काठमाडौँ: सौर्य एयरलाइन्स विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव आजदेखि आफन्तलाई जिम्मा लगाउन सुरु गरिएको छ ।
त्रिवि शिक्षण अस्पतालले ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणाली’बाट सबैको पोस्टमार्टम सम्पन्न गरेसँगै केही आफन्तले शव बुझेका हुन् । तर केही आफन्तले बीमालगायतको विषय नटुंगिएसम्म शव जिम्मा नलिने अडान लिएका छन् ।
शुक्रबार अपराह्न सहचालकसहित चार जना मृतकका आफन्तले शव लिएर गएको र अन्यले नलिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । केही आफन्तले बीमाको विषय अन्योल रहेको भन्दै यसबारे टुंगो लाग्नुपर्ने र त्यसपछिमात्रै शव बुझ्ने बताएका छन्।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे नजिकै सौर्य एयरको ९–एनए एमई विमान दुर्घटनामा हुँदा १८ जनाको मृत्यु भएको थियो । सोही दिन उनीहरुको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको थियो ।


