काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी २०८३ सालमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको विस्तृत रूपरेखा सार्वजनिक गरेको छ।
परम्परागत दलहरूमा देखिँदै आएको बन्द कोठामा हुने निर्णय, नातावाद, कृपावाद र आर्थिक प्रभावलाई निरुत्साहित गर्दै रास्वपाले पूर्ण रूपमा पारदर्शी र लोकतान्त्रिक विधिबाट उम्मेदवार चयन गर्ने नीति अघि सारेको जनाएको छ।
पार्टीले सार्वजनिक गरेको ‘स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा, २०८३’ अनुसार शक्तिकेन्द्रलाई रिझाउने होइन, जनताको मन जित्ने र स्थानीय विकासको स्पष्ट दृष्टिकोण भएका व्यक्तिलाई प्राथमिकता दिइनेछ।
रास्वपाले उम्मेदवार छनोट प्रक्रिया नेपाली राजनीतिमा सबैभन्दा विकृत क्षेत्र बनेको निष्कर्ष निकाल्दै अब पैसा र बाहुबली प्रभावलाई पूर्ण रूपमा निषेध गर्ने बताएको छ। अन्तिम समयमा उम्मेदवार घोषणा गर्ने, गुटगत प्रभावमा पर्ने र चाकडीका आधारमा टिकट वितरण गर्ने प्रवृत्तिको अन्त्य गर्न विधि, पद्धति र प्रमाणमा आधारित प्रणाली अपनाइनेछ।
‘किन यो उम्मेदवार छानियो?’ भन्ने प्रश्नको जवाफ नेताको व्यक्तिगत चाहना होइन, संस्थागत मूल्याङ्कन र स्पष्ट प्रक्रियाबाट दिइने रास्वपाको दाबी छ। पार्टीका अनुसार सुशासनको आधार दलको आन्तरिक शुद्धीकरणमै निहित छ।
यो प्रक्रिया पार्टी विधानको ‘लिडरशिप एकेडेमी’ र ‘उम्मेदवार क्लब’ सम्बन्धी प्रावधानमा आधारित रहेको जनाइएको छ। यसले स्थानीय आवश्यकता बुझ्ने, जनअपेक्षासँग जोडिने र सक्षम नेतृत्व पहिचान गर्ने लक्ष्य राखेको छ।
रास्वपाले उम्मेदवार चयन अब नेताको कृपामा होइन, जनताको भरोसा, सार्वजनिक आचरण र नेतृत्व क्षमताका आधारमा हुने स्पष्ट पारेको छ। साथै, महिला, दलित, सीमान्तकृत समुदाय, युवा, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, श्रमिक, किसान तथा प्रवास अनुभव भएका नागरिकलाई नेतृत्वमा अघि बढाउने लक्ष्य पनि तय गरिएको छ।
पार्टीले स्थानीय तहलाई सेवा प्रवाह सुधार, सुशासन र स्थानीय अर्थतन्त्र सुदृढ गर्ने प्रमुख संयन्त्रका रूपमा परिभाषित गर्दै योग्य, सक्षम र इमानदार नेतृत्व आवश्यक रहेको निष्कर्ष निकालेको छ।
रास्वपाले यो प्रक्रिया निरन्तर सुधार हुँदै जाने संस्थागत अभ्यास भएको उल्लेख गर्दै आगामी दिनमा प्राप्त सुझावका आधारमा थप परिष्कृत गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।


