सिमकोट (हुम्ला), ४ साउन । सर्केगाड गाउँपालिका–४ झापुकुनास्थित मानदेव शाहीको जस्तापाताले छाएको किराना पसलमा आगलागी हुँदा पसल पूर्णरूपमा नष्ट भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलका अनुसार आगलागीले किराना, स्टेशनरी, कपडा, पेट्रोललगायतका सामग्री जलेर नष्ट भएका छन्। आगलागी नियन्त्रणका लागि स्थानीयवासी र प्रहरीको टोली सक्रिय रहेको थियो।
यद्यपि क्षतिको यकिन विवरण भने अझै प्राप्त नभएको प्रहरीले जनाएको छ।


