बाजुरा। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सूदूरपश्चिम प्रदेशका ९ जिल्लामा मतदाता नामावली दर्ता अभियान तीव्र रूपमा सञ्चालन भएको छ। आयोगले दिएको समयसीमाभित्र प्रदेशभर ४६ हजार २० जना नयाँ मतदाता समावेश भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीका अनुसार २९ हजार ४३९ जनाले राष्ट्रिय परिचयपत्रमार्फत नाम दर्ता गराए भने १६ हजार ५८१ जनाले सम्बन्धित निर्वाचन कार्यालयमा पुगेर नामावलीमा नाम थपाए।
नयाँ मतदाता संख्या सबैभन्दा धेरै कैलालीमा र सबैभन्दा कम बाजुरामा रहेको कार्यालयको तथ्याङ्कले देखाएको छ। कैलालीमा मात्रै १८ हजार २१३ जनाले नाम दर्ता गरे भने बाजुरामा एक हजार ५१७ जना मात्र नयाँ मतदाता थपिएका छन्।
कैलालीपछि कञ्चनपुरमा १२ हजार २९१, बैतडीमा २ हजार ६५२, दार्चुलामा २ हजार ६२८, अछाममा २ हजार ६०४, बझाङमा २ हजार ३४५, डडेल्धुरामा १ हजार ८९२ र डोटीमा १ हजार ८७८ जना नयाँ मतदाता दर्ता भएका छन्।
सबै जिल्लामा दर्ता भएका नयाँ मतदातामध्ये धेरैजसो जेन–जेड समूहका युवा रहेका छन्।


