काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले देशभरका वास्तविक सुकुम्बासीहरूको पहिचान गरी यथाशीघ्र जग्गा वितरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शुक्रबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत प्रधानमन्त्री शाहले वर्षौँदेखिको सुकुम्बासी समस्याको स्थायी समाधान गर्ने सरकारको तयारी रहेको स्पष्ट पारे ।
नदीकिनारमा बसोबास गर्नेहरूको सुरक्षा र उपत्यकाको ढल निकास प्रणाली सुधारका लागि उनीहरूको स्थानान्तरण आवश्यक रहेको उनले बताए। उनका अनुसार हरेक वर्षको बाढीका कारण काठमाडौँका नदीकिनारमा बसोबास गर्नेहरू ज्यान जोगाउन सामान छोडेर भाग्नुपर्ने अवस्था छ, त्यसैले उनीहरूलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्नु नागरिकको अधिकार हो।
थापाथली, गैरीगाउँ र मनोहरा लगायतका क्षेत्रमा रहेका बस्तीहरूलाई मानवीय ढंगले, बल प्रयोग नगरी सुरक्षित रूपमा स्थानान्तरण गरिने उनले जानकारी दिए। ती बस्तीहरूका कारण ढल निकासमा अवरोध पुग्दा काठमाडौँ फोहोर बन्नुका साथै नदीहरू दुर्गन्धित भएको भन्दै उनले स्थानान्तरणलाई उपत्यकाको समग्र व्यवस्थापन र सौन्दर्यका लागि आवश्यक बताए।
प्रधानमन्त्री शाहले सुकुम्बासी समस्या समाधान आफ्नो चुनावी वाचा र सरकारको १०० दिने कार्ययोजनामा समेत समावेश रहेको स्मरण गराए। साथै, अतिक्रमणकारी र वास्तविक सुकुमबासीबीच स्पष्ट छुट्याएर मात्रै प्रक्रिया अघि बढाइने उनले बताए।
‘काठमाडौँका खोला किनार र देशका अन्य क्षेत्रका समस्या फरक छन्। हामी अतिक्रमणकारी र सुकुम्बासी छुट्याएर वास्तविक पीडितहरूलाई प्रक्रिया पुर्याएर जग्गा वितरण गर्छौँ,’ प्रधानमन्त्री शाहले भने।


