काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेल ले गीतसङ्गीत स्रष्टाहरूको सम्मानमा राज्यले कञ्जुस्याइँ गर्न नहुने बताउनु भएको छ। उहाँले गीतसङ्गीतले मानवीय संवेदनाका विविध पक्षलाई अभिव्यक्त गर्ने सामर्थ्य राख्ने हुँदा स्रष्टाहरूको योगदानलाई उचित सम्मान दिनुपर्ने उल्लेख गर्नुभयो।
नातिकाजी स्मृति समाज द्वारा आयोजित ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान तथा पुरस्कार समारोह’ मा बोल्दै राष्ट्रपति पौडेलले गीतसङ्गीत सभ्य र सुसंस्कृत समाजको परिचायक भएको बताउनुका साथै सङ्गीत स्रष्टाहरूको सम्मान, संस्कृति संरक्षण र गीतसङ्गीतको विकासका लागि सरकार र सम्बद्ध पक्षले निरन्तर सहयोग गर्नुपर्ने बताउनुभयो।
नातिकाजीको योगदान अनुकरणीय
राष्ट्रपति पौडेलले नेपाली लोकभाका पछ्याउँदै आधुनिक गीतसङ्गीतको सिर्जनामा नातिकाजी श्रेष्ठको योगदान अनुकरणीय रहेको बताउँदै उहाँका सिर्जनाहरूमा चेतना, प्रेम, देशभक्ति र मानवीय संवेदनाका अनुभूति झल्किने उल्लेख गर्नुभयो।
उहाँले भन्नुभयो, “विशेषतः नातिकाजीका कालजयी देशभक्ति गीतहरूले मातृभूमिप्रतिको प्रेमलाई प्रगाढ बनाउनुका साथै नेपाली सङ्गीतको गौरव बढाएका छन्।”
सङ्गीतले राष्ट्रिय एकता बलियो बनाउँछ
राष्ट्रपति पौडेलले सङ्गीत शक्ति, भाषा, सम्पत्ति र राष्ट्रिय पहिचानको आधार रहेको उल्लेख गर्दै, बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधता रहेको नेपालमा साहित्य, कला, गीत र सङ्गीतले प्रेम, मित्रता र भ्रातृत्व बढाएर राष्ट्रिय एकतालाई बलियो बनाउने बताउनुभयो।
उहाँले थप्नुभयो, “कलाकार, सिर्जना र संस्कृति राष्ट्रका निधि हुन्। कला, साहित्य र सङ्गीतले समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा महत्वपूर्ण योगदान पुर्याउँछ।”
सङ्गीत साधकहरू सम्मानित
राष्ट्रपति पौडेलले नातिकाजी स्मृति समाजले नेपाली गीतसङ्गीत क्षेत्रमा क्रियाशील स्रष्टाहरूलाई सम्मान गर्ने परम्परा बसालेर प्रशंसनीय कार्य गरेको उल्लेख गर्दै, यसले स्रष्टाहरूलाई थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
सोही अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे ले नातिकाजी श्रेष्ठलाई सङ्गीत महर्षि को रूपमा सम्मान गर्दै उनले राष्ट्रभक्तिका कालजयी गीतहरू गाएर देशभित्र आशा जगाएको बताउनुभयो।
समाजका अध्यक्ष तथा वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटा ले नातिकाजी श्रेष्ठको १००औँ जन्मजयन्तीको अवसरमा देशका पुराना तथा नयाँ गीतसङ्गीत साधकहरूलाई सम्मान गरिएको जानकारी दिनुभयो।
नातिकाजीका कालजयी गीतहरू प्रस्तुत
कार्यक्रममा नातिकाजीका कालजयी देशभक्ति गीतहरू प्रस्तुत गरिएका थिए, जसमा ‘नेपाली हामी रहूँला कहाँ, नेपालै नरहे’, ‘यो नेपाली शीर उचाली’ लगायत अन्य राष्ट्रभक्ति गीतहरू प्रस्तुत गरिएको थियो। गायिका स्मीता दाहालले तारादेवीको चर्चित गीत ‘साँगुरी वारि नि हौ, त्यो धारा पानी’ प्रस्तुत गर्नुभयो।
नातिकाजीको जीवन र योगदान
नातिकाजीले आफ्नो जीवनकालमा ३३७ आधुनिक नेपाली गीत, ९१ देशभक्ति गीत, १० बालगीत, १९० भजन र २२ गीतिनाटकमा सङ्गीत प्रदान गर्नुभएको थियो। विसं २०६० कात्तिक १६ गते उहाँको निधन भएको थियो। उहाँको योगदानलाई चिरस्थायी बनाउन विसं २०६२ मा ‘नातिकाजी स्मृति समाज’ स्थापना गरिएको हो।
सम्मानित व्यक्तित्वहरू
कार्यक्रममा विभिन्न विधाका सङ्गीत साधकहरूलाई सम्मान गरिएको थियो।
१. नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान
वरिष्ठ सञ्चारकर्मी धन लामा
गतिकार बुद्धवीर लामा
गायक दिवाकर खड्का
गीतकार किरण केसी (क्रोधी)
गीतकार यशोदा पराजुली
गीतकार विमल भौकाजी
गीतकार प्रकाश सायमी
२. नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार
गायक हिमाल सागर
गायिका विन्दु परियार
गीतकार बी. पाण्डे
सङ्गीतकार आशिष अविरल
सङ्गीत संयोजक सम्राट थापा
३. नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार
गीत रेकर्डिस्ट भोला पौडेल
गायक डेभिड शङ्कर
गायिका स्मीता दाहाल
सङ्गीतकार कल्याण सिंह
४. नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार
डा. रमेश पोखरेल
५. नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार
पत्रकार सुशील अर्याल
पत्रकार सुकृत नेपाल
६. नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार
लोकगायक रामप्रसाद अवस्थी
लोकगायिका सुष्मा शाही ठकुरी
लोकगायक कृष्ण विक
राष्ट्रपति रामचन्द्र पौडेलले सम्मानित कलाकर्मीहरूलाई सम्मानपत्र प्रदान गर्दै नेपाली सङ्गीत साधकहरूको योगदान अमूल्य रहेको उल्लेख गर्नुभयो।
राष्ट्रपति पौडेलले गीतसङ्गीत स्रष्टाहरूको सम्मान आवश्यक रहेको र यसमा राज्यले भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो। नातिकाजी स्मृति समाजद्वारा स्थापित सम्मानले नेपाली सङ्गीत साधकहरूलाई प्रेरित गर्ने र नेपाली सङ्गीतलाई विश्वमञ्चमा स्थापित गर्ने विश्वास व्यक्त गरिएको छ।


