काठमाडौं । अध्यागमन विभाग र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को समन्वयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘सेटिङ’ गरिदिने भन्दै रकम असुल्ने एक व्यक्ति पक्राउ परेका छन्।
लमजुङका जगत गुरुङलाई बुधबार लाजिम्पाटस्थित एक मेनपावर कम्पनीबाट पक्राउ गरिएको हो। उनीमाथि विदेश जाने व्यक्तिबाट प्रतिव्यक्ति एक लाख रुपैयाँसम्म असुल्ने आरोप लागेको छ।
प्रहरीका अनुसार सोलुखुम्बुका मिङ्मार दोर्जे शेर्पा र उनकी श्रीमतीसँग डी–८ भिसा प्रक्रियामा सहयोग गर्ने भन्दै २ लाख २० हजार रुपैयाँ माग गरिएको थियो। प्रारम्भिक रूपमा एक लाख रुपैयाँ लिइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको जनाइएको छ।
पीडितका अनुसार भिसा आइसकेपछि पनि ‘अध्यागमनले रोक्न सक्छ’ भन्दै डर देखाएर रकम असुल्ने प्रयास गरिएको थियो। यसबारे जानकारी पाएपछि अध्यागमन विभागले सीआईबीसँग समन्वय गरी अपरेशन चलाएको थियो।
रामचन्द्र तिवारी ले कागजात पूरा भएका व्यक्तिलाई अध्यागमनले नरोकिने स्पष्ट पार्दै यस्तो नाममा ठगी गर्नेविरुद्ध सतर्क रहन आग्रह गरेका छन्। उनले यस्ता गतिविधिबारे जानकारी पाए तत्काल सूचना दिन पनि सर्वसाधारणलाई आह्वान गरेका छन्।
पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाइएको छ।


