मुस्ताङ – कात्तिक महिनाको पहिलो १० दिनमा मुस्ताङमा ४० हजारभन्दा बढी पर्यटक पुगेका छन् । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै कात्तिक १ गतेदेखि १० गतेसम्म ३७ हजार १४६ आन्तरिक र तीन हजार ७३२ विदेशी गरी कुल ४० हजार ८७८ जना पर्यटक मुस्ताङ प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
त्यस अवधिमा बस, जीप, कार, भ्यान र मोटरसाइकल गरी ११ हजार ८०८ सवारीसाधन मुस्ताङ भित्रिएको प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिइन् ।
कात्तिक १० गते मात्रै म्याग्दी हुँदै मुस्ताङ प्रवेश गरेका चार हजार ५९८ पर्यटकमध्ये धेरैजना हिमपातका कारण मुक्तिनाथ दर्शन यात्रामा समस्या व्यहोर्न बाध्य भएका छन् । सोमबार रातिदेखि भएको लगातार वर्षा र हिमपातपछि मुक्तिनाथ क्षेत्र सेताम्य बनेको छ, जसका कारण यातायात र पैदल यात्रा दुबै प्रभावित भएका छन् ।
कागबेनी–मुक्तिनाथ सडकखण्ड र मुक्तिनाथ बसपार्कदेखि मन्दिरसम्मको पैदलमार्गमा बाक्लो हिमपात भएपछि तीर्थालुहरू मन्दिरसम्म पुग्न कठिनाइ भएको मुक्तिनाथ मन्दिर विकास समितिका कर्मचारी रविन सुवेदीले बताए ।
उनका अनुसार भारी हिमपातका कारण चिसो अत्यधिक बढेको छ भने स्नानकुण्ड र १०८ धारा जमेकाले भक्तजनलाई धार्मिक स्नान तथा पूजाआजामा समस्या परेको छ ।
प्रहरीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिक १० गतेसम्म बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङ प्रवेश गर्ने पर्यटकको संख्या एक लाख ५९ हजार ४६७ पुगेको छ ।


