Saturday, November 7, 2026
Homeसामाचारसुशासन प्रवर्द्धन र समाज रूपान्तरण सरकारको प्राथमिकता- मुख्यमन्त्री आचार्य

सुशासन प्रवर्द्धन र समाज रूपान्तरण सरकारको प्राथमिकता- मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको भावना मजबुत बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

तिहार पर्वको अवसरमा आज जारी शुभकामना सन्देशमा मुख्यमन्त्री आचार्यले सत्य, न्याय र सकारात्मक सोचतर्फ समाजलाई उन्मुख गराउने तिहारको मूल्य र सन्देशलाई आत्मसात् गर्न सबैलाई आग्रह गरेका छन् ।

उनले तिहारलाई नेपालीहरूको मौलिक सांस्कृतिक चाडका रूपमा वर्णन गर्दै मानव, प्रकृति र प्राणी जगत्बीचको अन्योन्याश्रित सम्बन्धलाई यस पर्वले उजागर गर्ने उल्लेख गरे । दिदीबहिनी र दाजुभाइबीचको स्नेह, सामाजिक एकता र सामूहिक उत्तरदायित्व सुदृढ गर्न तिहारले महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।

मुख्यमन्त्री आचार्यले देउसीभैलोका क्रममा सङ्कलित रकमबाट समाजोपयोगी र रचनात्मक कार्य गर्ने परम्परा हाम्रो साझा सांस्कृतिक सम्पदा भएको बताउँदै यसको संरक्षण र जगेर्ना सबैको दायित्व भएको उल्लेख गरे ।

उनका अनुसार तिहारको मूल्य र मान्यता अनुशासन, सद्भाव र आपसी सहयोगसँग जोडिएको छ । उनले प्रदेश सरकारले यस्ता सांस्कृतिक पर्वहरूका माध्यमबाट समाज रूपान्तरण र सुशासन प्रवर्द्धनका प्रयासलाई निरन्तरता दिइरहेको बताए ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सुशासनलाई प्राथमिकतामा राख्दै चालु खर्च कटौती, पारदर्शिता अभिवृद्धि र भ्रष्टाचार न्यूनीकरणका ठोस कदम चालेको जानकारी दिए । पूर्वविशिष्ट पदाधिकारीका सेवासुविधा खारेजदेखि जनउत्तरदायी शासन निर्माणसम्म सरकार प्रतिबद्ध रहेको उनले बताए ।

युवापुस्ताको सोच र चाहनालाई आत्मसात् गर्दै आत्मनिर्भरता र नवप्रवर्तनमुखी विकासतर्फ सरकार अघि बढिरहेको उल्लेख गर्दै उनले ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’को लक्ष्य साकार पार्न कृषि, पशुपालन, उद्यम र रोजगारीलाई प्राथमिकतामा राखी कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।

मुख्यमन्त्री आचार्यले मुलुकमा देखिएका समस्या र चुनौतीहरूको समाधान संविधानको पूर्ण कार्यान्वयनबाट मात्र सम्भव हुने विश्वास प्रदेश सरकारले लिएको उल्लेख गर्दै स्थायित्व, सुशासन र विकासका लागि सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताए ।

अन्त्यमा, उनले तिहार पर्वले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना बलियो बनाउँदै सामाजिक र सांस्कृतिक एकतालाई सुदृढ पार्ने विश्वास व्यक्त गर्दै सम्पूर्ण नेपाली जनतामा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गरे ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका