Tuesday, July 28, 2026
Homeसामाचारसुनसरी घटनामा रास्वपाको गम्भीर ध्यानाकर्षण, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग

सुनसरी घटनामा रास्वपाको गम्भीर ध्यानाकर्षण, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीको कप्तानगञ्जसहित पूर्वी तराईका विभिन्न क्षेत्रमा हालै भएका साम्प्रदायिक तनाव र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पार्टी सभापति रवि लामिछानेद्वारा मंगलबार जारी विज्ञप्तिमा घटनाबाट उत्पन्न अशान्त परिस्थितिप्रति पार्टी स्तब्ध र मर्माहत भएको उल्लेख गर्दै ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै, घाइते भएका सर्वसाधारण र सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

रास्वपाले कुनै पनि असन्तुष्टि वा विवादको समाधान हिंसाबाट सम्भव नहुने स्पष्ट गर्दै नेपालको बहुलवादी संस्कृति, आपसी एकता, सहिष्णुता र सामाजिक सद्भावलाई जोगाउन सबै पक्षसँग संयमता अपनाउन आग्रह गरेको छ। संवेदनशील अवस्थालाई थप जटिल बनाउने गतिविधि, उत्तेजना वा अफवाहबाट टाढा रहन पनि पार्टीले अपिल गरेको छ।

विज्ञप्तिमा घटनाको स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरिएको छ। साथै, पीडितलाई न्याय, उचित क्षतिपूर्ति तथा घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न पनि रास्वपाले आग्रह गरेको छ।

पार्टीले घटनालाई राजनीतिक स्वार्थका लागि प्रयोग नगर्न सबै राजनीतिक दल तथा सरोकारवालासँग अनुरोध गर्दै संवाद र सहकार्यका माध्यमबाट शान्तिपूर्ण समाधान खोज्नुपर्नेमा जोड दिएको छ। साथै, स्थानीय तहमा शान्ति र सामाजिक सद्भाव कायम राख्न पार्टीका स्थानीय समितिलाई जिम्मेवार भूमिका निर्वाह गर्न निर्देशन दिइएको जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका