काठमाडौं — सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त र सन्तुलित भोजनको महत्त्वबारे जनचेतना जगाउन बिहीबार ४५औँ विश्व खाद्य दिवस मनाउँदैछ।
कृषि विभागले संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ), खाद्यका लागि कृषि अभियानलगायत सङ्घ–संस्थासँगको समन्वयमा दिवस मनाउने तयारी गरेको हो।
यस वर्ष ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ भन्ने नारासहित दिवस मनाइँदैछ। सन् १९७९ नोभेम्बरमा संयुक्त राष्ट्र सङ्घको २०औँ साधारणसभाले एफएओको स्थापना दिवसका अवसरमा विश्व खाद्य दिवस मनाउने निर्णय गरेको स्मरणमा सन् १९८१ देखि यो दिवस मनाइँदै आएको हो।


