Friday, May 1, 2026
Homeकला/साहित्यसुजित मैनालीको ‘सती’ सार्वजनिक

सुजित मैनालीको ‘सती’ सार्वजनिक

लेखकले नेपाल र भारतमा अभ्यस्त सतीप्रथाबारे सात वर्ष जति अध्ययन–अनुसन्धान गरेर तयार पारेको यस पुस्तकमा आठवटा अध्यायहरू छन् । त्यसबाहेक ४२ वटा परिशिष्टहरूमा किंवदन्ती, अनुश्रुति र अभिलेखहरूको खँदिला विवरण समेटिएका छन् । त्यसका निम्ति लेखकले सतीको नामसँग जोडिएका स्थलहरूको स्थलगत अवलोकन गर्नुका साथै थुप्रै अन्तर्वार्ताहरू लिएका थिए । प्रकाशित लेख–रचनाबाहेक अप्रकाशित स्रोत, शिलालेख, पत्र, इस्तिहार, लिखत आदिको पनि पुस्तक लेखनमा पर्याप्त उपयोग गरिएको छ ।

यसै साता बजारमा उपलब्ध भएको ‘सती’ किताब पब्लिसर्सले प्रकाशन गरेको हो । सतीप्रथाको मुख्य उद्देश्य पतिव्रता धर्मको महिमा गाएर त्यसकै आवरणमा महिलाको यौनजीवन नियन्त्रित गर्नु थियो भन्ने कुरा पुस्तकले उजागर गरेको छ । सतीप्रथालाई राजपरिवारमा सत्ता प्राप्तिको हतियारका रूपमा कसरी उपयोग गरिन्थ्यो भन्ने विवेचना पनि यसमा छ । सतीप्रथाबाट सबैभन्दा प्रताडित कमारीहरूको रोदनलाई पनि ‘सती’ले बाहिर ल्याएको छ ।

भारतमा इस्ट इन्डिया कम्पनीले सतीप्रथामाथि प्रतिबन्ध लगाउँदा विरोध भए पनि नेपालमा त्यो कसरी सजिलैसँग उन्मूलन हुनसक्यो भन्ने कुराको अन्तर्य पनि किताबमा खोतलिएको छ ।

लेखनमा अन्तर्विधागत पद्दतिलाई जोड दिने सुजित मैनालीको यो दोस्रो किताब हो । यसअघि २०७६ सालमा उनको ‘शिलान्यास ः नेपाल निर्माणको नालीबेली’ पुस्तक प्रकाशित छ ।

प्रकाशक कल्पना ढकाल भन्छिन्, ‘यो पुस्तकमा सतीप्रथाको उद्भवपछाडिका ऐतिहासिक कारणहरूको राम्रोसँग विवेचना गरिएको छ । यो पढ्दै जाँदा अहिलेका लैङ्गिक भेदभावका कतिपय प्रवृत्तिहरू त्यही कुप्रथाका धङ्धङी हुन् भन्ने प्रष्ट हुन्छ ।’

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका