Tuesday, July 28, 2026
Homeसामाचारसुनसरीमा फेरि अनिश्चितकालीन कर्फ्यु, साम्प्रदायिक तनावपछि प्रशासनको कडा निर्णय

सुनसरीमा फेरि अनिश्चितकालीन कर्फ्यु, साम्प्रदायिक तनावपछि प्रशासनको कडा निर्णय

विराटनगर । सुनसरीको दक्षिणी क्षेत्र देवानगञ्जबाट सुरु भएको विवादपछि उत्पन्न साम्प्रदायिक तनाव पूर्ण रूपमा साम्य हुन नसकेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पुनः अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

पूर्वी तराईका विभिन्न क्षेत्रमा बढ्दो तनाव र झडपका घटनालाई नियन्त्रणमा लिन तथा थप जनधनको क्षति हुन नदिन स्थानीय प्रशासनले मंगलबार अपराह्न ३ बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको हो।

सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम महेन्द्र राजमार्ग तथा इनरुवा बजार क्षेत्रलाई समेटेर कर्फ्यु लागू गरिएको छ।

कर्फ्यु अवधिमा तोकिएको क्षेत्रभित्र सर्वसाधारणको आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउजस्ता गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको छ।

प्रशासनका अनुसार पूर्वमा पकली चोक, पश्चिममा कोशी ब्यारेजको पुल तथा पूर्व–पश्चिम महेन्द्र राजमार्गको उत्तर र दक्षिण २०० मिटर क्षेत्रसम्म कर्फ्यु आदेश लागू हुनेछ।

यसअघि कप्तानगञ्जलगायत क्षेत्रमा भएका हिंसात्मक झडप र साम्प्रदायिक तनावपछि सुरक्षा व्यवस्था कडा पारिए पनि अवस्था पूर्ण रूपमा सामान्य हुन नसकेकाले पुनः कर्फ्यु जारी गरिएको प्रशासनले जनाएको छ। जिल्लाको शान्ति–सुरक्षा कायम गर्न सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका