इस्लामावाद । अमेरिका र इरानबीचको ऐतिहासिक शान्ति वार्ता कुनै ठोस सहमति बिना नै टुङ्गिएको छ । लगातार २१ घण्टासम्म चलेको सघन छलफलपछि अमेरिकी प्रतिनिधिमण्डलले इरान आफ्ना सर्तहरूमा सहमत हुन नसकेको भन्दै वार्ता निष्कर्षविहीन भएको घोषणा गरेको हो ।
वार्तापछि सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिकाले आफ्नो ‘रेड लाइन’ स्पष्ट पारेको तर इरानले त्यसलाई स्वीकार नगरेको बताए । उनले भने, ‘हामीले निकै लामो समय खर्चिएर लचिलो बन्ने प्रयास गर्यौँ, तर इरानी पक्ष हाम्रा सर्तहरू मान्न तयार भएन ।’
भान्सले अमेरिकाले इरानसमक्ष आफ्नो ‘अन्तिम र उत्कृष्ट’ प्रस्ताव राखेको र अब त्यसलाई स्वीकार गर्ने वा नगर्ने जिम्मा इरानकै हातमा रहेको उल्लेख गरे ।
अमेरिकी टोलीमा राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर र मध्यपूर्वका लागि विशेष दूत स्टिभ विट्कफ पनि सहभागी थिए ।
उपराष्ट्रपति भान्सले इरानको आणविक कार्यक्रमलाई पूर्ण रूपमा रोक्नु नै ट्रम्प प्रशासनको मुख्य लक्ष्य रहेको दोहोर्याए । इरानको आणविक क्षमता ध्वस्त पारिएको दाबी गर्दै उनले भविष्यमा इरानले कहिल्यै परमाणु हतियार नबनाउने प्रतिबद्धता नजनाएसम्म सम्झौता हुन नसक्ने स्पष्ट पारे ।
वार्ता विफल भए पनि पाकिस्तानको मध्यस्थकर्ता भूमिकाको अमेरिकाले प्रशंसा गरेको छ । भान्सले पाकिस्तानी नेतृत्वलाई धन्यवाद दिँदै वार्तामा कुनै कमी भए त्यो पाकिस्तानको कारणले नभएको स्पष्ट पारे । वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी प्रतिनिधिमण्डल पाकिस्तानबाट फर्किने तयारीमा छ ।
यता, इरानको विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै अमेरिकाले अत्यधिक र गैरकानुनी मागहरू राखेको आरोप लगाएको छ । इरानले आफू खुला दिमागका साथ वार्तामा सहभागी भएको तर आफ्ना वैध अधिकार र स्वार्थको सम्मान हुनुपर्ने अडान दोहोर्याएको छ ।
दुवै पक्ष आफ्नै अडानमा अडिग रहँदा मध्यपूर्वको तनाव अन्त्य गर्ने यो प्रयास तत्कालका लागि असफल बनेको छ ।











