Friday, June 26, 2026
Homeसामाचार‘स्काई वाक’ले लयमा फर्कँदै भेडेटारका होटलहरु

‘स्काई वाक’ले लयमा फर्कँदै भेडेटारका होटलहरु

धनकुटा: गत साउनदेखि सञ्चालनमा आएको भेडेटार स्काई वाक टावरले यहाँका होटल व्यवसायलाई उल्लेखनीय रूपमा राहत प्रदान गरेको छ। कोरोना महामारी र आर्थिक मन्दीका कारण सुस्ताएको भेडेटारको होटल व्यवसाय टावर सञ्चालनमा आएपछि क्रमशः सुधारोन्मुख बन्दै गएको व्यवसायीहरूको भनाइ छ।

होटल अरुण टपका सञ्चालक रमेश श्रेष्ठका अनुसार, “कोरोना अघिको जस्तो व्यापार छैन, तर टावर खुलेपछि कोरोनाकालको तुलनामा राम्रो भइरहेको छ।” विगत १८ वर्षदेखि होटल व्यवसायमा सक्रिय श्रेष्ठले भेडेटारको व्यापारिक चहलपहल पुनः बढ्ने विश्वास व्यक्त गर्नुभयो।

होटल लावती कर्नरका सञ्चालक लीलाराज लावतीले पनि स्काई वाक टावर सञ्चालनपछि होटल व्यवसायमा सुधार देखिएको बताउनुभयो। उहाँका अनुसार, भेडेटारका पर्यटकीय स्थलहरूको प्रचार–प्रसार गर्न सकेमा यस क्षेत्रको पुरानो व्यापारिक साख फर्कने आशा गरिएको छ।

होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले स्काई वाक सञ्चालनले स्थानीय व्यवसायमा सुधार भए पनि टावरको प्रवेश शुल्क महँगो भएकाले अपेक्षाअनुसार पर्यटक आकर्षित नभएको गुनासो गर्नुभयो।

हाल भेडेटारमा १०० भन्दा बढी सुविधा सम्पन्न होटल र करिब २०० साना होटलहरू सञ्चालनमा छन्। साँगुरीगढी गाउँपालिका, धनकुटा, तथा आंशिक रूपमा धरान उपमहानगरपालिकाको सीमामा निर्मित यो स्काई वाकले भेडेटारको पर्यटन र व्यापारमा महत्त्वपूर्ण योगदान पुर्‍याएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिनुभयो।

कोशी प्रदेश लगानी बोर्ड र वण्डर्स ग्रुप अन्तर्गत वण्डर्स एम्युजमेन्ट पार्क्स एण्ड एट्र्याक्सन्स प्रालिको रु २० करोड लगानीमा निर्माण भएको स्काई वाक टावर गत साउन १ गतेदेखि सञ्चालनमा आएको हो। सञ्चालक कम्पनीका प्रबन्ध निर्देशक सञ्जीव रोकायाका अनुसार, फागुनसम्ममा १ लाख ५० हजारभन्दा बढी पर्यटकले टावर अवलोकन गरिसकेका छन्, जसबाट रु ५ करोडभन्दा बढी कारोबार भएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका