Wednesday, July 29, 2026
Homeअन्तराष्ट्रियहोटल खोज्दा झुक्किएर महिला जेलमा कोठा बुक गर्न खोजिन्, घटना सामाजिक सञ्जालमा...

होटल खोज्दा झुक्किएर महिला जेलमा कोठा बुक गर्न खोजिन्, घटना सामाजिक सञ्जालमा भाइरल

काठमाडौं । फिलिपिन्समा सप्ताहान्तको बिदा मनाउन होटल खोजिरहेकी एक महिलाले झुक्किएर होटलको सट्टा महिला सुधारगृह (महिला जेल) मा कोठा बुक गर्न सन्देश पठाएपछि रोचक घटना सार्वजनिक भएको छ। यो घटना अहिले सामाजिक सञ्जालमा व्यापक चर्चा र हास्यको विषय बनेको छ।

फिलिपिन्सको कारागार व्यवस्थापन तथा सुधार विभागले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत घटनाबारे जानकारी सार्वजनिक गरेको हो।

विभागका अनुसार ती महिला बागियो सहर भ्रमणको योजना बनाइरहेकी थिइन्। बस्नका लागि होटल खोज्ने क्रममा उनले गल्तीवश महिला कारागारको आधिकारिक फेसबुक पेजलाई होटलको पेज ठानेर सन्देश पठाइन्।

उनले सन्देशमा आउँदो सप्ताहान्तका लागि कोठा उपलब्ध भए–नभएको सोधेकी थिइन्। त्यसको जवाफमा कारागार प्रशासनले विनम्रतापूर्वक, “म्याडम, यो महिला कारागार हो,” भन्दै जानकारी गराएको थियो।

आफ्नो गल्ती थाहा पाएपछि ती महिलाले तुरुन्तै माफी मागिन्। त्यसपछि उनको सहमतिमा उक्त संवादको स्क्रिनसट कारागार प्रशासनले आफ्नो आधिकारिक फेसबुक पेजमा सार्वजनिक गरेको थियो।

कारागार प्रशासनले रमाइलो शैलीमा लेखेको छ, “सप्ताहान्तमा घुम्न निस्कने समय आएको छ, तर हाम्रो कारागार होटल होइन भन्ने कुरा नबिर्सनुहोस्।” साथै, कारागारलाई सुरक्षित, सफा र व्यवस्थित राख्न आफूहरू निरन्तर प्रतिबद्ध रहेको पनि जनाएको छ।

यो पोस्ट सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न हास्यपूर्ण प्रतिक्रिया दिएका छन्। केहीले “यहाँ त निःशुल्क खाना, बसाइ र चौबीसै घण्टा सुरक्षा पाइन्छ” भन्दै ठट्टा गरेका छन् भने अरूले महिलाको गल्तीलाई सहज रूपमा लिँदै कारागार प्रशासनको प्रस्तुतिको प्रशंसा गरेका छन्।

यस घटनाले अनलाइनमार्फत होटल वा अन्य सेवा बुकिङ गर्दा सम्बन्धित पेज वा खाताको आधिकारिकता राम्रोसँग जाँच गर्नुपर्ने सन्देश दिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका