Thursday, April 30, 2026
Homeसुन्दर नेपालहिमाली पर्यटकको सुरक्षासाठी पर्यटन बोर्डद्वारा उद्धार सामाग्री हस्तान्तरण

हिमाली पर्यटकको सुरक्षासाठी पर्यटन बोर्डद्वारा उद्धार सामाग्री हस्तान्तरण

काठमाडौँ । नेपाल पर्यटन बोर्डले हिमाल आरोही तथा पर्वतीय पर्यटकको सुरक्षालाई प्राथमिकता दिँदै हिमालय उद्धार संघ नेपाल (हिमालय रेस्क्यु एसोसिएसन)लाई आपतकालीन उद्धार सामग्री हस्तान्तरण गरेको छ। सगरमाथा र अन्नपूर्ण क्षेत्रका आरोही तथा पदयात्रीको सुरक्षामा थप सहयोग पुर्‍याउने उद्देश्यले बिहीबार उक्त सामग्री हस्तान्तरण गरिएको हो।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले हिमाली क्षेत्रमा आवत–जावत गर्ने पर्यटकको सुरक्षा सुनिश्चित गर्न बोर्ड निरन्तर प्रतिबद्ध रहेको बताउँदै भने, “नेपालको हिमालय नै विश्वकै आकर्षण हो। यहाँ आउने आरोही र पर्यटक सुरक्षित रहून् भन्ने हाम्रो प्राथमिकता हो। उद्धार संघसँगको सहकार्यलाई हामी हिमाली पर्यटनको दिगोपनासँग पनि जोडेर हेर्छौं।”

बोर्ड सदस्य नरेन्द्रदेव भट्टले उद्धार कार्य केवल आपतकालीन व्यवस्थापन नभई पर्यटन क्षेत्रको विश्वसनीयता बढाउने माध्यमसमेत भएको बताएका छन्। उहाँका अनुसार, उद्धार तथा जोखिम व्यवस्थापनलाई आगामी दिनमा अझ व्यवस्थित र सक्षम बनाइनेछ।

उद्धार सामग्री ग्रहण गर्दै हिमालय उद्धार संघ नेपालका अध्यक्ष डम्बर पराजुलीले सहयोगप्रति आभार व्यक्त गर्दै भने, “सगरमाथा, अन्नपूर्णजस्ता चुनौतीपूर्ण क्षेत्रहरूमा उद्धार सामग्री अत्यन्तै आवश्यक हुन्छ। बोर्डको सहयोगले हाम्रो उद्धार कार्य अझ प्रभावकारी र छरितो बन्नेछ भन्ने विश्वास छ।”

उक्त अवसरमा बोर्डले संघलाई क्याराबिनर्स २० थान, मेकानिकल एसेन्डर्स ४ थान, डिसेन्डर्स ५ थान, पुली ४ थान, स्लिङ्स ५ थान, आइसस्क्रु र पिकेट्स ५ थान, बिले डिभाइस ४ थान, एङ्कर्स ४ थान तथा स्लीपिङब्याग ५ थान हस्तान्तरण गरेको थियो।

बोर्डले आगामी दिनहरूमा हिमाली क्षेत्रमा उद्धार तथा सुरक्षा पूर्वाधार सुदृढ पार्न निजी क्षेत्र र स्थानीय समुदायसँग सहकार्यका कार्यक्रम पनि विस्तार गरिने विश्वास व्यक्त गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका