Sunday, April 26, 2026
Homeअन्तराष्ट्रियपाकिस्तान र अफगानिस्तानबीच युद्धको जोखिम

पाकिस्तान र अफगानिस्तानबीच युद्धको जोखिम

काठमाडौं: पाकिस्तान र अफगानिस्तानबीचको तनाव अहिले गम्भीर मोडमा पुगेको छ। पाकिस्तानले अफगानिस्तानमा गरेको पछिल्लो हवाई आक्रमणपछि दुई देशबीचको द्वन्द्वले उग्र रूप लिएको छ।

१५ हजार तालिबानी लडाकु पाकिस्तानतर्फ अघि बढ्दै
स्रोतका अनुसार १५ हजार तालिबानी लडाकु पाकिस्तानको सीमा क्षेत्रतर्फ अघि बढिरहेका छन्। पाकिस्तानले आफ्नो सुरक्षा व्यवस्था कडा बनाउँदै पेशावर र क्वेटाबाट सेना तैनाथ गरेको छ। पाकिस्तानी सेनाका केही टुकडीहरू अफगानिस्तानको सीमामा परिचालित भएका छन्, भने तालिबानी लडाकुहरू मिर अली सीमा क्षेत्रमा पुगेका छन्। हालसम्म कुनै गोली हानाहान भएको खबर प्राप्त नभए पनि दुबै पक्षले आफ्नो सैन्य गतिविधि तीव्र बनाएका छन्।

अफगानिस्तानको विदेश मन्त्रालयले पाकिस्तानी दूतावासका इन्चार्जलाई बोलाएर आक्रमणको विरोध गरेको छ। मन्त्रालयका प्रवक्ता हाफिज जिया अहमदले यस आक्रमणलाई दुई देशबीचको सम्बन्धमा खलल पुर्‍याउने प्रयास भनेका छन्।

यो तनावको मुख्य कारण तेहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी) ले हालै वजिरिस्तानको माकिन क्षेत्रमा ३० पाकिस्तानी सैनिकको हत्या गरेको घटनालाई मानिएको छ। यस घटनाको प्रतिक्रियामा पाकिस्तानले अफगानिस्तानमा हवाई आक्रमण गरेको थियो।

अफगान तालिबानसँग आधुनिक हतियारहरूको ठूलो भण्डार रहेको छ। उनीहरू एके-४७, मोर्टार, रकेट लन्चरजस्ता हतियारहरू प्रयोग गर्न सक्षम छन्। तालिबान लडाकुहरूले पहाडी क्षेत्र र गुफाहरूमा लुकेर हमला गर्ने रणनीति अपनाउने गर्छन्, जसले पाकिस्तानी सेनालाई अप्ठ्यारोमा पारिरहेको छ। दुर्गम क्षेत्रहरूको जानकारी नहुनु पाकिस्तानका लागि थप चुनौती बनेको छ।

पाकिस्तान र अफगानिस्तानबीचको यो तनाव तत्काल समाधान हुने सम्भावना कम देखिन्छ। दुबै देशका बीचमा पछिल्लो समय पारस्परिक विश्वासको गम्भीर अभाव देखिएको छ। यसअघि पनि दुई देशबीच सीमा विवादले गर्दा पटक-पटक द्वन्द्व चर्केको थियो।

यो तनावले दक्षिण एसियामा स्थायित्वलाई थप खतरामा पारेको छ। अफगानिस्तान र पाकिस्तानका बीचको द्वन्द्वले केवल दुई देश मात्र नभई क्षेत्रीय सुरक्षामा समेत असर पार्ने सम्भावना रहेको छ। यसले शरणार्थी संकट र आतंकवादको गतिविधिलाई बढावा दिन सक्ने विश्लेषण गरिएको छ।

स्थिति अझै बिग्रन नदिन दुवै पक्षले वार्ताको बाटो अपनाउनु आवश्यक छ। तर, हालसम्म कुनै सकारात्मक पहलको संकेत देखिएको छैन।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका