काठमाडौं । नेपाली हिन्दु नारीहरूले मनाउने महान् चाड हरितालिका तीजको अघिल्लो दिन ‘दर’ खाने परम्परा आज देशभर मनाइँदै छ।
भाद्र शुक्ल द्वितीयाका दिन दर खाने प्रथा अनुसार महिलाहरूले विभिन्न मीठा परिकार बनाएर खाने, नाचगान गर्ने र रमाइलो गर्ने गर्छन्। तीजको दिन निराहार व्रत बस्नुपर्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक आहार ग्रहण गर्ने चलन रहिआएको हो।
धार्मिक मान्यताअनुसार परापूर्वकालमा देवी पार्वतीले भगवान् शिवलाई स्वामी पाउने अभिप्रायले निराहार व्रत बसेकी थिइन् र उनको कामना पूरा भएको विश्वास गरिन्छ। सोही कारण अविवाहिताहरूले राम्रो पति पाउन र विवाहिताहरूले पतिको दीर्घायु, सुस्वास्थ्य र प्रगतिका लागि तीज पर्व मनाउने परम्परा रहेको छ।


