Friday, May 29, 2026
Homeराजनीतिदेश र जनताको भविष्य सुरक्षित गर्न लोकतान्त्रिक गणतन्त्रको रक्षा आवश्यक : ओली

देश र जनताको भविष्य सुरक्षित गर्न लोकतान्त्रिक गणतन्त्रको रक्षा आवश्यक : ओली

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु नै देश र जनताको भविष्यको रक्षा भएको बताएका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले गणतन्त्र स्थापना नेपाली जनताको सात दशकभन्दा लामो संघर्ष, बलिदान र त्यागको परिणाम भएको उल्लेख गरेका छन्। उनले १८ वर्षअघि निर्वाचित संविधानसभामार्फत गणतन्त्र घोषणा भएको स्मरण गर्दै बोल्ने, लेख्ने, संगठित हुने तथा राजनीतिक विचार व्यक्त गर्ने अधिकार प्राप्त गर्न हजारौँ अग्रजहरूले जीवन समर्पण गरेको बताएका छन्।

ओलीले हुकुमी शासनको अन्त्यपछि कानुनद्वारा सञ्चालित लोकतान्त्रिक प्रणाली स्थापना भएको उल्लेख गर्दै जनताको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन्। उनले अमर शहीद तथा अग्रजहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लोकतान्त्रिक संस्थाहरूलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।

उनले गणतन्त्र केवल शासन प्रणाली परिवर्तनको विषय मात्र नभई नेपाली समाजको चेतनामा आएको गहिरो रूपान्तरण भएको बताएका छन्। शताब्दीयौँसम्म ‘प्रजा’का रूपमा रहेको समाज आफ्नै संविधानमार्फत सार्वभौम नागरिकमा रूपान्तरित भएको उल्लेख गर्दै परिवर्तनको अभ्यासमा परिपक्वता आउन समय लाग्ने बताएका छन्।

ओलीका अनुसार स्थानीय तहसम्म राज्यको पहुँच विस्तार हुनु, महिला, दलित, जनजाति, मधेशी तथा पछाडि परेका समुदायको प्रतिनिधित्व बढ्नु, अभिव्यक्ति स्वतन्त्रता, डिजिटल सेवाको विस्तार, सडक तथा सञ्चार पहुँच गणतन्त्रका महत्वपूर्ण उपलब्धि हुन्।

यद्यपि, परिवर्तनको गति अपेक्षाअनुसार तीव्र हुन नसकेको स्वीकार गर्दै उनले असन्तुष्टिको समाधान पनि गणतान्त्रिक प्रणालीभित्रै सम्भव हुने बताएका छन्। जनताको निराशालाई प्रयोग गरेर लोकतान्त्रिक संस्थामाथि अविश्वास फैलाउने प्रवृत्तिप्रति सचेत रहन आग्रह गर्दै उनले संविधान, संसद, न्यायपालिका र स्वतन्त्र प्रेसको संरक्षणलाई गणतन्त्रको रक्षा भएको बताएका छन्।

ओलीले लोकतान्त्रिक संस्थाहरू कमजोर भए समाज र जनताको भविष्य नै असुरक्षित बन्ने उल्लेख गर्दै लोकतान्त्रिक गणतन्त्रका आधारभूत संस्थाहरूको संरक्षणमा सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका