Friday, May 29, 2026
Homeराजनीतिसंविधानको मूल मर्ममाथि सम्झौता गर्न कसैलाई छुट छैन : प्रचण्ड

संविधानको मूल मर्ममाथि सम्झौता गर्न कसैलाई छुट छैन : प्रचण्ड

काठमाडौँ । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको मूल मर्म, मूल्य र उपलब्धिमाथि सम्झौता गर्ने अधिकार कसैलाई नभएको बताएका छन्।

उनले नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको लामो सङ्घर्ष, हजारौँ सहिदहरूको बलिदान, त्याग र समर्पणबाट प्राप्त साझा उपलब्धि भएको उल्लेख गर्दै यो व्यवस्था कुनै व्यक्ति वा दलको मात्र नभई सम्पूर्ण नेपाली जनताको उपलब्धि भएको बताएका छन्।

प्रचण्डले संविधान कार्यान्वयनका क्रममा देखिएका कमजोरी सुधार गर्दै राज्य सञ्चालनमा विद्यमान परम्परागत सोच र स्वेच्छाचारिताको अन्त्य गर्नु आजको आवश्यकता भएको बताएका छन्। जनताको अधिकार, लोकतान्त्रिक मूल्य र समावेशितालाई अझ सुदृढ बनाउँदै अघि बढ्नु नै गणतन्त्रप्रतिको वास्तविक सम्मान हुने उनको भनाइ छ।

‘गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र हो,’ भन्दै उनले समावेशी र पूर्ण समानुपातिक व्यवस्था सुनिश्चित गर्दै उपेक्षित, उत्पीडित वर्ग, समुदाय र क्षेत्रका अधिकार थप मजबुत बनाउनुपर्नेमा जोड दिएका छन्।

उनले देशलाई राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धितर्फ अघि बढाउन राजनीतिक दलहरू र आम नागरिकबीच एकता आवश्यक रहेको पनि बताएका छन्। सामाजिक न्यायसहितको समृद्धिमार्फत समाजवादी नेपाल निर्माण साझा राष्ट्रिय सङ्कल्प हुनुपर्ने उनको भनाइ छ।

प्रचण्डले राजनीतिक मतभेद स्वाभाविक भए पनि राष्ट्रिय हितका विषयमा संवाद र सहकार्यको संस्कृति विकास गर्नुपर्ने उल्लेख गर्दै संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा सबैको पहिलो जिम्मेवारी भएको बताएका छन्।

उनले परिवर्तनका उपलब्धिलाई कमजोर बनाउने प्रयासप्रति सचेत रहन आग्रह गर्दै समृद्ध, न्यायपूर्ण र आत्मनिर्भर नेपाल निर्माणका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका