काठमाडौं । अमेरिका, इसराइल र इरान बीच झन्डै एक महिनादेखि जारी तनाव र युद्ध अन्त्यका लागि कूटनीतिक पहल तीव्र भएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अमेरिकाले इरानसमक्ष युद्ध अन्त्यका लागि १५ बुँदे प्रस्ताव पठाएको छ। प्रस्तावमा इरानको उच्च समृद्ध युरेनियम भण्डार हटाउने, युरेनियम समृद्धि कार्यक्रम रोक्ने, ब्यालिस्टिक मिसाइल कार्यक्रम सीमित गर्ने तथा क्षेत्रीय सशस्त्र समूहलाई दिइँदै आएको सहयोग कटौती गर्ने जस्ता सर्तहरू समावेश छन्।
यद्यपि, उक्त प्रस्ताव औपचारिक रूपमा सार्वजनिक गरिएको छैन। बरु, डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी पक्षले प्रस्ताव अस्वीकार भए आक्रमण अझ तीव्र पार्ने चेतावनी दिएको बताइएको छ।
इरानले भने प्रस्तावहरू अध्ययन गरिरहेको जनाएको छ। इरानी विदेशमन्त्री अब्बास अरागची का अनुसार प्रत्यक्ष वार्ताको कुनै योजना नभए पनि मध्यस्थकर्तामार्फत सन्देश आदान–प्रदान भइरहेको छ।
इरानले कुनै पनि सम्झौतामा लेबनन लाई समेत समेट्नुपर्ने अडान राखेको छ। साथै, इसराइल र अमेरिकाबाट हिजबुल्लाहमाथि आक्रमण नगर्ने प्रतिबद्धता माग गरिएको छ।
यसबीच, इरानले अमेरिकाको प्रस्ताव अस्वीकार गर्दै आफ्नै सर्तहरू अघि सारेको बताइएको छ। ती सर्तहरूमा अमेरिकाले आक्रमण नगर्ने ग्यारेन्टी, क्षतिपूर्ति तिर्नुपर्ने, खाडी क्षेत्रमा रहेका अमेरिकी सेना फिर्ता बोलाउनुपर्ने र ‘स्ट्रेट अफ हर्मुज’ प्रयोगमा शुल्क तिर्नुपर्ने माग समावेश छन्।
युद्धबीच दुवै पक्षबाट आक्रमण जारी रहेको छ। अमेरिकी केन्द्रीय कमान्डका अनुसार इरानका थुप्रै सैन्य संरचनामा प्रहार गरिएको दाबी गरिएको छ भने इरानले पनि इसराइल र खाडी क्षेत्रका केही स्थानमा आक्रमण तीव्र पारेको जनाइएको छ।
हाल कूटनीतिक पहल जारी रहे पनि दुवै पक्ष आ–आफ्ना अडानमा अडिग रहँदा मध्यपूर्वको तनाव तत्काल मत्थर हुने संकेत देखिएको छैन।


