Thursday, October 29, 2026
Homeराजनीति‘सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई’ एउटा स्टाटस, एउटा सन्देश, र...

‘सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई’ एउटा स्टाटस, एउटा सन्देश, र देशभरि उठ्दै गरेको आशा

काठमाडौं । सुदूरपश्चिमका पहाडी जिल्ला हुँदै चिसो मौसम र हिउँले ढाकिएको सडकमा खिचिएको एक तस्बिरसँगै सामाजिक सञ्जालमा लेखिएको सानो स्टाटस—‘सुदूर अब टाढा छैन, झिक्कै–झिक्कै माया तम्लाई’—यतिबेला गहिरो राजनीतिक र भावनात्मक अर्थ बोकेको टिप्पणीका रूपमा हेरिन थालेको छ। यो केवल फेसबुक स्टाटस मात्र नभई राज्यले लामो समयदेखि बेवास्ता गर्दै आएको भूगोल र त्यहाँका जनताको पीडामाथि गरिएको सांकेतिक तर गम्भीर टिप्पणी हो।

राजधानीबाट टाढा भएकै कारण सुदूरपश्चिम र कर्णालीजस्ता क्षेत्रहरू विकासको मूलधारबाट पछाडि पर्दै आएका छन्। सडक, शिक्षा, स्वास्थ्य र रोजगारीलगायत आधारभूत क्षेत्रमा राज्यको पहुँच कमजोर रहँदै आएको यथार्थलाई उक्त स्टाटसले संकेतात्मक रूपमा उजागर गरेको देखिन्छ।

फागुन २१ मा हुने निर्वाचनको सन्दर्भमा पूर्वदेखि पश्चिमसम्म यात्रा गरिरहेका बालेन शाहका लागि यो यात्रा केवल चुनावी प्रचारमा सीमित छैन। उनी यो यात्रालाई देश बुझ्ने, जनता सुन्ने र प्रत्यक्ष भोगाइबाट सिक्ने माध्यमका रूपमा अघि बढाइरहेका छन्।

यात्राका क्रममा उनी स्वयं पैदल हिँडेर बाटोको कठिनाइ अनुभूति गरिरहेका छन्, स्थानीयसँग संवाद गरिरहेका छन् र उनीहरूका दुःख, भोक, सपना र सम्भावनालाई नजिकबाट नियालिरहेका छन्। यही क्रममा कर्णालीका जिल्लामा पुग्दा उनले त्यहाँको पीडा र आवाजलाई स्थानीय भावनासँग जोड्दै लेखेका थिए—‘कर्णालीका सुइना हाम्रा सुइना।’ यो वाक्यले कर्णालीप्रतिको दृष्टिकोण मात्र होइन, राज्य र नेतृत्वमा देखिएको संवेदनशीलताको अभावमाथि समेत प्रश्न उठाएको छ।

कर्णाली र सुदूरका जनताको भावना प्रयोग गर्ने नेता धेरै आए, आश्वासन बाँड्नेहरू झनै धेरै भए। तर ती जनताकै भोट लिएर सत्तामा पुगेकाहरूले कर्णालीका सपना पूरा गर्न नसकेको तीतो यथार्थ अझै ताजै छ। यही पृष्ठभूमिमा, बालेन शाहले सामाजिक सञ्जालमार्फत देखाएको हुटहुटीलाई केवल भावुक अभिव्यक्ति मात्र होइन, राज्य पुनःसंरचना र समावेशी विकासको सोचसँग जोडिएको संकेतका रूपमा हेरिएको छ।

देशको वर्तमान राजनीतिक अवस्था हेर्दा पुरानै शैली, पुरानै अनुहार र पुरानै भाषणप्रति जनतामा वितृष्णा बढ्दै गएको छ। यस्तो अवस्थामा फरक सोच र फरक बाटो हिँड्न खोज्ने पात्रका रूपमा बालेन शाहप्रति जनतामा केही आशा पलाएको देखिन्छ। ‘साच्चै बालेनलाई जितायो भने के नेपालले विकासको कोल्टे फेर्ला ?’ भन्ने प्रश्न अब चिया पसलदेखि सामाजिक सञ्जालसम्म गुञ्जिन थालेको छ।

बालेन शाहले लेखेका यी स्टाटसहरू शब्दमा सरल देखिए पनि भाव र सन्देशमा गहिरा छन्। यी केवल चुनावी नारा होइनन्, राज्यको केन्द्रबाट लामो समयसम्म उपेक्षित भूगोल र जनतासँग जोडिने प्रयासका संकेत हुन्। अब प्रश्न यही छ—के सुदूरपश्चिम र कर्णालीले यसपटक साँच्चिकै परिवर्तनको अनुभूति गर्नेछन् ? यतिबेला जनताको आशा यहीँ अडिएको देखिन्छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका