Friday, June 26, 2026
Home Blog Page 527

सिञ्जा सभ्यतालाई विश्वसम्पदा सूचीमा राख्न अध्ययन गरिँदै

0

जुम्ला: नेपाली ‘खस’ भाषाको जन्मथलो सिञ्जा सभ्यतालाई विश्वसम्पदाको सूचीमा समावेश गर्नका लागि अध्ययन टोली जुम्ला पुगेको छ। केन्द्रीय पुरातत्व विभागको टोली यहाँ पुगेर विश्वसम्पदा सूचीमा राख्नका लागि आवश्यक आधारबारे अध्ययन र स्थानीयसँग छलफल गरिरहेको सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो।

सिञ्जा सभ्यताको ऐतिहासिक, वर्तमान र भविष्यका सन्दर्भमा पुरातत्व विभागको टोली स्थानीयसँग छलफल गर्दैछ। उहाँले भन्नुभयो, “विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गको नेतृत्वमा टोली सिञ्जा उपत्यकामा अध्ययन गर्न पुगेको हो।” टोलीले सिञ्जा, हिमा र कनकासुन्दरी गाउँपालिकाका क्षेत्रका सभ्यताबारे छलफल सुरु गरेको अध्यक्ष धितालले जानकारी दिनुभयो।

“सिञ्जा गाउँपालिकामा पुरातत्व विभागको टोली पहिलो पटक जुम्ला आइपुगेको हो,” महानिर्देशक प्रधानाङ्गले भन्नुभयो। “सिञ्जालाई विश्वसम्पदा सूचीमा समावेश गर्नका लागि यहाँका स्थानीय, स्थानीय सरकार र सरोकारवाला निकायका प्रतिनिधिसँग पहिलो चरणमा छलफल गरिएको छ।”

सिञ्जालाई विश्वसम्पदा सूचीमा राख्नका लागि सबैको सकारात्मक सुझाव आएको उल्लेख गर्दै उहाँले आधुनिक विकासका नाममा प्राचीन सभ्यताहरूको संरक्षण गर्न महत्त्वपूर्ण भएकोमा जोड दिनुभयो। पुरातत्व विभागले देशका १५ नयाँ क्षेत्रलाई विश्वसम्पदा सूचीमा समावेश गर्न तयारी थालेको छ।

कर्णाली प्रदेशका सिञ्जा सभ्यता र दैलेखको दुल्लुका २२ देवल पनि विश्वसम्पदा सूचीमा राख्नको लागि प्रक्रियामा रहेका छन्। विभागले सिञ्जालाई विश्वसम्पदा सूचीमा समावेश गर्ने काम अघि बढाएको महानिर्देशक प्रधानाङ्गको भनाइ छ। गाउँपालिकाका उपाध्यक्ष सीतली रोकायाले सिञ्जालाई विश्वसम्पदा सूचीमा समावेश गर्नका लागि विभागसँग पहल भइरहेको बताउनुभयो।

च्याउ खाँदा बिरामी भएका ३० वर्षीय मगरको मृत्यु,नौ जनाको अवस्था खतरामुक्त

0

दमौली (तनहुँ): च्याउ खाँदा बिरामी परेका एक व्यक्तिको मृत्यु भएको छ। व्यास नगरपालिका–६ शान्तिटोलका ३० वर्षीय नारायण मगरको म्याग्दे गाउँपालिका–६ सर्वलाङबाट उपचारको क्रममा पोखरामा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गत शुक्रबार राति च्याउ खाएर बिरामी परेका १० जनामध्ये नारायणको सोमबार मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए। उनका अनुसार अन्य नौ जनाको स्वास्थ्य स्थिति अहिले खतरामुक्त रहेको छ। उक्त घटनामा बिरामी परेका सबै व्यक्तिहरूले बारीमा उम्रिएको च्याउ खाएका थिए।

नेपाल प्रहरीको ३१औं महानिरीक्षक बने दीपक थापा

0

काठमाडौं: नेपाल प्रहरीका ३१औं महानिरीक्षक (आईजीपी)का रूपमा दीपक थापा नियुक्त भएका छन्। सोमबार सम्पन्न मन्त्रीपरिषद्को बैठकले थापालाई आईजीपीको जिम्मेवारी दिने निर्णय गरेको हो।

आईजीपीको पदका लागि तीन प्रतिस्पर्धीमध्ये वरीयताका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख थापा पहिलो स्थानमा थिए। दोस्रो स्थानमा प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरी र तेस्रो स्थानमा टेकबहादुर तामाङ थिए।

३०औं आईजीपी वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधि पूरा गरी आज राति अवकाश लिँदैछन्। एआईजी थापाले भोलि, चैत ५ देखि आईजीपीको कार्यभार सम्हाल्नेछन्।

थापाले आफ्नो करियरमा इन्स्पेक्टरबाट एआईजीसम्मको यात्रा तय गरेका छन् र २० भन्दा बढी युनिटको नेतृत्व गरेका छन्। नेतृत्व क्षमताका आधारमा उनले सबैभन्दा धेरै युनिट कमाण्ड गर्ने अफिसरको रूपमा प्रतिष्ठा कमाएका छन्। एआईजी भएपछि उनले उपत्यका प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयको प्रशासन विभागको प्रमुखका रूपमा कार्यसम्पादन गरेका थिए।

हाल, थापा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को नेतृत्व गर्दै आएका छन्। प्रशासन विभागमा उत्कृष्ट कार्यसम्पादनका लागि उनलाई पुरस्कृत पनि गरिएको छ।

डीआईजीको रूपमा बागमती प्रदेश प्रहरी प्रमुख, प्रहरी प्रधान कार्यालयको प्रबन्ध विभाग प्रमुख, र एसएसपीको रूपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख र प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखा प्रमुखका रूपमा कार्य गरेका थापा, एसपी र डीएसपीको रूपमा विभिन्न प्रमुख कार्यालयहरूमा कार्यरत थिए। उनले ११ वर्ष इन्स्पेक्टर दर्जामा रहँदा २० फरक युनिटको नेतृत्व गरेका छन्।

थापाले आफ्नो व्यापक नेतृत्व अनुभव, कमाण्ड कन्ट्रोलको उत्कृष्ट ट्रयाक रेकर्ड, र प्रहरी संगठनभित्रको प्रभावशाली छवि स्थापित गरेका छन्। उनका नेतृत्वमा रहेका सबै युनिटहरूले महत्त्वपूर्ण उपलब्धि हासिल गरेका छन्।

हालै चर्चामा रहेको नुवाकोटस्थित शेरा दरवारक्षेत्रको १ सय ६४ रोपनी जग्गाको अनुसन्धान पनि थापाकै नेतृत्वमा रहेको सिआइबीको टोलीले गरेको थियो।

मुलुकलाई पश्चगामी दिशामा फर्काउने प्रयास सफल हुँदैनः एमाले

0

काठमाडौं। नेकपा एमालेले मुलुकलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल हुन नसक्ने निष्कर्ष निकालेको छ।

पार्टी कार्यालय च्यासलमा सोमबार बसेको एमाले सचिवालय बैठकले एक विशेष प्रस्ताव पारित गर्दै उपलब्धि अस्वीकार गर्ने, नकारात्मक भाष्य निर्माण गर्ने, जनता र राष्ट्रको मनोबल कमजोर पार्ने र त्यसको बहानामा मुलुकलाई अलोकतान्त्रिक दिशामा फर्काउने प्रयासलाई अस्वीकार गरेको जनाएको हो।

पार्टीको विशेष प्रस्तावमा भनिएको छ कि केही समयदेखि लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध हुने सुनियोजित गतिविधिहरूको प्रति गम्भीर ध्यानाकर्षण गरिएको छ। बैठकले मुलुकको परिवर्तन उल्ट्याउने र मुलुकलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल हुन नसक्ने निष्कर्षमा पुगेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

२१औं शताब्दीमा पनि जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस आफैंमा हाँस्यास्पद, हानिकारक र निरर्थक हो भन्ने कुरा बैठकले विशेष ध्यानमा राखेको ज्ञवालीले बताए।

त्यस्तै बैठकले लुम्बिनी प्रदेश कमिटीले अनुमोदनका लागि पठाएको प्रदेशमा थप २८ सदस्यहरूको नाम अनुमोदन गरेको जानकारी पनि ज्ञवालीले दिए।

पूर्वविशिष्टलाई दिने सुविधा व्यवस्थित गर्न कानून बनाउन लागिएको गृहमन्त्रीको दाबी

0

काठमाडौं: गृहमन्त्री रमेश लेखकले पूर्व विशिष्ट पदाधिकारीलाई सेवा सुविधा दिने वा नदिने विषयमा कानुनी स्पष्टता आवश्यक रहेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री लेखकले पूर्व विशिष्ट पदाधिकारीका लागि हाल कुनै कानुनी व्यवस्था नभएको उल्लेख गरे। अदालत, महालेखापरीक्षकको कार्यालय र संसदीय समितिहरुले कानुन बनाएर मात्र सेवा सुविधा दिन सकिने सुझाव दिएपछि सरकार यो कानुन निर्माण प्रक्रियामा रहेको उनले बताए। उनले यसबाट राज्यकोषमा अतिरिक्त भार नपर्ने दाबी गरे।

गृहमन्त्री लेखकका अनुसार विधेयकको मस्यौदा तयार गर्दा राज्यलाई अनावश्यक आर्थिक दायित्व नबढ्ने, सार्वजनिक पदहरूको गरिमा अभिवृद्धि हुने, नागरिक स्वीकार्यता सुनिश्चित हुने र राज्यको क्षमतासँग सन्तुलन मिल्ने गरी सरकार सचेत रहेको छ। करदाताको योगदान कानुनी प्रक्रियाअनुसार मात्र खर्च गरिनुपर्ने सरकारको अडान रहेको उनले प्रस्ट्याए।

“अन्तर्राष्ट्रिय अभ्यास, अदालतका फैसला, विगतका निर्णय, जनभावना र सञ्चार माध्यमको खबरदारीलाई ध्यानमा राख्दै सरकारले कानुन निर्माणको आवश्यकता महसुस गरेको हो। संसद्ले गरेको निर्णय सरकार कार्यान्वयन गर्छ,” उनले भने।

केबलकार निर्माण विवादगृहमन्त्री लेखकले पाथीभरा केवलकार निर्माणसम्बन्धी विवादलाई वार्ता र संवादमार्फत समाधान गर्न सरकार इच्छुक रहेको बताए। उनले आन्दोलनरत पक्षका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय सरोकार सम्बोधन गर्न सरकार तयार रहेको स्पष्ट पारे। हाल सुरक्षा निकायले उच्च संयमता अपनाएर शान्ति सुरक्षाको व्यवस्था गरिरहेको उनले जानकारी गराए।

विपद् व्यवस्थापन र आगलागी नियन्त्रणगृहमन्त्री लेखकले आगलागी रोकथाम तथा न्यूनीकरणका लागि सरकारले प्राथमिकता दिइरहेको बताए। आगलागीको जोखिम भएका जिल्लाहरूमा पूर्वतयारी योजना बनाई कार्यान्वयन भइरहेको उल्लेख गर्दै उनले तालिम प्राप्त जनशक्ति परिचालन र उपलब्ध उपकरणहरूको अधिकतम प्रयोग सुनिश्चित गरिने बताए।

अपराध अनुसन्धान र सुरक्षा व्यवस्थापनदेशका विभिन्न स्थानमा भएका आपराधिक घटनाहरूमा अनुसन्धान निष्पक्ष रूपमा भइरहेको गृहमन्त्री लेखकले बताए। केही घटनाको छानबिन जारी रहेको र केही टुंगो लागिसकेको जानकारी दिँदै उनले अपराध न्यूनीकरणका लागि गृह मन्त्रालय प्रतिबद्ध रहेको बताए।

सडक दुर्घटनाका घटनामा घाइतेको उपचार र क्षतिपूर्ति प्रचलित कानुनअनुसार भइरहेको उनले बताए। सीमावर्ती क्षेत्रका जनताको आवतजावत, अत्यावश्यक सामग्री ल्याउँदा हुने समस्याका साथै सीमामा हुने तस्करी नियन्त्रण गर्न सुरक्षा संयन्त्रबीच समन्वयात्मक बैठक नियमित रूपमा भइरहने जानकारी उनले दिए।

“सीमामा निगरानी बढाइएको छ। यसै वर्ष थप सात बोर्डर आउटपोस्ट (बीओपी) स्थापना गर्ने तयारी छ। अवैध चोरी–पैठारी नियन्त्रणमा सरकार शून्य सहनशीलताको नीति अवलम्बन गर्दैछ,” उनले स्पष्ट गरे।

लागुऔषध उपचार तथा पुनःस्थापना केन्द्रगृहमन्त्री लेखकले लागुऔषध उपचार तथा पुनःस्थापना केन्द्रमा उपचाररत व्यक्तिहरूमाथि कुनै पनि अमानवीय व्यवहारलाई सरकारले स्वीकार नगर्ने बताए। उनले नेपाल सरकारले सबै जातजाति, धर्म, संस्कृति र परम्परालाई सम्मान तथा प्रवद्र्धन गरिरहेको उल्लेख गर्दै माझी समुदायका पर्व तथा परम्परालाई प्रवद्र्धन गर्न सार्वजनिक बिदाको पुनरावलोकन गरिने जानकारी दिए।

सुरक्षा निकाय र प्रशासनिक सुधारदैलेखका प्रहरी कार्यालयहरूमा सुरक्षाकर्मीको संख्या न्यून रहेको विषयमा जनशक्ति थप गर्नुपर्ने आवश्यकता देखिएको गृहमन्त्री लेखकले बताए। “नेपाल प्रहरीले गरेको अध्ययनअनुसार करिब २८,००० सुरक्षाकर्मी थप्न आवश्यक देखिएको छ। यो प्रक्रिया क्रमशः कार्यान्वयन गरिनेछ,” उनले भने।

सिरहा, रौतहटलगायतका जिल्लाहरूमा नागरिकता सम्बन्धी मुद्दामा कानुनी प्रक्रियाअनुसार अनुसन्धान अघि बढिरहेको उनले जानकारी दिए। देशभर ५७ इलाका प्रशासन कार्यालय स्थापनाका लागि माग आएको उल्लेख गर्दै उनले स्रोतसाधनको प्राथमिकता हेरी क्रमशः कार्यान्वयन गरिने बताए।

बाल सुधार गृहमा देखिएका समस्याहरूको दीर्घकालीन समाधानका लागि सरकार प्रतिबद्ध रहेको गृहमन्त्री लेखकले बताए। संसद्मा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले शान्ति, सुव्यवस्था र सुरक्षालाई जनताले अनुभूत गर्ने गरी गृह मन्त्रालयले अधिकतम स्रोतसाधन परिचालन गरिरहेको बताए।

प्रहरी महानिरीक्षक कुँवर अवकाशमा, नयाँ आईजीपी को बन्दैछ?

0

काठमाडौँ: नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्त बहादुर कुँवर सोमबारदेखि सेवा निवृत्त हुँदैछन्। २०७९ चैत १० गते आईजीपी नियुक्त भएका कुँवर ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाशमा जान लागेका हुन्।

कुँवरसँगै छ जना एआईजी र तीन जना डीआईजी पनि अवकाश हुँदैछन्। अवकाश हुने एआईजीहरूमा टेक प्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई छन्। यस्तै, उनीहरूकै ब्याचमेट डीआईजीहरू गणेश चन्द, भोला रावल र ध्रुवराज राउत पनि आजैदेखि अवकाश पाउँदैछन्।

आईजीपी प्रतिस्पर्धा : को बन्ने नयाँ प्रहरी प्रमुख?
कुँवरको अवकाशसँगै नेपाल प्रहरीको ३१ औँ आईजीपीको छनोटलाई लिएर चासो बढेको छ। नयाँ प्रहरी ऐन समयमै लागू नहुने र ३० वर्षे सेवा अवधि कायमै रहने भएपछि सरकारले सोमबारै प्रहरी प्रधान कार्यालयमा कुँवरलाई बिदाइ गर्ने कार्यक्रम राखेको छ।

नयाँ प्रहरी प्रमुखको नियुक्तिका लागि सोमबार मन्त्रिपरिषद् बैठक बस्ने तय भएको छ। प्रतिस्पर्धामा रहेका तीन अतिरिक्त महानिरीक्षक (एआईजी)हरू हुन् –

दीपक थापा – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख
सुदीप गिरी – राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रमुख
टेकबहादुर तामाङ – उपत्यका प्रहरी कार्यालय प्रमुख
वरीयता सूची अनुसार को अगाडि?
यी तीनमध्ये दीपक थापा वरीयता सूचीमा पहिलो नम्बरमा छन्, सुदीप गिरी दोस्रो र टेकबहादुर तामाङ तेस्रो स्थानमा छन्। यदि मेरिटकै आधारमा नियुक्ति भएमा थापा प्रहरी प्रमुख बन्ने सम्भावना उच्च छ।

थापा २०७९ चैत ६ गते कुँवरसँगै एआईजीमा बढुवा भएका थिए, भने गिरी र तामाङ २०७९ चैत २४ मा बढुवा भएका थिए।

एआईजी टेक प्रसाद राई : कुँवरसँगै प्रतिस्पर्धा गरेका अधिकारी
अवकाशमा जान लागेका एआईजी टेक प्रसाद राई पनि कुँवरसँगै आईजीपीको प्रतिस्पर्धामा थिए। सोही ब्याचका श्यामलाल ज्ञवाली र किरण बज्राचार्य यसअघि नै अवकाश भइसकेका छन्।

यसबीच, अवकाशमा जान लागेका डीआईजी गणेश चन्द सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख थिए भने भोला रावल गण्डकी प्रदेश प्रमुख थिए। रावल आइतबार नै गण्डकी प्रदेश प्रहरी कार्यालयबाट बिदा भएर काठमाडौँ आएका छन्।

अब मन्त्रिपरिषद्को निर्णयले नेपाल प्रहरीको नयाँ नेतृत्व को सम्हाल्ने भन्ने टुंगो लगाउनेछ।

आजको मौसम : कोशी र मधेसमा हावाहुरीको सम्भावना

0

काठमाडौँ: हाल देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदलीसहित मौसम मुख्यतः सफा रहनेछ।

आज सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा तथा अन्य पहाडी भू–भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, यी दुई प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा तथा अन्य उच्च पहाडी तथा हिमाली भू–भागका एक-दुई स्थानमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।

साथै, कोशी र मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले सामान्य जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ। सम्भावित असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

फूल बिक्री गरेरै मासिक दुई लाख आम्दानी

0

बन्दीपुर (तनहुँ): आँबुखैरेनी गाउँपालिका–३ की २५ वर्षीया सरिश्मा गुरुङले विसं २०७७ मा रु ३,५०० को लगानीबाट सुरु गरेको फूल व्यवसाय छोटो समयमै सफल बन्न पुगेको छ।

फूलको व्यापार विस्तार गर्दै सभा–सेमिनार, पास्नी, विवाहलगायतका कार्यक्रमहरूको सजावट गर्दै आएकी गुरुङ हाल मासिक रु २ लाखसम्म आम्दानी गर्ने बताउँछिन्।

उहाँका अनुसार, सिजनमा मासिक रु २० लाखसम्म कारोबार हुने गर्छ भने अन्य समयमा रु ८–९ लाख हाराहारी व्यापार हुने गरेको छ। खर्च कटाएर मासिक करिब रु २ लाख बचत हुने उहाँले जानकारी दिनुभयो।

“हाल पोखरा र काठमाडौँमा काम भइरहेको छ। ग्राहकलाई थप सहज बनाउन काठमाडौँमा नयाँ शाखा खोल्ने तयारीमा छौँ,” गुरुङले बताउनुभयो।

अब फूल व्यवसायलाई अझ व्यवस्थित बनाउन नर्सरी स्थापना गर्ने योजना रहेको बताउँदै, “व्यवसाय विस्तारका लागि जग्गा खोजी गरिरहेका छौँ। फूल तथा बिरुवा उत्पादन र बिक्री अझ प्रभावकारी बनाउनेछौँ,” उहाँले जानकारी दिनुभयो।

म्याग्दीमा रुखबाट खसेर वृद्धको मृत्यु

0

धौलागिरि (म्याग्दी):धवलागिरि गाउँपालिका–७, ताकममा घाँस काट्न गएका ६० वर्षीय थमन खत्रीको रुखबाट खसेर मृत्यु भएको छ।

प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठका अनुसार, स्थानीयहरूले खत्रीलाई घरबाट करिब एक किलोमिटर टाढा रहेको जङ्गलमा खनियाको रुखबाट खसेको अवस्थामा फेला पारेका थिए।

घटनाको जानकारी पाएपछि ताकम प्रहरी चौकीबाट खटिएको टोली आइतबार साँझ घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धानमा घाँस काट्ने क्रममा रुखबाट खसेर मृत्यु भएको देखिए पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

‘स्काई वाक’ले लयमा फर्कँदै भेडेटारका होटलहरु

0

धनकुटा: गत साउनदेखि सञ्चालनमा आएको भेडेटार स्काई वाक टावरले यहाँका होटल व्यवसायलाई उल्लेखनीय रूपमा राहत प्रदान गरेको छ। कोरोना महामारी र आर्थिक मन्दीका कारण सुस्ताएको भेडेटारको होटल व्यवसाय टावर सञ्चालनमा आएपछि क्रमशः सुधारोन्मुख बन्दै गएको व्यवसायीहरूको भनाइ छ।

होटल अरुण टपका सञ्चालक रमेश श्रेष्ठका अनुसार, “कोरोना अघिको जस्तो व्यापार छैन, तर टावर खुलेपछि कोरोनाकालको तुलनामा राम्रो भइरहेको छ।” विगत १८ वर्षदेखि होटल व्यवसायमा सक्रिय श्रेष्ठले भेडेटारको व्यापारिक चहलपहल पुनः बढ्ने विश्वास व्यक्त गर्नुभयो।

होटल लावती कर्नरका सञ्चालक लीलाराज लावतीले पनि स्काई वाक टावर सञ्चालनपछि होटल व्यवसायमा सुधार देखिएको बताउनुभयो। उहाँका अनुसार, भेडेटारका पर्यटकीय स्थलहरूको प्रचार–प्रसार गर्न सकेमा यस क्षेत्रको पुरानो व्यापारिक साख फर्कने आशा गरिएको छ।

होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले स्काई वाक सञ्चालनले स्थानीय व्यवसायमा सुधार भए पनि टावरको प्रवेश शुल्क महँगो भएकाले अपेक्षाअनुसार पर्यटक आकर्षित नभएको गुनासो गर्नुभयो।

हाल भेडेटारमा १०० भन्दा बढी सुविधा सम्पन्न होटल र करिब २०० साना होटलहरू सञ्चालनमा छन्। साँगुरीगढी गाउँपालिका, धनकुटा, तथा आंशिक रूपमा धरान उपमहानगरपालिकाको सीमामा निर्मित यो स्काई वाकले भेडेटारको पर्यटन र व्यापारमा महत्त्वपूर्ण योगदान पुर्‍याएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिनुभयो।

कोशी प्रदेश लगानी बोर्ड र वण्डर्स ग्रुप अन्तर्गत वण्डर्स एम्युजमेन्ट पार्क्स एण्ड एट्र्याक्सन्स प्रालिको रु २० करोड लगानीमा निर्माण भएको स्काई वाक टावर गत साउन १ गतेदेखि सञ्चालनमा आएको हो। सञ्चालक कम्पनीका प्रबन्ध निर्देशक सञ्जीव रोकायाका अनुसार, फागुनसम्ममा १ लाख ५० हजारभन्दा बढी पर्यटकले टावर अवलोकन गरिसकेका छन्, जसबाट रु ५ करोडभन्दा बढी कारोबार भएको छ।