपलब्धिहरू हासिल गरेको उल्लेख गर्नुभयो।

उहाँले मधेशमा विकासका ठूला आयोजनाहरू अघि बढाएको स्मरण गर्दै स्थानीय जनताले एमालेको कामको सही मूल्याङ्कन गर्दै पार्टीलाई मतदान गरेको बताउनुभयो। महासचिव पोखरेलले भने, “मधेशमा वर्षौँदेखि थाती रहेका हुलाकी सडकका परियोजनाहरू एमाले नेतृत्वको सरकारले तीव्रता दिएको छ। अहिले ती आयोजना सम्पन्नताका चरणमा छन्, जसले यहाँका जनताको जीवनस्तर सुधार्न सहयोग पुर्याइरहेको छ।”

महासचिव पोखरेलका अनुसार एमाले नेतृत्वको सरकारले मधेशमा पुराना समस्याहरू समाधान गर्दै कैयौँ रुग्ण आयोजनाहरू पूरा गरेको छ। उहाँले जलेश्वर नगरको आधुनिक विकास, जलेश्वर–रामगोपालपुर–बर्दिबास सडक स्तरोन्नति, र जयनगर–बर्दिबास रेल्वेको काम एमाले नेतृत्वको कार्यकालमा अघि बढेको उदाहरण दिनुभयो।

उहाँले मधेशमा भएका ठोस कामले जनतामा पार्टीप्रति विश्वास बढाएको बताउँदै आगामी २०८४ को निर्वाचनमा एमालेलाई बहुमत दिन आग्रह गर्नुभयो। “गत आमनिर्वाचनमा महोत्तरीमा जनताले प्रत्यक्ष रूपमा एमालेका एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्यलाई जिताउनुभयो। हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनमा पनि जनताले एमालेप्रति आफ्नो भरोसा पुनः देखाउनुभएको छ,” पोखरेलले भन्नुभयो।

जनसभामा एमालेका पोलिटब्यूरो सदस्य सुमनराज प्याकुरेल र केन्द्रीय सदस्य तथा मधेश सरकारका भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवले पनि मधेशमा योजनाबद्ध विकासको आवश्यकता र त्यसतर्फ भएका प्रयासहरूबारे प्रकाश पार्नुभयो।

कार्यक्रमको अध्यक्षता नेकपा (एमाले) महोत्तरी जिल्ला अध्यक्ष बलिराम यादवले गर्नुभएको थियो। यस अवसरमा पार्टी प्रवेश गर्ने नयाँ सदस्यहरूलाई महासचिव पोखरेलले स्वागत गर्दै एमालेको विकास यात्रामा सामेल हुन आह्वान गर्नुभयो।

एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिन्छः प्रधानमन्त्री ओली

0

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक सद्भाव कायम गर्दै एकताबद्ध प्रयासमार्फत देशको समृद्धि सम्भव हुने बताएका छन्।

नेपाल संवत् ११४५ का अवसरमा नेकपा (एमाले) काठमाडौं महानगर कमिटीले वसन्तपुरमा आयोजना गरेको जलपान कार्यक्रममा शुभकामना सन्देश दिँदै एमाले अध्यक्ष ओलीले सबै तहका नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर शान्त र समृद्ध नेपाल निर्माणमा लाग्न आग्रह गरे।

प्रधानमन्त्री ओलीले कला, संस्कृति, र सभ्यतामा धनी नेपालले आफ्नो राष्ट्रिय पहिचान र संस्कृतिको संरक्षण गर्दै मानव कल्याणका लागि योगदान दिनुपर्नेमा जोड दिए।

उक्त कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य आनन्द पोखरेल, रामेश्वर फुयाँल, केन्द्रीय सदस्य शान्ति अधिकारी, काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौला, र काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलसहित महानगर कमिटीका अन्य सदस्यहरूको उपस्थिति थियो।

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको अन्तिम संस्कार आज

0

नयाँ दिल्ली: भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको अन्तिम संस्कार आज, डिसेम्बर २८, २०२४, दिल्लीको निगमबोध घाटमा गरिँदैछ। गृह मन्त्रालयका अनुसार अन्तिम संस्कार कार्यक्रम बिहान ११ः४५ बजे सुरु हुनेछ।

गृह मन्त्रालयले जारी गरेको वक्तव्यमा राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति जगदीप धनखर, प्रधानमन्त्री नरेन्द्र मोदी, तथा अन्य कैयौं मन्त्री र नेताहरू अन्तिम संस्कारमा सहभागी हुने पुष्टि भएको छ।

कांग्रेस पार्टीका महासचिव केसी वेणुगोपालका अनुसार शबयात्रा आज बिहान ९ः३० बजे दिल्लीस्थित अखिल भारतीय कांग्रेस कमिटी (एआईसीसी) को मुख्यालयबाट सुरु हुनेछ। मनमोहन सिंहप्रति श्रद्धाञ्जलि अर्पण गर्न हजारौं समर्थकहरू, कांग्रेसका कार्यकर्ता, र आम नागरिकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति सम्मानस्वरूप भारत सरकारले सात दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। यस अवधिमा देशभर राष्ट्रिय झण्डा आधा झुकाइने छ। साथै, राष्ट्रपति भवनमा आज हुने गार्ड परिवर्तन कार्यक्रम स्थगित गरिएको छ। यो सैन्य परम्पराअनुसार राष्ट्रपतिको सुरक्षा जिम्मेवारी एउटा समूहले अर्को समूहलाई हस्तान्तरण गर्ने गरिन्छ।

मनमोहन सिंहले २००४ देखि २०१४ सम्म भारतका प्रधानमन्त्रीका रूपमा सेवा गर्दै देशको आर्थिक सुधारमा उल्लेखनीय योगदान गरेका थिए। उनी प्रख्यात अर्थशास्त्रीका रूपमा समेत चिनिन्छन्। विश्व बैंकका पूर्वकर्मचारी सिंहले १९९१ को आर्थिक संकटका समयमा भारतलाई उदारीकरणको बाटोमा डोर्‍याएका थिए।

उनको निधनले भारतको राजनीतिक र आर्थिक क्षेत्रलाई ठूलो क्षति पुगेको छ। देशभरका नेताहरूले सिंहलाई समर्पित गर्दै उनीप्रतिको श्रद्धाञ्जलि व्यक्त गरेका छन्। कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे र राहुल गान्धीले सिंहलाई “एक उत्कृष्ट नेता र समर्पित राष्ट्रसेवक” का रूपमा स्मरण गरेका छन्।

मनमोहन सिंहको निधनले सम्पूर्ण देश शोकमग्न भएको छ, र उनको योगदान सधैं स्मरणीय रहनेछ।

त्रिविविको ५० औं दिक्षान्त समारोह: १४ हजार विद्यार्थी दीक्षित (तस्बिरहरू)

0

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका छन्।

प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजित ५०औं दीक्षान्त समारोहमा विद्यावारिधि गर्ने र सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरे।

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातक तहका नौ हजार ६८, स्नातकोत्तर तहका पाँच हजार ५५, एमफिलका ६३ र विद्यावारिधि (पिएचडी) का एक सय २२ जना विद्यार्थी दीक्षित भएका छन्।

त्रिभुवन विश्वविद्यालयबाट लिइएका विभिन्न तह एवं विषयका परीक्षामा सर्वप्रथम भएका विद्यार्थीलाई विभिन्न पदकबाट पुरस्कृतसमेत गरिएको छ। यस वर्षको त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ सहिद उपप्राध्यापक हरिराज अधिकारी स्वर्णपदक व्यवस्थापन शङ्कायका हीरा श्रेष्ठलाई र श्री इन्द्रभक्त श्रेष्ठ स्वर्णपदक स्कुल अफ म्यानेजमेन्टका सुधा काफ्लेलाई प्रदान गरिएको छ।

यसैगरी, अमृत पदक रसायनशास्त्र केन्द्रीय विभागका सुशील पोखरेललाई, मदन विद्या वातावरण विज्ञान पुरस्कार वातावरण विज्ञान केन्द्रीय विभागका रिकिता भण्डारीलाई, नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिं स्वर्णपदक र रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार काठमाडौं मोडल कलेजका रेविका भण्डारीलाई प्रदान गरिएको छ।

नरेन्द्रमणि आचार्य दीक्षित पदक र डा मोहनप्रसाद लाखे स्वर्णपदक रत्नराज्यलक्ष्मी क्याम्पसका सुदीक्षा घिमिरेले पाउनु भएको छ। शान्ति–नारायण मिश्र पदकबाट पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागका सञ्जीवकुमार सिंह, डा दुबसु क्षेत्री स्वर्ण पदकबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका प्रतीकराज जोशी, इमिरेट्स प्रा डा रामप्रसाद चौधरी स्वर्ण पदकबाट वनस्पति शास्त्र केन्द्रीय विभागका श्रीणा क्षेत्री र नारायण शान्ति मिश्र पदकबाट पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका चेतना कुँवरबाछ पुरस्कृत भएका छन्।

तारपद चौधरी पदक, खगेन्द्रमान सिं प्रधान पदक र चन्द्रराज ढुङ्गेल स्मृति पुरस्कार श्रीज्या काफ्लेले पाएका छन्। काफ्ले अर्थशास्त्र केन्द्रीय विभागको छात्रा हुनुहुन्छ। शील्पा विष्ट प्राज्ञिक उत्कृष्टता पुरस्कार शिक्षाशास्त्र केन्द्रीय विभागका सीताकुमारी श्रेष्ठले प्राप्त गरेकी छन्।