काठमाडौँ । विश्वभर अधिकांश मानिसहरू दैनिक ऊर्जा र ताजगीका लागि चिया र कफीमा भर पर्छन्। बिहानको निद्रा हटाउन होस् वा कार्यालयको काममा सक्रिय रहन, यी दुई पेय पदार्थ सबैभन्दा बढी सेवन गरिन्छ। स्वादमा दुवै लोकप्रिय भए पनि स्वास्थ्यका दृष्टिले कुन बढी लाभदायक हो भन्ने विषयमा लामो समयदेखि बहस हुँदै आएको छ।
हालै अस्ट्रेलियाको फ्लिन्डर्स विश्वविद्यालयले गरेको एक अध्ययनले चिया र कफीको हड्डीको स्वास्थ्यसँग सम्बन्धित प्रभावको तुलना गरेको छ। अध्ययनमा ६५ वर्ष वा सोभन्दा माथिका करिब १० हजार महिलाको तथ्यांक विश्लेषण गरिएको थियो। अनुसन्धानकर्ताहरूले चिया र कफीको सेवनले हिप र जाँघको हड्डीको मजबुतीमा कस्तो असर पार्छ भन्ने कुरामा ध्यान केन्द्रित गरेका थिए, किनकि यी स्थानहरू लड्दा फ्र्याक्चर हुने सबैभन्दा जोखिमयुक्त मानिन्छन्।
अध्ययनको नतिजा ‘न्युट्रिएन्ट्स’ जर्नलमा प्रकाशित भएको छ। धेरै चिया सेवन गर्ने महिलाहरूमा १० वर्षपछि हिप हड्डीको खनिज घनत्व कफी सेवन गर्ने महिलाहरूको तुलनामा केही राम्रो देखिएको छ। अनुसन्धानमा संलग्न वैज्ञानिक रायन लिउका अनुसार चियामा पाइने क्याटेचिनजस्ता यौगिकहरूले हड्डी बनाउने कोषहरूलाई सक्रिय पार्न सक्ने अनुमान गरिएको छ, यद्यपि यसको स्पष्ट कारण अझै पुष्टि भइसकेको छैन।
कफीका हकमा पनि अध्ययनले सन्तुलित निष्कर्ष प्रस्तुत गरेको छ। दिनमा २–३ कप कफी पिउँदा हड्डीमा कुनै उल्लेखनीय नकारात्मक असर नदेखिएको भए पनि ५ वा सोभन्दा बढी कप कफी सेवन गर्दा हड्डीको खनिज घनत्व घट्ने जोखिम बढ्न सक्ने पाइएको छ।
हड्डीको खनिज घनत्व घट्दै गए ओस्टियोपोरोसिसको जोखिम बढ्छ। उमेर बढेसँगै हड्डी कमजोर हुँदै जान्छन्, जसले गर्दा सामान्य चोटपटकमा पनि फ्र्याक्चर हुने सम्भावना बढ्छ। यद्यपि ओस्टियोपोरोसिस चिया वा कफीको सेवनले मात्र हुने रोग होइन। पारिवारिक इतिहास, उमेर, रक्सी तथा सुर्तीजन्य पदार्थको प्रयोग र जीवनशैलीजस्ता कारणहरूले पनि ठूलो भूमिका खेल्छन्।
विशेषज्ञहरूका अनुसार चियाको फाइदा सीमित मात्रामा देखिएको हुँदा कफी पूर्ण रूपमा छोड्न आवश्यक छैन। अघिल्ला केही अध्ययनहरूले चिया र कफी दुवैले ओस्टियोपोरोसिसको जोखिम घटाउन सहयोग गर्न सक्ने संकेत पनि गरेका छन्। सन्तुलित रूपमा चिया सेवन गर्दै कफीको मात्रा नियन्त्रण गर्नु नै उपयुक्त उपाय मानिन्छ।
अमेरिकी कृषि विभागले प्रतिदिन ४०० मिलिग्रामभन्दा बढी क्याफिन सेवन नगर्न सिफारिस गरेको छ, जुन करिब ३ कप कफीसँग बराबर हुन्छ। सन्तुलन कायम राख्दा स्वाद र स्वास्थ्य दुवै सुरक्षित रहन्छन्।


