Thursday, June 4, 2026
Homeदेश र प्रदेशस्वास्थ्य क्षेत्रका चारजना विचौलिया पक्राउ

स्वास्थ्य क्षेत्रका चारजना विचौलिया पक्राउ

विराटनगर : स्वास्थ्य क्षेत्रका चारजना विचौलियालाई प्रहरीले विराटनगरबाट बिहीबार पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–५ का ४५ वर्षीय दिलिप साह, ६० वर्षीय राम सुनुवार, विराटनगर–१२ का ३९ वर्षीय शिवकुमार कामत र विराटनगर–१८ का ४६ वर्षीय विनोद रायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरबाट खटिएको विशेष टोलीले उनीहरुलाई विराटनगरको कोसी अस्पताल अगाडिबाट पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारबाही अघि बढाउन जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार पक्राउ परेकाहरुले विचौलियाको भूमिकामा रहेर सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामीलाई झुक्याउँदै निजी अस्पताल र क्लिनिकतिर लगेर महँगोमा उपचार गराउन बाध्य पार्ने गरेको पाइएको छ ।

‘गाउँतिरबाट सहज उपचारका लागि आउने बिरामीलाई सरकारी अस्पतालमा राम्रो सुविधा नभएको र राम्रा चिकित्सक पनि नपाइने भन्दै झुक्याएर विचौलियाले निजी स्वास्थ्य संस्थातिर लैजाँदा रहेछन्,’ श्रेष्ठले भने,‘बिरामी लगेवापत निजी अस्पताल र क्लिनिकले विचौलियालाई निश्चित रकम कमिसन पनि दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’

उनका अनुसार अनुसन्धानका क्रममा निजी स्वास्थ्य संस्थाले बिरामी ल्याउनका लागि विराटनगरमा विचौलिया नै परिचालन गर्ने गरेको पनि पत्ता लागेको छ । बिरामीलाई सरकारी अस्पतालमा उपचारका लागि जान नदिने र निजी स्वास्थ्य संस्थामा पुर्‍याउने गरेको पाइएपछि विचौलियालाई पक्राउ गर्नका लागि विशेष अभियान सञ्चालन गरिएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले बताए । जीसीका अनुसार पक्राउ परेकाविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउने तयारी गरिएको छ ।

सरकारी अस्पतालमा आउने बिरामीलाई झुक्याएर आफ्नो सम्पर्कमा रहेका निजी स्वास्थ्य संस्थामा पुर्‍याउँदै महँगोमा उपचार गर्न बाध्य पार्ने १७ जना विचौलिया यसअघि विराटनगरबाट पक्राउ परेका थिए । पक्राउ परेकालाई प्रहरीले अभद्र व्यवहार मुद्दा चलाएको थियो ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका