काठमाडौँ: सौर्य एयरको जहाज दुर्घटनापछि न्यायिक जाँचको माग तीव्र बनेको छ। छोरी, ज्वाइँ र नाति गुमाएका प्रकाश खतिवडाको नेतृत्वमा पीडित परिवारका प्रतिनिधिहरूले आज गृहमन्त्री रमेश लेखकलाई भेटी न्यायिक जाँच आयोग गठन गर्न आग्रह गरेका हुन्।
प्रतिनिधिमण्डलले बुझाएको ध्यानाकर्षणपत्रमा यसअघिको अनुसन्धान प्रतिवेदनमा तथ्यगत फरक देखिएको भन्दै घटनाको निष्पक्ष छानबिनका लागि नयाँ आयोग गठन गर्नुपर्ने माग गरिएको छ। साथै, पीडितको न्याय र क्षतिपूर्तिको सवालमा आयोग मौन बसेको भन्दै न्याय सुनिश्चित गर्न न्यायिक जाँच अपरिहार्य भएको उल्लेख छ।
गृहमन्त्री लेखकले पीडित परिवारलाई न्याय दिलाउन र घटनाको पुनःजाँचका लागि आफूले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको पत्रकार खतिवडाले जानकारी दिनुभयो।
गत साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरको जहाज दुर्घटनामा खतिवडाका तीन सन्ततिसहित १८ जनाको मृत्यु भएको थियो। सो घटनाको छानबिन गर्न सरकारले तत्कालीन नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लालको नेतृत्वमा पाँच सदस्यीय आयोग गठन गरेको थियो।


