Thursday, July 9, 2026
Homeसामाचारहेलो सरकारको अनुगमन गर्दै मन्त्रीद्वयले दिए गुनासा समयमै समाधान गर्न निर्देशन

हेलो सरकारको अनुगमन गर्दै मन्त्रीद्वयले दिए गुनासा समयमै समाधान गर्न निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालित ‘हेलो सरकार’ शाखाको अनुगमन तथा निरीक्षण गरेका छन्।

बुधबार मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहसँगै हेलो सरकार शाखामा पुगेका मन्त्रीद्वयले गुनासो व्यवस्थापन प्रणाली, सेवा प्रवाह तथा उजुरी फछ्र्योटको अवस्थाबारे जानकारी लिएका थिए।

अनुगमनका क्रममा उनीहरूले नागरिकबाट प्राप्त हुने प्रत्येक गुनासाप्रति संवेदनशील र जिम्मेवार बन्न कर्मचारीलाई निर्देशन दिँदै सम्बन्धित मन्त्रालयहरूले गुनासोको समयमै सम्बोधन गर्नुपर्नेमा जोड दिए।

मन्त्रीद्वयले हेलो सरकारमा गुनासोको सङ्ख्या बढ्दै जानुलाई सरकारप्रति नागरिकको विश्वास बढेको संकेतका रूपमा व्याख्या गर्दै प्राप्त उजुरीको छिटो र प्रभावकारी फछ्र्योटलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए।

उनीहरूका अनुसार मन्त्रालयसँग सम्बन्धित गुनासोको शीघ्र समाधानका लागि अन्तरमन्त्रालयीय समन्वय संयन्त्रलाई अझ प्रभावकारी बनाइनेछ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शासकीय सुधारसम्बन्धी सयदिने कार्यसूचीअन्तर्गत हेलो सरकार सेवा २४सै घण्टा सञ्चालनमा ल्याइएको छ। बहुच्यानल प्रणाली, आधुनिक प्रविधि र सबै मन्त्रालयसँग प्रत्यक्ष समन्वय हुने एकीकृत व्यवस्थामार्फत गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउने कार्य जारी रहेको जनाएको छ।

कार्यालयका अनुसार असार २४ गतेसम्म हेलो सरकार प्रणालीमा कुल १ लाख ३१ हजार ८७५ वटा गुनासा तथा उजुरी दर्ता भएका छन्, जसमध्ये करिब ७० प्रतिशत गुनासाको फछ्र्योट भइसकेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका