Friday, July 31, 2026
Homeसामाचारसुनसरी गोलीकाण्डमा सरकार–पीडित पक्षबीच ६ बुँदे सहमति, आज अन्तिम संस्कार हुने

सुनसरी गोलीकाण्डमा सरकार–पीडित पक्षबीच ६ बुँदे सहमति, आज अन्तिम संस्कार हुने

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर दुई युवाको मृत्यु भएको घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र पीडित पक्षबीच गएराति ६ बुँदे सहमति भएको छ।

साउन १० गते राति भएको घटनापछि चुलिएको तनाव अन्त्य गर्ने उद्देश्यले गृहमन्त्री सुधन गुरुङ र मृतकका अभिभावकबीच सम्झौता भएको हो। सम्झौतापत्रमा गृहमन्त्री गुरुङका साथै मृतक ओमप्रकाश मेहता का अभिभावक कृष्णदेव मेहता र जयप्रकाश मेहता का अभिभावक नरेश मेहताले हस्ताक्षर गरेका छन्।

सहमतिअनुसार दुवै मृतकको अन्तिम संस्कार साउन १५ गते दिउँसो २ बजे धार्मिक परम्पराअनुसार गरिनेछ।

सहमतिका मुख्य बुँदाहरू:

  • दुवै मृतकलाई नेपाल सरकारका तर्फबाट सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने।
  • साउन १० गते भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने।
  • देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियत र सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गर्ने।
  • दुवै मृतकका परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने।
  • घटनाको अध्ययनका लागि गठित छानबिन समितिको प्रतिवेदनमा रहेका सुझाव तथा सिफारिसहरू कानुनबमोजिम यथाशीघ्र कार्यान्वयन गर्ने।
  • मृतकद्वयको सम्झनामा गाउँपालिकाको उपयुक्त स्थानमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने।

सरकार र पीडित पक्षबीच सहमति भएपछि लामो समयदेखि जारी स्थानीय तनाव मत्थर हुने अपेक्षा गरिएको छ। साथै, आज अपराह्न दुवै मृतकको धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गरिने जनाइएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका