स्याङ्जा : वालिङ नगरपालिकाका खरका छाना हटाउने अभियान जारी राखेको छ। अहिलेसम्म पालिकाले २ सय ५६ वटा खरले छाएका घरमा टिनको छानाले छाइदिएको जनाएको छ। सुरक्षित नागरिक आवास कार्यक्रम अनुरुप खरका छाना विस्थापित गरी जस्तापाताले छाउने अभियान जारी राखेको नगरप्रमुख दिलिपप्रताप खाँणले जानकारी दिए। उनले भने,’वालिङ र संघीय आयोजना कार्यान्वयन इकाइअन्तर्गतको सुरक्षित नागरिक आवास कार्यक्रममार्फत खरका छाना विस्थापित गर्दै जस्तापाता लगाइएको हो। ‘
वालिङ नगरकार्यपालिकाको पाँचौं नगरसभाले नगरभित्रका खरका छाना हटाएर जस्तापाता लगाउने नीति तथा कार्यक्रम पारित गरेको छ। अघिल्लो वर्षदेखि कार्यान्वयनमा आएको यो अभियान अन्तर्गत हालसम्म २५६ खरका छाना विस्थापित गर्दै जस्तापाता लगाइएको हो।
छाना छाउने दक्ष कामदारको अभावका साथै आगलागीको जोखिम पनि उत्तिकै हुने भएकाले जस्तापातातिर ध्यान दिइएको नगरउपप्रमुख कल्पना तिवारीको भनाइ छ। खरका छाना भएका नागरिकले आवश्यक प्रक्रिया पूरा गरी आएमा जस्तापाता छाइदिनेगरी व्यवस्था मिलाएको छ। खरका छानारहित नगर बनाउने वालिङको अभियान हो।
नगरपालिकामा अहिलेसम्म ४ सय ३१ घरधनीले आवेदन दिएका छन। आवेदन दिएकामध्ये सबैले सम्झौता गरिसकेका छैनन्। नगरपालिकाले २ किस्तामा लाभग्राहीलाई ५० हजार उपलब्ध गराएको छ।
हालसम्म वालिङ नगरपालिकाबाट अहिलेसम्म १ सय ५० जना घरधनीले ७५ लाख बराबरको जस्तापाता लगिसकेको छन्।सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत १०६ घरले ५० हजार रकम बुझेका आलेले बताए।
नगरपालिकामा आवेदन दिएका ४ सय ३१ घरमध्ये १ सय ७५ घर निर्माण हुन बाँकी छन्। प्रति घरलाई ५० हजार रुपैंयाका दरले हालसम्म एक करोड २७ लाख खर्च भएको छ। वालिङका १४ वटा वडा अनुरुप वडा नं २ मा ३ वटा, ३ मा ४८ वटा, ४ मा ५२ वटा, ५ मा ३९ वटा, ६ मा २१ वटा, ७ मा ४८ वटा, ८ मा २८ वटा , ९ मा ६ वटा, १० मा १५ वटा , ११ मा ९ वटा, १२ मा ५६ वटा , १३ मा १७ वटा र १४ मा ८९ वटा घरधनीले खरका छाना विस्थापनका लागि नगरपालिकामा आवेदन बुझाएको नगरले जनाएको छ।


