काठमाडौं। भक्तपुर नलिन्चोकमा हेलिपोर्ट निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने विशेष अदालतको आदेश आएको छ।
विशेष अदालतका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश जारी गरेको हो। सोही मुद्दामा संलग्न तत्कालीन निर्देशक मुरारी भण्डारीलाई भने ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश भएको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।
भक्तपुरस्थित नलिन्चोक हेलिपोर्ट निर्माणमा १३ करोड ५७ लाख ४६ हजारभन्दा बढी रकम हानि–नोक्सानी गराई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार अधिकारीसहित सात जनाविरुद्ध मुद्दा दायर गरेको थियो। अख्तियारले छ जना कर्मचारी र एक परामर्शदाता कम्पनीलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो।
साढे १७ करोड लागत अनुमानमा निर्माण गरिएको हेलिपोर्ट हालसम्म पूर्ण रूपमा सञ्चालनमा आएको छैन। ७ असार ०८१ मा व्यावसायिक सञ्चालनका लागि खोलिएको भए पनि निर्माण गुणस्तर, स्थानको उपयुक्तता तथा सुरक्षासम्बन्धी गम्भीर कमजोरी रहेको आयोगले निष्कर्ष निकालेको छ।
अख्तियारका अनुसार कानुन पालना नगरी, बदनियतपूर्ण तरिकाले आयोजनालाई अघि बढाइएको, आवश्यक व्यावसायिक योजना तथा लागत–लाभ विश्लेषणबिना अस्वाभाविक खर्च गरिएको र प्रक्रियागत थुप्रै त्रुटि रहेको प्रमाणित भएको छ। उद्देश्यअनुरूप हेलिपोर्ट सञ्चालनमा नसकिएको कारण सार्वजनिक सम्पत्तिको हानि–नोक्सानी भएको आयोगको ठहर छ।


