Thursday, October 29, 2026
Homeराजनीतिहाइ–प्रोफाइल उम्मेदवारको भिडन्तले रोचक बन्यो काठमाडौं–३, कुलमान घिसिङको प्रवेशले बढ्यो चुनावी चासो

हाइ–प्रोफाइल उम्मेदवारको भिडन्तले रोचक बन्यो काठमाडौं–३, कुलमान घिसिङको प्रवेशले बढ्यो चुनावी चासो

काठमाडौं। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ यसपटक विशेष चासोको केन्द्रमा परेको छ। हाइ–प्रोफाइल उम्मेदवारहरूको उपस्थितिले यहाँको चुनावी प्रतिस्पर्धा निकै रोचक र अर्थपूर्ण बन्ने देखिएको छ।

खासगरी उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दिएका कुलमान घिसिङको प्रवेशसँगै क्षेत्रको चुनावी सरगर्मी थप बढेको छ। पूर्वमन्त्री तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकका रूपमा परिचित घिसिङ सुशासन, कार्यसम्पादन क्षमता र इमानदार सार्वजनिक छविका कारण आम मतदातामाझ लोकप्रिय मानिन्छन्।

दशकौँसम्म मुलुकले भोग्दै आएको दैनिक १८ घण्टासम्मको लोडसेडिङ अन्त्य गर्न उनले खेलेको भूमिकाले उनलाई ‘काम गरेर देखाउने नेता’ का रूपमा स्थापित गरेको छ। यही कारण काठमाडौं–३ मा उनको उम्मेदवारीलाई मतदाताले अर्थपूर्ण रूपमा हेरिरहेका छन्।

घिसिङसँग प्रतिस्पर्धामा नेकपाबाट निरज लामा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजु पाण्डे, नेपाली कांग्रेसबाट रमेश अर्याल र नेकपा (एमाले) बाट रामेश्वर फुयाँल चुनावी मैदानमा छन्। यद्यपि, घिसिङको प्रशासनिक अनुभव, नतिजामुखी नेतृत्व र विकासप्रतिको स्पष्ट दृष्टिकोणले उनलाई अन्य उम्मेदवारभन्दा अलग पहिचान दिएको विश्लेषण भइरहेको छ।

घिसिङ नेपाल सरकारका पूर्वमन्त्रीसमेत हुन्। उनले ३० भदौ २०८२ देखि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा रहेको अन्तरिम मन्त्रिपरिषद्मा सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी सम्हाल्दै २०८२ पुस २३ गतेसम्म कार्य गरेका थिए। मन्त्री तथा प्रबन्ध निर्देशक दुवै भूमिकामा देखाएको कार्यक्षमताले नै उनको राजनीतिक पूँजी बलियो बनेको छ।

अन्य उम्मेदवारहरूमध्ये रास्वपाका राजु पाण्डे काठमाडौं महानगरपालिकाका निवर्तमान नगर प्रहरी प्रमुख हुन् भने नेपाली कांग्रेसका रमेश अर्याल २०७४ सालको स्थानीय तह निर्वाचनमा गोकर्णेश्वर नगरपालिका–६ का पूर्व वडाध्यक्ष हुन्। एमालेका उम्मेदवार रामेश्वर फुयाँल पूर्व संविधानसभा सदस्यसमेत हुन्।

स्थानीय विकास, सुशासन, पूर्वाधार विस्तार, रोजगारी सिर्जना र प्रभावकारी सेवा प्रवाह सबै उम्मेदवारका साझा एजेन्डा भए पनि ‘काम गरेर देखाएको अनुभव’ का आधारमा निर्णय गर्ने मतदाताको संख्या बढ्दै गएको देखिन्छ।

यसैबीच, भौगोलिक रूपमा काठमाडौं–३ ले उपत्यकाको करिब आधा खानेपानीको माग धान्ने क्षेत्र मानिए पनि यही क्षेत्रभित्र खानेपानीको समस्या चर्को रूपमा विद्यमान छ। गोकर्णेश्वर नगरपालिका–४, ६ र ९ नम्बर वडामा खानेपानीको दीर्घकालीन समस्या समाधान हुन सकेको छैन। ढल व्यवस्थापन, सडक सञ्जालको अवस्था र फोहोर व्यवस्थापनजस्ता समस्या पनि पुरानै छन्।

त्यसैगरी गोकर्णेश्वर–१ सुन्दरीजल क्षेत्रमा शिवपुरी राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएकाले वन्यजन्तु बस्तीमा प्रवेश गरी बालीनाली नष्ट गर्ने समस्या गम्भीर बन्दै गएको छ।

हाइ–प्रोफाइल उम्मेदवारहरूको भिडन्तमा यी स्थानीय समस्याहरू मुख्य एजेन्डाका रूपमा उठिरहेका छन्। यस कारण काठमाडौं–३ को चुनाव यसपटक केवल दलगत प्रतिस्पर्धामात्र नभई व्यक्तित्व, कार्यक्षमता र जनविश्वासको परीक्षणस्थलका रूपमा हेरिन थालेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका