Thursday, May 7, 2026
Home Blog Page 50

कालीमाटी बजारको मूल्यसूची: तरकारी सस्तो, फलफूलमा मध्यम मूल्य

0

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार)का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) २० रुपैयाँ र गोलभेँडा सानो (तराई) ४० रुपैयाँ कायम गरिएको छ। आलु रातो १५ रुपैयाँ, आलु रातो (भारतीय) २० रुपैयाँ तथा सुकेको प्याज (भारतीय) ३४ रुपैयाँ तोकिएको छ।

तरकारीतर्फ गाजर (लोकल) २० रुपैयाँ, गाजर (तराई) १६ रुपैयाँ, बन्दा (लोकल) २२ रुपैयाँ, बन्दा (नरिवल) १८ रुपैयाँ, काउली (स्थानीय) ७० रुपैयाँ र काउली (तराई) ५५ रुपैयाँ निर्धारण गरिएको छ। सेतो मूला (लोकल) १५ रुपैयाँ, हाइब्रिड २० रुपैयाँ, भन्टा लाम्चो ५० रुपैयाँ र भन्टा डल्लो ६० रुपैयाँ तोकिएको छ।

यसैगरी, मटरकोसा ४० रुपैयाँ, घिउ सिमी (लोकल) ११० रुपैयाँ, हाइब्रिड ९० रुपैयाँ, राजमा ८० रुपैयाँ, टाटे सिमी ७० रुपैयाँ, तितो करेला १२० रुपैयाँ, लौका ९० रुपैयाँ र फर्सी ५० रुपैयाँ कायम गरिएको छ। हरियो फर्सी (लाम्चो) ८० रुपैयाँ र (डल्लो) ६० रुपैयाँ तोकिएको छ।

अन्य तरकारीमा सलगम ४० रुपैयाँ, भिन्डी १३० रुपैयाँ, सखरखण्ड ७० रुपैयाँ र पिँडालु ४५ रुपैयाँ रहेको छ। सागपाततर्फ रायोसाग ६० रुपैयाँ, पालुङ्गो, चमसुर र मेथीको साग जनही १०० रुपैयाँ तथा हरियो प्याज ५० रुपैयाँ निर्धारण गरिएको छ।

त्यस्तै, बकूला ४५ रुपैयाँ, तरुल ६० रुपैयाँ, च्याउ (कन्य) १२० रुपैयाँ, च्याउ (डल्ले) २५० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ, ब्रोकाउली ८० रुपैयाँ र चुकुन्दर ५० रुपैयाँ कायम गरिएको छ। साथै जिरीको साग ५० रुपैयाँ, सेलरी १०० रुपैयाँ, पार्सले १५० रुपैयाँ, सौफको साग र पुदिना जनही १०० रुपैयाँ तथा गुन्द्रुक ३०० रुपैयाँ तोकिएको छ।

फलफूलतर्फ स्याउ (झोले) २०० रुपैयाँ, स्याउ (फुजी) २५० रुपैयाँ, केरा दर्जन २०० रुपैयाँ, अनार ३०० रुपैयाँ, अंगुर (हरियो) २०० रुपैयाँ र (कालो) ३३० रुपैयाँ निर्धारण गरिएको छ। सुन्तला (भारतीय) १३० रुपैयाँ, तरबुजा ४० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १५० रुपैयाँ, काँक्रो (लोकल) ४० रुपैयाँ र (हाइब्रिड) २० रुपैयाँ तोकिएको छ।

यस्तै, निबुवा ७० रुपैयाँ, मेवा (नेपाली) ६० रुपैयाँ, स्ट्रबेरी २५० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ र अमला १७० रुपैयाँ कायम गरिएको समितिले जनाएको छ।

जेन–जी आन्दोलनपछि उदाएको नेतृत्व: सुशीला कार्कीको संक्रमणकालीन यात्रा र नयाँ राजनीतिक मोड

0

काठमाडौं । काठमाडौंको आकाश अझै धुवाँले धमिलिएको छ। सडकमा जलेका टायरका दाग मेटिएका छैनन् भने सिंहदरबार परिसरमा असामान्य सुनसान छ। केही समयअघि यही शहर युवा ऊर्जा, आक्रोश र परिवर्तनको मागले गुञ्जिएको थियो—जेन–जी आन्दोलनका रूपमा।

भदौ २३ र २४ गते सुरु भएको उक्त आन्दोलन केवल विरोधमा सीमित रहेन, बरु व्यवस्थाप्रतिको गहिरो असन्तुष्टिको विस्फोटका रूपमा देखियो। भ्रष्टाचार, कुशासन र पुरानो राजनीतिक संरचनाप्रतिको वितृष्णाले सडक भरिए। प्रदर्शन चर्किँदै जाँदा अवस्था नियन्त्रण बाहिर गयो, जसको मूल्य देशले ठूलो क्षतिका रूपमा चुकायो। ७२ जनाले ज्यान गुमाए, सयौँ घाइते भए र प्रशासनिक तथा न्यायिक संरचनाहरू आगलागीमा ध्वस्त भए।

यस उथलपुथलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार टिक्न सकेन। सत्ता समीकरण भत्कियो, संसद् विघटनको माग चर्कियो र देश केही समय सरकारविहीन अवस्थाबाट गुज्रियो।

यही संक्रमणकालीन अवस्थामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको अप्रत्याशित उदय भयो। भदौ २७ गते उनले नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा शपथ लिँदै इतिहास रचिन्। ४२औँ प्रधानमन्त्रीका रूपमा उनले जिम्मेवारी सम्हाल्दा देश राजनीतिक मात्र होइन, संस्थागत रूपमा पनि गम्भीर संकटमा थियो।

कार्कीको काँधमा दोहोरो जिम्मेवारी थियो—आन्दोलनका कारण भएको क्षतिको छानबिन गर्दै न्याय सुनिश्चित गर्नु र छ महिनाभित्र निष्पक्ष निर्वाचन सम्पन्न गर्नु। न्यायिक पृष्ठभूमि र ‘बोल्ड’ छविका कारण उनी चुनौती सामना गर्न सक्षम मानिन्थिन्। प्रधानन्यायाधीशका रूपमा प्राप्त अनुभवले उनलाई निर्णयमा दृढ रहन र दबाबबीच सन्तुलन कायम गर्न सहयोग गर्‍यो।

तर, उनको यात्रा सहज रहेन। मन्त्रिपरिषद् विस्तारै खुम्चिँदै गयो। मन्त्रीहरू राजीनामा दिँदै बाहिरिए वा चुनावी मैदानमा होमिए। अन्त्यतिर उनको साथमा गृहमन्त्री, उद्योगमन्त्री र परराष्ट्रमन्त्री मात्र बाँकी रहे। सिंहदरबारमा चहलपहल घट्यो, प्रशासनिक निर्णयहरू सीमित भए, तर मुख्य लक्ष्य—निर्वाचन सम्पन्न गराउने—स्पष्ट रह्यो।

फागुन २१ गते, अनेक चुनौतीबीच निर्वाचन सम्पन्न भयो। यो केवल राजनीतिक प्रक्रिया नभई आन्दोलनपछिको लोकतान्त्रिक पुनर्स्थापनाको महत्वपूर्ण कदम थियो। कार्कीले आफ्नो कार्यभार पूरा गर्दै बालुवाटारबाट बिदा लिइन्—एक सफल संक्रमणकालीन नेताको रूपमा।

उनको कार्यकालमा आन्दोलनका पीडितलाई क्षतिपूर्ति दिइयो र ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गरियो। यद्यपि, अन्तिम समयमा गरिएका केही नियुक्तिहरू विवादमा तानिए। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य तथा आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा सिफारिस गरिएको निर्णय विवादित बन्यो। पारिवारिक स्वार्थ र नातावादको आरोप पनि लाग्यो।

यसबीच उनले देशमा शान्ति र स्थिरता कायम गर्न निरन्तर प्रयास गरिन्। हिंसा रोक्न एकता र संयमको अपिल गरिन् र आन्दोलनबाट प्रभावितहरूलाई राहत दिने घोषणा गरिन्।

अब देश नयाँ मोडमा उभिएको छ। निर्वाचन परिणामले नयाँ शक्ति सन्तुलन ल्याएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठूलो दलका रूपमा उदाएको छ र बालेन शाहलाई प्रधानमन्त्रीका रूपमा अघि सारेको छ। उनको शपथ ग्रहण १३ गतेका लागि तय भएको छ।

आन्दोलनको धुवाँ विस्तारै हट्दैछ, तर त्यसले उठाएका प्रश्नहरू अझै बाँकी छन्—शासन कस्तो हुनेछ? जनताको अपेक्षा कसरी पूरा गरिनेछ? र सबैभन्दा महत्वपूर्ण, के यो परिवर्तन दीर्घकालीन हुनेछ?

सुशीला कार्कीको छोटो तर निर्णायक कार्यकालले एउटा सन्देश भने स्पष्ट दिएको छ—संकटको घडीमा नेतृत्व केवल पद वा राजनीतिक हैसियतले होइन, दृढता, विश्वसनीयता र निर्णय क्षमताले परिभाषित हुन्छ।

पश्चिमी न्यून चापीय प्रभाव: देशभर मेघगर्जन, असिना र हिमपातको सम्भावना

0

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली भू–भागमा अधिकांश स्थानमा बादल लाग्नेछ भने पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली रहनेछ। तराई क्षेत्रमा पनि आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र हिमाली क्षेत्रका केही स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानमा पनि यस्तै खालको मौसमको प्रभाव देखिन सक्ने महाशाखाले जनाएको छ। उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना समेत रहेको छ।

आज राति भने हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा अन्य हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

अध्यागमन ‘सेटिङ’ भन्दै ठगी गर्ने आरोपमा एक पक्राउ

0

काठमाडौं । अध्यागमन विभागकेन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को समन्वयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘सेटिङ’ गरिदिने भन्दै रकम असुल्ने एक व्यक्ति पक्राउ परेका छन्।

लमजुङका जगत गुरुङलाई बुधबार लाजिम्पाटस्थित एक मेनपावर कम्पनीबाट पक्राउ गरिएको हो। उनीमाथि विदेश जाने व्यक्तिबाट प्रतिव्यक्ति एक लाख रुपैयाँसम्म असुल्ने आरोप लागेको छ।

प्रहरीका अनुसार सोलुखुम्बुका मिङ्मार दोर्जे शेर्पा र उनकी श्रीमतीसँग डी–८ भिसा प्रक्रियामा सहयोग गर्ने भन्दै २ लाख २० हजार रुपैयाँ माग गरिएको थियो। प्रारम्भिक रूपमा एक लाख रुपैयाँ लिइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको जनाइएको छ।

पीडितका अनुसार भिसा आइसकेपछि पनि ‘अध्यागमनले रोक्न सक्छ’ भन्दै डर देखाएर रकम असुल्ने प्रयास गरिएको थियो। यसबारे जानकारी पाएपछि अध्यागमन विभागले सीआईबीसँग समन्वय गरी अपरेशन चलाएको थियो।

रामचन्द्र तिवारी ले कागजात पूरा भएका व्यक्तिलाई अध्यागमनले नरोकिने स्पष्ट पार्दै यस्तो नाममा ठगी गर्नेविरुद्ध सतर्क रहन आग्रह गरेका छन्। उनले यस्ता गतिविधिबारे जानकारी पाए तत्काल सूचना दिन पनि सर्वसाधारणलाई आह्वान गरेका छन्।

पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाइएको छ।

अमेरिका–इरान तनाव अन्त्य प्रयास: १५ बुँदे प्रस्तावबीच युद्ध अझै जारी

0

काठमाडौं । अमेरिका, इसराइलइरान बीच झन्डै एक महिनादेखि जारी तनाव र युद्ध अन्त्यका लागि कूटनीतिक पहल तीव्र भएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अमेरिकाले इरानसमक्ष युद्ध अन्त्यका लागि १५ बुँदे प्रस्ताव पठाएको छ। प्रस्तावमा इरानको उच्च समृद्ध युरेनियम भण्डार हटाउने, युरेनियम समृद्धि कार्यक्रम रोक्ने, ब्यालिस्टिक मिसाइल कार्यक्रम सीमित गर्ने तथा क्षेत्रीय सशस्त्र समूहलाई दिइँदै आएको सहयोग कटौती गर्ने जस्ता सर्तहरू समावेश छन्।

यद्यपि, उक्त प्रस्ताव औपचारिक रूपमा सार्वजनिक गरिएको छैन। बरु, डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी पक्षले प्रस्ताव अस्वीकार भए आक्रमण अझ तीव्र पार्ने चेतावनी दिएको बताइएको छ।

इरानले भने प्रस्तावहरू अध्ययन गरिरहेको जनाएको छ। इरानी विदेशमन्त्री अब्बास अरागची का अनुसार प्रत्यक्ष वार्ताको कुनै योजना नभए पनि मध्यस्थकर्तामार्फत सन्देश आदान–प्रदान भइरहेको छ।

इरानले कुनै पनि सम्झौतामा लेबनन लाई समेत समेट्नुपर्ने अडान राखेको छ। साथै, इसराइल र अमेरिकाबाट हिजबुल्लाहमाथि आक्रमण नगर्ने प्रतिबद्धता माग गरिएको छ।

यसबीच, इरानले अमेरिकाको प्रस्ताव अस्वीकार गर्दै आफ्नै सर्तहरू अघि सारेको बताइएको छ। ती सर्तहरूमा अमेरिकाले आक्रमण नगर्ने ग्यारेन्टी, क्षतिपूर्ति तिर्नुपर्ने, खाडी क्षेत्रमा रहेका अमेरिकी सेना फिर्ता बोलाउनुपर्ने र ‘स्ट्रेट अफ हर्मुज’ प्रयोगमा शुल्क तिर्नुपर्ने माग समावेश छन्।

युद्धबीच दुवै पक्षबाट आक्रमण जारी रहेको छ। अमेरिकी केन्द्रीय कमान्डका अनुसार इरानका थुप्रै सैन्य संरचनामा प्रहार गरिएको दाबी गरिएको छ भने इरानले पनि इसराइल र खाडी क्षेत्रका केही स्थानमा आक्रमण तीव्र पारेको जनाइएको छ।

हाल कूटनीतिक पहल जारी रहे पनि दुवै पक्ष आ–आफ्ना अडानमा अडिग रहँदा मध्यपूर्वको तनाव तत्काल मत्थर हुने संकेत देखिएको छैन।

रास्वपा बैठकमा बालेनको पहिलो सहभागिता, संसदीय दल नेता बनाउने प्रस्ताव पारित

0

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता बालेन शाह पहिलो पटक सहभागी भएका छन्।

चःमतिस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकमा पार्टी सभापति रवि लामिछाने सहित शीर्ष नेताहरूको उपस्थिति रहेको छ।

बैठकमा बालेनलाई संसदीय दलको नेता चयन गर्न विधान संशोधन गर्ने विषयमा छलफल गरिएको थियो। सभापति लामिछानेले बालेनलाई दलको नेता बनाउने प्रस्ताव प्रस्तुत गरेका थिए, जुन केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

केन्द्रीय समिति बैठकपछि संसदीय दलको बैठक बस्नेछ, जहाँ बालेनलाई औपचारिक रूपमा संसदीय दलको नेता चयन गर्ने तयारी गरिएको छ। साथै, भोलि प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको बताइएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी द्वारा संसदीय दल गठन प्रस्ताव पारित

0

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिले संसदीय दल गठनसम्बन्धी प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।

बिहीबार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले उक्त प्रस्ताव पारित गरेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

केन्द्रीय समिति बैठकपछि संसदीय दलको बैठक बस्ने र त्यसले दलको नेता चयन गर्ने कार्यक्रम रहेको छ।

२७४ सांसदको शपथ सम्पन्न, संसद् औपचारिक रूपमा सक्रिय

0

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित २७४ जना सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

बिहीबार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले नवनिर्वाचित सांसदहरूलाई शपथ गराएका हुन्।

सांसदहरू विभिन्न सांस्कृतिक तथा परम्परागत भेषभूषामा सिंहदरबारस्थित संसद् भवनमा उपस्थित भई शपथ कार्यक्रममा सहभागी भएका थिए।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ अनुसार कुनै पनि सदस्यले प्रतिनिधिसभा वा त्यसका समितिको बैठकमा सहभागी हुनुअघि अध्यक्षता गर्ने व्यक्तिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था रहेको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ले १८२ सिटसहित बहुमत हासिल गरेको छ। त्यसैगरी नेपाली कांग्रेस ले ३८, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले २५, नेपाली कम्युनिस्ट पार्टी ले १७, श्रम संस्कृति पार्टीले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टी ले ५ सिट प्राप्त गरेका छन्।

सेन्ट्रल अफ्रिकन रिपब्लिक मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

0

काठमाडौं । संयुक्त राष्ट्र संघ को आह्वानमा शान्ति स्थापनाका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिक मा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार मिसनमा आफ्नो कार्यकाल पूरा गरेका २११ जना शान्ति सैनिक चैत ११ गते स्वदेश फर्किएका छन्। उनीहरूको स्थानमा १७९ जना शान्ति सैनिकको पहिलो टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको छ।

रिपुमर्दन गण (सातौँ डफ्फा) र सैनिक प्रहरी युनिट (दशौँ डफ्फा) लाई बदली गर्न कालीबहादुर गण (आठौँ डफ्फा) र सैनिक प्रहरी युनिट (एघारौँ डफ्फा) मिसन क्षेत्रमा पठाइएको हो।

हाल उक्त शान्ति मिसनमा नेपाली सेनाका कुल १ हजार १०७ जना शान्ति सैनिक कार्यरत रहेका छन्।

परिणामबाट नआत्तिन ओलीको निर्देशन, सांसदलाई जनहितमा काम गर्न आह्वान

0

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले निर्वाचन परिणामबाट हरेश नखाई देश र जनताको हितमा दृढतापूर्वक काम गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन्।

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ लिएलगत्तै च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका सांसदहरूलाई जनहित र राष्ट्र निर्माणलाई केन्द्रमा राखेर काम गर्न आग्रह गरे।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टीले विगतमा पनि देश र जनताको पक्षमा काम गरेको स्मरण गराउँदै आगामी दिनमा समृद्धि र विकासको दिशामा अघि बढ्नुपर्नेमा जोड दिए। उनले आफूहरू सत्यको मार्गमा रहेको उल्लेख गर्दै गलत प्रचारविरुद्ध एकजुट भएर सामना गर्नुपर्ने बताए।

“तथ्य र तर्कविहीन तथा भ्रमपूर्ण आक्रमण हुन सक्छन्, त्यसको सामना गर्न एकताबद्ध हुनु आवश्यक छ,” उनले भने, “हामी सत्यको मार्गमा थियौँ, छौँ र रहनेछौँ।”

उनले पार्टीभित्र एकता, अनुशासन र नीतिअनुसार काम गर्न नेताहरू तथा सांसदहरूलाई आग्रह गरे।

अध्यक्ष ओलीले विश्व राजनीतिमा बढ्दो अराजकताको चर्चा गर्दै अन्तर्राष्ट्रिय संस्थाहरूको प्रभावकारिता घट्दै गएको टिप्पणी पनि गरे। कार्यक्रममा पार्टीका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, महासचिव शंकर पोखरेल लगायत नेताहरूको उपस्थिति रहेको थियो।