Saturday, November 7, 2026
Homeसामाचारहत्याराविरुद्ध मैले त्यो अपशब्द बोलेको हो, पछुतो छैन : अमन प्रताप अधिकारी

हत्याराविरुद्ध मैले त्यो अपशब्द बोलेको हो, पछुतो छैन : अमन प्रताप अधिकारी

संसद् भवन भित्र प्रवेशमा बोलेको अपशब्द स्वीकार, आगजनी आरोप खण्डन

काठमाडौँ — ‘जेनजी’ आन्दोलनका क्रममा संसद् भवनभित्र प्रवेश गरी अपशब्द बोलेको स्वीकार गर्दै अभियानकर्मी अमन प्रताप अधिकारीले आगजनीको आरोपको खण्डन गरेका छन्।

अधिकारीले आफू भाद्र २३ गते भ्रष्टाचार विरोधी ‘जेनजी’ आन्दोलनमा सहभागी हुन संसद् भवन अगाडि पुगेको स्मरण गरेका छन्। सो दिन संसद् भवनअगाडि गोली चल्दा स्कुलको पोसाक लगाएका चार विद्यार्थी ढलेका थिए, जसले उनलाई गहिरो आक्रोशित बनाएको अधिकारीले बताए।

भाद्र २४ गते ती विद्यार्थीहरूको सम्झनामा पुनः संसद् भवन पुगेको उनले बताएका छन्। उनले भने,

“त्यो आक्रोश किन थियो त? जो सरकार थियो, त्यस सरकारले संसद् भवनभित्रबाट गोली चलाएको थियो। मेरा छोराछोरी त्यहीं ढलेर सहिद भएका थिए।”

अधिकारीले संसद् भवनभित्र प्रवेश गर्दा आफ्नो आक्रोश देखिएको स्वीकार गर्दै, मोबाइलमा गोली प्रहार गर्ने आदेश दिने सरकारका नेताहरूप्रति अपशब्द बोलेको बताए। उनले ती अपशब्द केपी ओली नेतृत्वको सरकार, संसद् तथा प्रचण्ड, देउवाजी लगायत सबै संसद् विरोधमा रहेको आक्रोशको अभिव्यक्ति भएको स्पष्ट पारे।

उनले आफ्नो भिडियोमार्फत सर्वसाधारणप्रति अपशब्द नभएको र सुनेर असहज महसूस भएका सबैसँग माफी मागेका छन्। तर, उनले भने,

“जो विरुद्ध मैले अपशब्द बोले, त्यसमा पछुतो छैन। किनभने उहाँहरूकै आदेशमा हाम्रो छोराछोरी मारिएका हुन्।”

अधिकारीले संसद् भवन, सिंहदरबार वा न्यायालय जलाएको कुनै प्रमाण नभएको भन्दै प्रमाण प्रस्तुत गर्न चुनौती पनि दिएका छन्। यदि कसैको व्यक्तिगत घर वा कोही प्रत्यक्ष रूपमा हातपात गरिएको भए प्रमाणसहित जेल जान तयार रहेको उनले बताए।

उनी भ्रष्टाचार र हत्याराविरुद्धको लडाइँ जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै, वर्तमान सरकारले हत्याराहरूलाई चाँडै पक्राउ गर्नुपर्नेमा जोड दिएका छन्। उनले भने,

“एक ज्यान र एउटा भवन कहिल्यै बराबर हुँदैन। कृपया त्यसलाई याद राख्नुहोस्।”

अधिकारीले आफ्नो आवाज भ्रष्टाचार र हत्याराविरुद्ध बुलन्द रहने प्रतिवद्धता पनि दोहोर्‍याए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका