Monday, April 27, 2026
Homeसामाचारसुकुम्बासी बस्ती हटाइएका क्षेत्रको संरक्षणमा कडाइ, तारबार गर्न महानगरको निर्देशन

सुकुम्बासी बस्ती हटाइएका क्षेत्रको संरक्षणमा कडाइ, तारबार गर्न महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सुकुम्बासी बस्ती हटाएर खाली गराइएका सार्वजनिक जग्गाको संरक्षणका लागि तत्काल काम थाल्न निर्देशन दिएकी छन्।

थापाथलीस्थित बागमती नदी किनारामा खाली गराइएको क्षेत्रको निरीक्षणपछि उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई ती स्थानहरूमा तारबार लगाएर सुरक्षा सुनिश्चित गर्न वागमती सभ्यता एकीकृत विकास समिति लगायत सम्बन्धित निकायसँग समन्वय गर्न निर्देशन दिइन्।

महानगरले अव्यवस्थित बस्ती हटाउने अभियान अन्तर्गत बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा बनाइएका अनधिकृत संरचनाहरू हटाउँदै आएको छ। यस क्रममा थापाथली क्षेत्रमा वैशाख १२ गते १३६ घरटहरा भत्काइएको थियो। केही परिवारले स्वेच्छाले घर खाली गरेपछि महानगरले समय थप गर्दै सहयोगसमेत उपलब्ध गराएको थियो।

हटाइएका बस्तीका बासिन्दालाई सामान सार्न महानगर प्रहरी बलले सवारी साधन र जनशक्ति परिचालन गरेको थियो। थापाथली र वंशीघाट क्षेत्रमा गरी कुल ३३२ घरटहरा रहेकोमा वंशीघाटमा अझै १९६ घरटहरा रहेका छन्।

यसैगरी, बागमती नदी खण्डअन्तर्गत सिनामंगलदेखि वानेश्वरसम्मका क्षेत्रमा पनि बस्ती हटाउने काम जारी छ। वडा नं. ९ मा १६२ घरधुरी र वडा नं. ३१ को जागृतिनगर क्षेत्रमा ४७६ घरटहरा रहेका थिए, जसमध्ये केही हटाइसकिएको छ भने बाँकी हटाउने काम जारी रहेको महानगरले जनाएको छ।

महानगरका अनुसार मनोहरा क्षेत्र लगायतका स्थानमा पनि आजदेखि थप स्रोतसाधन परिचालन गरी बस्ती हटाउने काम तीव्र पारिएको छ। साथै, नागार्जुनको इचङ्गुस्थित कोलोनीमा वास्तविक भूमिहीनलाई बसोबास गराउने योजना अघि बढाइएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका