Sunday, November 8, 2026
Homeसामाचारसुदूरपश्चिमका पहाडी गाउँ रित्तिँदै, तराईमा जनघनत्व बढ्दो

सुदूरपश्चिमका पहाडी गाउँ रित्तिँदै, तराईमा जनघनत्व बढ्दो

भीमदत्त, २९ साउन – बसाइँसराइका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा जनसङ्ख्या घट्दै गाउँहरू रित्तिँदै गएका छन्, जबकि तराई क्षेत्रमा जनघनत्व तीव्र रूपमा बढिरहेको छ। नौ जिल्लामध्ये कञ्चनपुरमा मात्र प्रदेशको २० प्रतिशत जनसङ्ख्या बसोबास गर्छ।

२०७८ को जनगणना अनुसार सुदूरपश्चिममा २६ लाख ९४ हजार ७८३ जनसङ्ख्या छ, जसमा महिलाको हिस्सा ५२.७७ प्रतिशत र पुरुषको ४७.२३ प्रतिशत छ। रोजगारीका लागि भारत र तेस्रो मुलुकतिर पुरुषको पलायन भएकाले महिलाको संख्या बढी देखिएको हो।

अछाम, बैतडी, डोटी, बझाङ र डडेल्धुरा जिल्लाको जनसङ्ख्या वार्षिक घट्दो क्रममा छ भने दार्चुलाको वृद्धिदर शून्य प्रतिशत छ। बाजुरामा अलि वृद्धि भए पनि (०.२५ प्रतिशत), कैलाली (१.४८ प्रतिशत) र कञ्चनपुर (१.२५ प्रतिशत) मा उच्च वृद्धिदर छ। तथ्याङ्क प्रमुख गोविन्द न्यौपानेका अनुसार रोजगारी, शिक्षा र अवसरका खोजीमा पहाड र हिमालबाट मधेस तथा सहरी क्षेत्रमा बसाइँसराइ बढेको हो।

विशेषज्ञहरूका अनुसार तराईमा बढ्दो जनसङ्ख्याले कृषियोग्य भूमि घटाउँदै गएको छ, जबकि पहाडी क्षेत्रमा खेतीयोग्य जमिन बाँझो बन्दैछ। यसले दीर्घकालीन रूपमा उत्पादन घटाई आयात निर्भरता बढाउने चेतावनी दिइएको छ।

सुदूरपश्चिम विश्वविद्यालयका उप–प्राध्यापक शङ्करदत्त भट्टले पहाडी क्षेत्रमा तरकारी, फलफूल खेती र पशुपालनको सम्भावना रहेकाले सरकारी–निजी साझेदारीमा लगानी गरी नमूना कृषि पकेट क्षेत्र विकास गर्नुपर्ने सुझाव दिएका छन्। कृषि उत्पादनको सुरक्षा र बजार व्यवस्थापनका लागि पूर्वाधार, चिस्यान केन्द्र र कृषि एम्बुलेन्सको आवश्यकता उनले औंल्याए।

प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. हिरा चन्दका अनुसार बसाइँसराइ रोक्न एकीकृत बस्ती विकास, आवासीय विद्यालय, पूर्वाधार विस्तार र पर्यटकीय क्षेत्रको विकासमार्फत रोजगारी सिर्जना गर्नुपर्छ। किसानलाई उत्पादनमा अनुदान र उद्यमीलाई कर्जामा ब्याज अनुदान दिएर प्रोत्साहन गर्नुपर्नेमा उनले जोड दिए।

कञ्चनपुरका भीमदत्त नगरपालिकामा मात्र १ लाख २२ हजार ३२० जनसङ्ख्या छ भने कैलाली र कञ्चनपुरमा मिलेर प्रदेशको आधाभन्दा बढी जनसङ्ख्या बसोबास गर्छ। नगरप्रमुख पदम बोगटीका अनुसार बढ्दो जनसङ्ख्याले स्रोत व्यवस्थापनमा दबाब भए पनि हालसम्म व्यवस्थापन भइरहेको छ, तर यो दरमा वृद्धि भइरहे निकट भविष्यमा समस्या गहिरिनेछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका